२० हजार लगानीमा आमाको सीपलाई ब्रान्ड बनाउँदै छोरी

अहिले मासिक एक लाखभन्दा बढी कमाइ

 

काभ्रेस्थली, काठमाडौंकी अनिता श्रेष्ठले धागोबाट स्विटर, मफलर लगायत लुगाफाटा बुन्न थालेको लामो समय भयो । उनी सिलाइबुनाइको व्यापारमा भने थिइनन् । अधिकांश समय आफ्नो किराना पसलमा व्यस्त हुन्थिन् । फुर्सद हुँदा आफ्ना छोराछोरीका लागि स्विटरहरू बुनिदिन्थिन् ।

गत वर्ष लकडाउनमा अनिताले पसल बन्द गर्नुपर्‍यो । सबैतिर बन्द र कोरोनाको डर भएकाले उनी घरै बसिन् । त्यो फुर्सदमा पनि छोराछोरी र आफन्तका लागि लुगाफाटा बुनिन् ।

उनकी छोरी आकृति सानैदेखि आमाले बुनेको देखेर हुर्किएकी थिइन्, आमाले बुनेका लुगा लाउँथिन् ।

‘मेरी आमा कहिल्यै हात खाली राखेर बस्नुहुन्न । केही न केही गरिरहनुहुन्छ,ु आकृतिले भनिन्, लकडाउनमा पसल बन्द भएपछि काम गर्ने ठाउँ भएन। त्यो बेला लुगा बुनेर बस्नुभयो । लकडाउनमा आकृति पनि व्यस्त नभएकाले उनको ध्यान आमाको सीपमा गयो ।

२३ वर्षीया आकृतिले सोचिन्आमाको यस्तो सीप छ, यसलाई व्यवसायको रूप दिन पाए ।

ुआमाले मेहनत गरेर हामी सबैका लागि लुगा बुनिदिनुहुन्थ्यो । तर उहाँको मेहनत र सीपको मूल्य हामी सबैले बेवास्ता गरिरहेका थियौं, उनले भनिन्, उहाँको कामलाई कदर गर्दै व्यवसाय सुरू गर्ने विचार आयो।बिबिए सकेर बसेकी आकृति आफ्नै खाली समय पनि सदुपयोग गर्न चाहन्थिन् । व्यवसाय क्षेत्रबारे अनुभव नभए पनि उनले आमाकै लागि काम गर्ने आँट गरिन् ।

अनि इन्स्टाग्राममा पेज खोलिन्, ह्यान्ड–निटेड नेपाल।

यसलाई उनले अनिताका हातले बुनेका लुगाफाटा प्रचार गर्ने थलो बनाइन्।

पहिलो लकडाउन सकिने बित्तिकै पेज खोले पनि उनलाई यो व्यवसाय कसरी चलाउने, बजार कस्तो छ, ग्राहकको माग कति छ भनेर पर्याप्त जानकारी थिएन। यसबारे अध्ययन नै गरिरहिन्।

तर पेज खोलेपछि सामान त देखाउनुपर्‍यो १

त्यसैले अनिताले आफन्तका लागि बुनेका लुगाफाटाका फोटा खिच्दै आकृतिले इन्स्टाग्राममा हाल्न थालिन् । हातले बुनेका विभिन्न डिजाइनका लुगा धेरैले मनपराए । विस्तारै अर्डर आउने क्रम सुरू भयो। राम्रै माग आउन थालेपछि व्यवसायिक हिसाबमै अगाडि जाने सोचे ।

अनि गत मार्चमा दर्ता भयो माङ्या क्रिएसन ।

माङ्या नेवार भाषाको माँबाट बनेको शब्द हो ।

आफ्नी आमा अनिताको कलाबाट सुरू काम भएकाले यो नाम रोजेको आकृति बताउँछिन् ।
‘आमाबाट मैले धेरै कुरा सिकेकी छु, उहाँबाट प्रेरित छु। उहाँ निकै सिर्जनशील हुनुहुन्छ,’ आकृतिले भनिन्, ‘अर्डर राम्रै आउन थालेपछि आमासँगै सल्लाह गरेँ । आफ्नो रूचिलाई अब व्यवसायमा परिवर्तन गर्नुपर्छ भनेँ ।

