पर्यटकीय स्थल बन्दै ‘कान्ति ताल’

भदौ १८,नेपालगञ्ज – नेपालगञ्जको कान्ति ताललाई पर्यटकीय स्थलको रुपमा विकास गरिएको छ ।

वर्षौँदेखि बेवास्थामा रहेको ताललाई नेपालगञ्ज उपमहानगरपालिकाले पर्यटकीय स्थलको रुपमा विकास गर्दै अघि बढेपछि कान्ति तालको मुहार नै फेरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको २१ र २२ नम्बर वडामा पर्ने कान्ति ताललाई साढे दश करोड लगाएर ‘हराभरा’ गराइँदै छ ।

उपहानगरपालिकाका इन्जिनियर सुरज शर्माले कान्ति तालमा सात मिटरको बाटो, पक्की नाला, पार्किङ एरिया, रेलिङ, वृक्षारोपण गरिएको बताए । ‘दूरगामी सोचका साथ कान्ति तालको विकास गरिँदैछ, शर्माले भने, राम्रो मानव बस्तीको कल्पना गरिएको छ । पर्यटकका लागि आकर्षित ठाउँ बनाइँदैछ ।’

कान्ति ताल २५ बिगाहमा फैलिएको छ । बाहिरी संरचनालाई राम्रो बनाउनुका साथै तालमा बोटिङको प्रवन्ध गरिँदैछ । नेपालगञ्ज उपमहानगरपालिकाले बाहिरी या आन्तरिक पर्यटकका लागि कान्ति ताललाई हेर्न लायक बनाउने रणनीति अनुसार काम गरिरहेको छ । उपमहानगरपालिकाले यो वर्ष ३५ लाख रुपैयाँ छुट्याएको छ । ताल सञ्चालनका लागि ठेक्का दिइसकिएको छ । इन्जिनियर शर्माका अनुसार, २२ लाखमा तालको ठेक्का लागेको छ ।

 

 

बेवारिसे अवस्थामा रहेको तालको संरक्षण र पर्यटकीय स्थल बन्न थालेपछि आसपासका बासिन्दा खुशी भएका छन् । तालको छेउछाउको जग्गाको मूल्य आकाशिएको छ । स्थानीय पप्पु पासीले ताललाई पर्यटकीय गन्तव्य बनाउन थालिएपछि आफूहरु धेरै खुशी भएको बताए । ‘भैँसी आहाल खेल्ने ठाउँको रुपमा परिणत भएको थियो । केही वर्षयता उपमहानगरपालिकाले लगातार काम गरेर सौन्दर्यीकरण गरिरहेको छ’, पासीले भने, ‘अहिले नै साँझ र बिहान मान्छेको भीड लाग्ने भइसकेको छ । तालमा बोटिङको व्यवस्था भयो भने त मान्छेको लाइन नै लाग्छ ।’ताल वरिपरी बाटो बनाइएको छ । २५ बिगाहको ताललाई घेरेर बाटो, नाली, वृक्षारोपण गरिएपछि अहिले बिहान र बेलुका हिँड्नेको भीड लाग्ने गरेको छ । प्राकृतिक सौन्दर्यको मजा लिँदै शहरका विभिन्न ठाउँबाट तालमा एरियामा पुग्ने गरेका छन् । टिकटक बनाउने र फोटो खिचाउनेहरु प्रशस्त भेटिन्छन् ।

पुराना ताल तलाउको संरक्षण र त्यसलाई पर्यटकीय स्थल बनाउने उपमहानगरपालिको योजना रहेको छ । नेपालगञ्जको वडा नम्बर १ मा रहेको वाटरपार्कलाई पनि पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ ।

आजकै दिनमा नेपालगञ्जमा बाह्य पर्यटकमा आएमा देखाउने ठाउँ भनेको बागेश्वरी मन्दिर, महेन्द्रपार्क र व्यक्तिगत रुपमा खोलिएका फनपार्कहरु रहेका छन् । चालु आर्थिक वर्षमै सबै काम सक्ने गरि कान्ति तालमा काम भइरहेको छ । कान्ति ताल र वाटरपार्कको निर्माण सम्पन्न भएमा नेपालगञ्ज आउने पर्यटकको केही दिनको बसाई रमणीय हुने विश्वास गरिएको छ ।

नेपालगञ्जमा पश्चिम नेपालको पर्यटकीय स्थलको भ्रमण गर्न आउने पर्यटकको लागि प्रवेशद्वार मानिन्छ । यहाँबाट नेपाल भित्रिएका पर्यटकलाई एक–दुई दिन नेपालगञ्जमै बास बसाउनका लागि कान्ति ताल, वाटरपार्कको सौन्दर्यकरण आवश्यक रहेको छ ।

नेपालगञ्जबाट बाहिरिँदा बाँके निकुञ्ज अर्को गन्तव्य हुन सक्छ । दुर्लभ वन्यजन्तु पाटेबाघ र चौकाको बास स्थान रहेको निकुञ्जको अहिलेसम्म मार्केटिङ्ग हुन सकेको छैन । (देश सञ्चार)

 

Translate »