नेपाल भारतबीचको मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा

काठमाडौँ । घरेलु टिम नेपाल पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग बराबरीमा रोकिएको छ । बिहीबार भएको खेलमा नेपालले भारतसँग १–१ गोलको बराबरी खेलेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिएको हो ।

घरेलु दर्शकसामु खेलको ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । भारतका चिन्गेलसना सिंह कोनसामको ब्याक पासमा अञ्जनले गोल गरेका थिए । तर, खेलको ६० औँ मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

भारतका कप्तान सुनिल क्षेत्रीको प्रहार नेपालका गोलकिपर किरण चेम्जोङ बचाएका थिए । त्यही रिबाउन्ड बलमा थापाले गोल लाइनबाट पोस्टको जाली चुमाएका थिए । अब नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।  साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म आयोजना हुने तालिका रहेको छ । (रेडियो नेपाल)

Translate »