नेकपा एसको दर्ता बदर र १५ सांसदलाई पदमुक्त गर्न मागसहित एमाले अध्यक्ष ओली सर्वोच्चमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एसको दर्ता प्रक्रिया नै गैरकानूनी भएको भन्दै सबै प्रक्रिया बदर गर्ने मागसहित सर्वोच्च अदालत गएका छन् ।

अध्यक्ष ओलीको तर्फबाट सुमित्रा पाण्डले बुधबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा एमालेबाट निष्कासनमा परिसकेका १४ जना सांसद र ९ जना केन्द्रीय सदस्यलाई सनाखत गराएर भएको नेकपा एकीकृत समाजवादी दर्ता बदर माग गरिएको छ ।

रिटमा झलनाथ खनालसहित १४ जना सांसदले वैशाख २७ गते आफ्नै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला ह्वीप उल्लंघन गरी अनुपस्थित भएको आधारमा निष्कासन गरिएकोले उनीहरूलाई सांसद पदबाट पदमुक्त गर्नसमेत माग गरिएको छ ।

निर्वाचन आयोगलाई विपक्षी बनाइएको रिटमा नेकपा एकीकृत समाजवादीका नाममा कुनै पनि गतिविधि गर्न नदिन आदेश माग गरिएको छ । (नेपाल प्रेस्)

Translate »