आमाले बुनेका लुगा लाउन पाउँदाको खुसी बजारका लुगामा पाइँदैन। त्यसैले यो खुसी उनलाई अरूसँग पनि बाँड्न मन थियो।

आकृतिको व्यवसाय योजना सुन्दा सुरूमा अनिता हिच्किचाइन् । आफ्नै हिसाबले बुनिरहेकी उनलाई अरूले मन नपराउलान् कि भन्ने चिन्ता थियो । इन्स्टाग्राममा आफूले बुनेका लुगाको राम्रो माग आइरहेको उनले भेउ पाएकै थिइनन् । जब आकृतिले सबै बुझाइन्, तब अनितालाई पनि हिम्मत आयो ।

उनीहरूलाई व्यवसायिक हिसाबमा काम थाल्न धेरै सामान आवश्यक पर्थेन । धागो मात्र चाहिन्थ्यो । त्यसैले जम्मा बीस हजार रूपैयाँ लगानी गरेर उनीहरूले माङ्या क्रिएसन सुरू गरे ।

विस्तारै आकृतिले आमाको काममा सघाउन थालिन् । अनिताका डिजाइन अलि पुराना तरिकाका हुन्थे। आकृतिले उनलाई ग्राहकका रोजाइ र मागअनुसार आधुनिक डिजाइनका लुगा बुन्न उक्साउन थालिन् । आफैंले पनि धेरै डिजाइन बनाएर दिइन् ।

यसरी आमाछोरीले सुरू गरेको माङ्या क्रिएसनमा अहिले केटाकेटी, महिला र पुरुषका लागि लुगाफाटा पाइन्छ । हातले बुनेको मास्क, स्क्रन्चिज (कपाल बाँध्ने रबर), टप्स, स्विटर, टोपी र लङ कोट यसका विशेष उत्पादन हुन्। मास्क र स्क्रन्चिज एक सय पचासदेखि तीन सय रूपैयाँसम्म पाइन्छ। अन्य लुगाको भने डिजाइन र आकारअनुसार भाउ फरक हुन्छ।हालसम्म सबभन्दा महँगो हातले बुनेको लङ कोट आठ हजारमा बेचेको आकृतिले बताइन्।

काठमाडौं उपत्यकाभित्र र पोखरा, नवलपुर, चितवनमा पनि माङ्या क्रिएसनले सामान डेलिभरी गरिरहेको छ । आकृतिका अनुसार अस्ट्रेलिया र भारतबाट पनि माग आइरहेको छ। तर कोरोनाका कारण विदेशमा पठाउन सकेका छैनन् ।

माङ्या क्रिएसनको इन्स्टाग्राम पेजमा आफ्नो नाप र डिजाइन मेसेज गरेर अर्डर गर्न सकिन्छ । नाप नमिले फिर्ता गरेर फेरि मिल्दो नापमा पाउन सकिने आकृतिले जानकारी दिइन् ।

प्रायः ग्राहकको रोजाइअनुसारकै धागो, रङ, डिजाइन र नाप लिएर लुगा बनाउँछन् उनीहरू। कोही ग्राहकले बनिसकेका लुगाका फोटो पठाउँछन् । त्यही डिजाइन बुनाइमा उतारेर बनाइसक्न सातदेखि दस दिन लाग्छ। उनीहरूले हालसम्म ग्राहकले पठाएका र आफ्नै गरेर ६० हाराहारी डिजाइनका लुगा बुनिसकेका छन्। ऊन धागोबाट बने पनि यी लुगा गर्मी, जाडो दुवै याममा लाउन मिल्नेगरी बुनिएको आकृतिले बताइन् ।

