नेता नेपाल आफैँ दुर्दशातर्फ लागे : पोखरेल

नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता मावधकुमार नेपाल आफैँ दुर्दशातर्फ लागेको बताएका छन्। पार्टीभित्र रहँदा पराजित भएर निर्वाचितसँग समान अधिकार मागेर हास्यास्पद परिस्थिति निर्माण गरेको स्मरण गर्दै उनले सो बताएका हुन्।

पार्टीको जिल्ला कमिटीले बनेपामा गरेको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले एमाले पहिलाकै अवस्थामा रहेको बताए। ‘एमालेमा बीचको केही समय धमिलो मात्रै भएको हो, अहिले सङ्लो छ, पार्टीभित्र र बाहिरी प्रतिकूलतासँग जुध्ने पार्टीलाई केही चोइटिँदा केही फरक पर्दैन’, उनले भने, ‘अबको नेतृत्व पाको, अधवैशे र युवापुस्ताको समिश्रण जिम्मेवारीमा हुन्छ।’

एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले हाल विचारमा नभई नेतृत्वको सङ्घर्ष भइरहेको उल्लेख गर्दै राम्रो÷नराम्रो नेतृत्व ध्रुवीकरण हुने बताए।

एमाले केन्द्रीय सदस्य एवं सांसद गोकुल बाँस्कोटाले आफूमाथि लागेको आरोपको छानबिन गर्न र कारबाहीको दायरामा ल्याउन चुनौती दिए। सो अवसरमा सांसद नवीना लामा, संविधानसभा सदस्य रामहरि सुवेदी, एमाले जिल्ला अध्यक्ष अशोक ब्याञ्जू, बागमती प्रदेशसभा सदस्यद्वय चन्द्र लामा र गोमा भुर्तेल, पार्टीका केन्द्रीय नेता रेशम लामा, नेता चुडामणि चौलागाईँ, राजन भुर्तेल, इन्द्रबहादुर तामाङ, नारायण बानियाँ, रीता ढकाललगायतले सङ्गठन निर्माणमा लाग्न आग्रह गरेका थिए। (नागरिक)

Translate »