बाँकेमा नेपालकै पहिलो खुल्ला कारागार तयार

कुमार श्रेष्ठ / नेपालगञ्ज – बाँकेमा देशमै पहिलो खुल्ला कारागार तयार गरिएको छ । जानकी गाउँपालिका अन्तर्गत पर्ने गनापुरमा खुल्ला कारागार बनाइएको हो ।

६ बिगाह क्षेत्रफल ओगटेको खुल्ला कारागार परिसर भित्र ३७ वटा कोठा तयार गरिएको हो । त्यसमा ३२ जना बन्दी राखिने नेपालगञ्ज कारागारका जेलर रामकुमार सोनकरले जानकारी दिए । ‘यो देशमै पहिलो खुल्ला कारागार हो, जेलर सोनकरले भने, अहिले ३२ जनालाई बस्ने कोठा तयार भइसकेको छ । अझै डेढ सय जना बन्दीलाई राख्ने कोठा बनाउने योजना रहेको छ ।’

खुल्ला कारागार त तयार भयो । तर, त्यहाँ कस्तो बन्दीलाई राख्ने कार्यविधि बनिसकेको छैन । कारागार व्यवस्थापन विभागका निर्देशक रामचन्द्र तिवारीले छिट्टै कार्यविधि बनाएर खुल्ला कारागार सञ्चालनमा ल्याइने बताए ।

निर्देशक तिवारीले भने, ‘कारागार भनेको त सुधार गृह हो । उनीहरुको आचरणलाई सुधार गरेर समाजमा पुनस्र्थापना गराउने पनि हो । बन्दीको अवस्था हेरेर उनीहरुलाई बन्द कारागारमा मात्रै होइन खुल्ला कारागारमा राखेर सामाजिकीकरण गर्ने ऐनमा व्यवस्था भएकाले पूर्वाधार बनाएर कार्यविधि बनाई कार्यान्वयन गर्दै जान्छौँ ।’ उनले दुई तिहाई कैद भुक्तान गरेको र आचरण सुधार हुँदै गएकालाई निश्चित शर्तका आधारमा बाहिर गएर काम गर्न पाउने गरी खुल्ला कारागारमा राख्ने बताए ।

खुल्ला कारागारमा बस्नेहरु परिवारसहित बस्न र बाहिर काम गर्न पाउँछन् । नेपालमै पहिलो पटक बाँकेबाट यसको कार्यान्वयन हुँदैछ ।
बाँकेकै नौबस्तामा तीन हजार क्षमताको अर्को क्षेत्रीय कारागार पनि बनिरहेको छ । पूर्वाधारका धेरै काम सकिएको नौबस्ता कारागार सञ्चालनमा आउदा बाँकेमा अहिले साढे तीन सय क्षमताको कारागारमा आठ सय जना बस्नु पर्ने बाध्यता हट्ने जेलर सोनकरले बताए ।

विभागका निर्देशक तिवारीका अनुसार, नेपालमा अहिले १६ हजार कैदी बन्दी क्षमताको कारागार रहेका छन् । त्यसमा २५ हजार कैदी बन्दीलाई राखिएको छ । विभागले नुवाकोटको त्रिशुलीमा सात हजार क्षमताको केन्द्रीय कारागार बनाइरहेको छ । अरु १५–१६ जिल्लामा नयाँ कारागार बनाउने योजना रहेको छ ।

विभागका महानिर्देशक जनकराज दाहाल, निर्देशक तिवारीलगायतको टोलीले गनापुरको खुल्ला कारागार, नौबस्ताको क्षेत्रीय कारागार र हाल सञ्चालनमा रहेको नेपालगञ्ज कारागारको अवस्था अवलोकन गरेका छन् । साढे तीन सय क्षमताको नेपालगञ्जको कारागारमा अहिले आठ सयजना बन्दी रहेका छन् ।

नेपालगञ्ज कारागारमा लागुऔषधका बन्दी धेरै छन् । त्यसपछि कर्तव्य ज्यान, जबरजस्ती करणी, मानव बेचबिखनका कैदी बन्दी धेरै रहेका छन् । (देश सञ्चार)

Translate »