तर कतिपयले मूल्यमा चित्त नबुझाउँदा उनलाई दुःख लाग्छ ।

‘घर बसेर, हातैले बुनेको लुगा भनेपछि धेरैले सस्तो हुन्छ भनेर सोच्दा रहेछन् । बजारमा पाइने रेडिमेड लुगासँग तुलना गर्छन्,’ आकृतिले व्यवसायको चुनौती सुनाइन्, ‘कहिलेकाहीँ हातले बुन्नै गाह्रो हुने अप्ठ्यारो डिजाइन आउँछ। तै पनि दुई(तीनचोटि बनाउँदै, खोल्दै राम्रो बनाउने कोशिस गर्छौं । यो कुरा केही ग्राहकले बुझ्नु हुन्न। त्यसैले उनी अहिले ग्राहकलाई हातले बुनेको लुगाको महत्व कसरी बुझाउने भनेर योजना बनाइरहेकी छन् ।

बुनेका लुगा व्यवसाय गरे पनि आकृतिलाई बुन्न आउँदैन, सिक्दैछिन्। माग भने बढिरहेको छ । अनिता एक्लैले भ्याउने कुरा भएन । त्यसैले अहिले आमासहित हजुरआमा, काकी, माइजू लगायत गरी आठ महिलाले माङ्या क्रिएसनका उत्पादन बनाइरहेको आकृतिले जानकारी दिइन् ।

उनले भनिन्, माङ्या क्रिएसन ब्रान्डको मुख्य जनशक्ति हाम्रा आमाहरू हुनुहुन्छ । आमाहरूलाई देखेर अहिले मेरा भाइबहिनी पनि बुनाइमा रूचि देखाइरहेका छन्। जसलाई फुर्सद मिल्छ, बुन्न आउँछन् ।

बुन्नेबाहेक अरू काममा पनि परिवार र आफन्तले साथ दिइरहेका छन्। उनका अनुसार आमाहरूले बुनेका लुगा बहिनीहरूले लगाउँछन्, भाइहरूले फोटो खिचेर सामाजिक सञ्जालमा हाल्न तयार पार्छन् र डेलिभरीमा सघाउँछन्। सबैको सहयोग भएकाले व्यापार अघि बढाउन गाह्रो नभएको उनले बताइन् ।

परिवारिक व्यवसाय जस्तै भइसक्यो । तर काम गरेबापत हामी सबैलाई पारिश्रमिक दिन्छौं,’ उनले भनिन् ।

माङ्या क्रिएसनले सक्रिय भएर काम सुरू गरेको पाँच महिना मात्र भयो । आकृतिका अनुसार सुरूका दुई महिना यसबाट मासिक कमाइ पाँच हजार हाराहारी मात्र थियो । पछिल्ला तीन महिनामा भने, विशेषगरी दोस्रो लकडाउनमा अर्डर धेरै आयो र ब्रान्डको प्रचार हुँदै गयो । अहिले मासिक एक लाखभन्दा बढी कमाइ भइरहेको उनले जानकारी दिइन् ।

अनिता माङ्या क्रिएसनका लागि लुगा बुनिरहेकी छन् भने आकृति यसैबाट भावी सपना बुनिरहेकी छन्। आकृतिकी दिदी अस्ट्रेलियामा भएकाले एकताका उनलाई पनि विदेश जाने विचार आएको थियो । तर आमाको सीपबाट सुरू गरेको कामले ब्रान्डका रूपमा बजार कमाउँदै गर्दा उनले विदेश सपना त्यागेकी छन् ।

ग्राहकको प्रतिक्रियाबाट पनि माङ्या क्रिएसनको भविष्य राम्रो देखेकी छन् उनले। यसको वेबसाइट बन्दैछ भने काम अझै ठूलो बनाएर स्टोर खोल्ने योजना पनि उनले बनाएकी छन् ।

‘घरबाटै सुरू ब्रान्डले सफलता पाउँदा खुसी लागेको छ,’ आकृतिले भनिन्, ‘आमा पनि खुसी हुनुहुन्छ । व्यवसाय सानो होस् वा ठूलो, जोखिम सबैतिर छ । यसको मतलब हामीले हार मान्ने होइन ।’ (सेतो पाटी)

Translate »