अमेरिकाको बाढीमा तीन नेपालीको मृत्यु भएको पुष्टि

१८ भदौ, काठमाडौं । अमेरिकाको न्युयोर्कमा समुद्री आँधी हुर्रिकेनपछि आएको बाढीमा परी तीन नेपालीको मृत्यु भएको छ । न्युयोर्कको क्विन्स सहरमा बस्नै एकै परिवारका तीनजना नेपालीको मृत्यु भएको बताएको छ ।

समाचारमा उल्लेख गरिएअनुसार दुई वर्षीय बालक लोबसाङ लामा, उनका ४८ वर्षीया आमा मिङ्मा शेर्पा र ५० वर्षीय बाबु आङ गेलु लामाको मृत्यु भएको हो ।

बिहीबार आएको बाढी उनीहरुको अपार्टमेन्टमा छिरेपछि उनीहरु थुनिएका थिए । उनीहरुको छिमेकी डेबोराह टोरेसले भनिन्, ‘उनीहरु बाहिर निस्किनु असम्भव जस्तै थियो किनकी बाढी मेरो घुँडासम्म आइपुगेको थियो जबकी म दोस्रो तलामा थिएँ । अब तल्लो तलामा के भयो होला, तपाईं आफैं सोच्न सक्नुहुन्छ ।’

‘आफ्नो अपार्टमेन्टमा पानी आएसँगै उनीहरुले घरमालिकलाई सहयोगका लागि आग्रह गरेका थिए । तर, त्यसको केही मिनेटमा नै उनीहरुको फ्लोर पानीले भरिइसकेको थियो’, उनले भनिन् ।

घर मालिकले उनीहरुलाई केही समयपछि बाहिर निस्किन भन्दै बोलाए तर उनीहरुबाट कुनै जवाफ आएन । साढे तीन बजेतिर उद्धारकर्ताले उनीहरुको शव निकालेका थिए ।

लोबसाङकी शिक्षिका मार्था सुआरेजले भनिन्, ‘उनीहरुको परिवार साँच्चै मायालाग्दो थियो । ऊ एउटा सुखी बच्चा थियो ।’

न्युयोर्क पोस्टबाट

Translate »