राहदानीमा चुच्चे नक्सा खै ?

भदौं १६, काठमाडौं । नेपालको नयाँ नक्सा जारी भएको १५ महिना भइसक्दा पनि राहदानीमा चुच्चो सहितको नयाँ नक्सा समेटिएको छैन । नयाँ वितरण गरिएको राहदानीमा पुरानै नक्सा सहितको निशान छाप राखिएको हो ।

सुर्खेत वीरेन्द्रनगर–१३ का मनोज खड्काथोकी सुनार आइतबार नयाँ राहदानी लिन राहदानी विभाग नारायणहिटी पुगेका थिए । तर राहदानीमा पुरानै नक्सा देख्दा उनी अचम्मा परे । ‘हाम्रो देशको नयाँ नक्सा आएको होइन र ? यहाँ त पुरानै छ,’ उनले सोधे ‘चुच्चे नक्सा कहाँ हरायो ?’

बाराको कलैयाका सादाम अन्सारीले पनि विदेश जान राहदानी बनाएका छन् । उनको राहदानीमा पनि उही पुरानै नक्सा छ । २०७७ जेठ ७ गते नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नक्सा सार्वजनिक गरेको थियो । नक्सा जारी भएयता राहदानी विभागले कम्तिमा ५ लाख बढी नयाँ राहदानी वितरण गरिसकेको छ । तर, सबै राहदानीमा पुरानै नक्सा छ ।

राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार अहिले वितरण गरिरहेको राहदानी सन् २०१० मा छापिएको थियो । राहदानी छाप्न ग्लोबल टेन्डर गरिन्छ । त्यसबेला ७० लाख पासपोट छापिएको थियो ।

‘प्राविधिक कारणले राहदानीमा नयाँ नक्सा राख्न सकेका छैनौँ,’ अर्यालले भने, ‘मंसीरपछि नयाँ नक्सासहितको ई–पासपोर्ट जारी गर्ने तयारी गरेका छौँ ।’

यस्तै २० लाख नयाँ राहदानी छापिने प्रक्रियामा रहेको उनले जनाए । विभागले आफ्नो कार्यालयको भित्तामा भने नेपालको नयाँ नक्सा झुण्डाएको छ । सामान्य, आधिकारिक, कुटनीतिक र यात्रा गरी चार प्रकारका राहदानी प्रचलनमा छन् । अब तेस्रो पुस्ताको राहदानी वितरणको तयारी छ ।  (अन्नपूर्ण पोष्ट)

Translate »