तालिबानले भन्यो : ३ दिनमा नयाँ सरकार बन्छ, महिलालाई सहभागी गराइन्छ

काठमाडौँ — तालिबानले अफगानिस्तानमा तीन दिनभित्र नयाँ सरकार घोषणा गर्ने भएको छ । कतारमा रहेको तालिबानको राजनीतिक कार्यालयका उपप्रमुख तथा वार्ता टोलीका सदस्य शेर मोहम्मद अब्बास स्टानिकजईले तीन दिनभित्र अफगानिस्तानमा नयाँ सरकार बन्ने बताएका हुन् ।

बीबीसीको पश्तो रेडियोसँगको कुराकानीमा उनले नयाँ सरकारमा २० वर्षदेखि सरकारमा रहेका व्यक्तिलाई सहभागी नगराइने बताए । उनले भने, ‘अफगानिस्तानमा इस्लामिक इमिरेट्सले यस्तो सरकार बनाउनेछ कि जसलाई अफगानिस्तानभित्र र बाहिरबाट पनि समर्थन प्राप्त हुनेछ ।’

स्टानिकजईले अफगानिस्तानमा सबैलाई प्रतिनिधित्व गराएर एक समावेशी सरकार बनाइने पनि बताएका छन् । नयाँ सरकारमा ‘पवित्र र शिक्षित’ व्यक्ति रहने पनि उनको भनाइ छ । यसअघि तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले वक्तव्य जारी गर्दै नयाँ सरकार गठनका लागि शीर्ष नेता मुल्ला हबीबुल्लाह अंखुदजादाको अध्यक्षतामा कन्दाहारमा तीन दिन बैठक सम्पन्न भएको जानकारी दिएका थिए ।

सरकारमा महिलालाई पनि सहभागी गराइने

नयाँ सरकारमा महिलालाई पनि सहभागी गराइने स्टानिकजईको भनाइ छ । उनले भने, ‘नयाँ सरकारमा ठूलो संख्यामा महिलालाई पनि सहभागी गराइनेछ । तर अहिले नै यो स्पष्ट छैन कि उनीहरु वरिष्ठ पदमा रहनेछन् वा छैनन् ।’

तालिबानको सरकारमा महिलालाई काम गर्न कुनै अप्ठेरो नहुने पनि उनको दाबी छ । कार्यालयमा गएर महिला कर्मचारीले निर्वाध रुपमा काम गर्न पाउने उनको भनाइ छ ।

‘अन्तर्राष्ट्रिय समुदायले मान्यता दिन्छ’

स्टानिकजईले अन्तर्राष्ट्रिय समुदायले पनि आफूहरुको सरकारलाई मान्यता दिने बताए । उनले भने, ‘हामीलाई विश्वास छ कि अन्तर्राष्ट्रिय समुदायले हाम्रो सरकारलाई मान्यता दिनेछ । किनभने २० वर्षपछि अफगानिस्तानमा शान्ति स्थापना भएको छ र अफगानिस्तानमा नयाँ सरकार बनिरहेको छ । अब अफगानिस्तानमा कुनै युद्ध छैन ।’ अफगानी नागरिक एकजुट भएकाले पनि विश्वले यसको फाइदा उठाउन सक्ने उनको भनाइ छ । अमेरिका, युरोपेली युनियनलगायतका विश्वका सबै देशसँग तालिबानले असल सम्बन्ध स्थापना गर्न चाहेको पनि उनले बताए । कतारमा रहेको राजनीतिक कार्यालयका सदस्यले विभिन्न देशका प्रतिनिधिसँग कुराकानी गरिरहेको पनि उनले जानकारी दिएका छन् ।

त्यस्तै अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि बन्द रहेको काबुल विमानस्थल दुई दिनमा सञ्चालनमा आउने उनले बताए । काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि २५–३० मिलियन अमेरिकी डलर खर्च लाग्ने र उक्त खर्च कतार र टर्कीले उपलब्ध गराउने बताए ।

गत अगस्ट १५ मा तालिबान काबुलमा प्रवेश गरेसँगै राष्ट्रपति असरफ गनीले मुलुक छाडेका थिए ।

-बीबीसी हिन्दीको सहयोगमा

Translate »