पर्यटनबाटै नेपालको समृद्धि सम्भव : सद्गुरु

'यही नै स्वर्ग हो'

भारतीय प्रख्यात योग गुरु सद्गुरु र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीबीच नेपालको पर्यटन प्रवर्द्धनका विषयमा शनिबार छलफल भएको छ । एकसाता अघि नेपाल आएका सद्गुरुसँग भएको छलफलमा नेपालको पर्यटन प्रवर्द्धनका विभिन्न विषयमाथि छलफल भएको हो ।

भेटका क्रममा सद्गुरुले नेपाल एसियाको स्वीजरल्याण्ड भएको चर्चा गर्दै नेपालको समृद्धि पर्यटनबाटै सम्भव भएको बताएका छन् । उनले नेपाल प्रकृतिको अनुपम उपहार भएको र स्वर्ग यही नै स्वर्ग रहेको धारणा राखे । ‘नेपाल सम्भावना नै सम्भावनाको देश हो । यहाँ प्रकृति, संस्कृति र एडभेन्चर छ । तर, यसको व्यवस्थापन आवश्यक छ,’ उनले भने ।

नेपाल विश्वका अरू देश जस्तो नभई अलौकिक आनन्द प्राप्त गर्न सकिने देश भएकोले यहाँको मौलिकतालाई जर्गेना गर्दै पर्यटन विकास गर्नु आजको आवश्यकता भएको भएको उनको भनाई छ । उनले योजनाबद्ध विकास विना दिगो विकास सम्भव नभएको धारणा राख्दै नेपालका मौलिक कला र संस्कृतिको संरक्षण गर्दै योजनाबद्ध विकासमा लैजान सुझाव दिए ।

भेटमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले कोभिड बीचमा सद्गुरुको नेपाल भ्रमणले नेपालको पर्यटनमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए । उनले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक समानताले गर्दा नेपाल र भारतबीच सहकार्य गर्न सके दुवै देशले पर्यटनबाट फाइदा लिन सक्ने बताए ।

यस्तै, उनले नेपालमा धार्मिक आध्यात्मिक पर्यटन प्रवर्द्धन लागि सदगुरुहरुसँग सहकार्य गर्न पर्यटन बोर्ड तयार रहेको बताए । उनले खप्तड जस्ता ठाउँमा सद्गुरुलाई योगा तथा मेडिटेशनका लागि काम गर्न समेत आव्हान गरे । सद्गुरु नेपाली भूभाग लिमि भ्याली हुँदै नेपालबाटै कैलाश मानसरोवरको यात्रा गरी काठमाण्डौं  फर्किएका हुन् । (रातोपाटी)

Translate »