साँघुरो सोच

सामाजिक सञ्जालमा थुप्रै किसिमका कुराहरु सुन्न पाईन्छन् । कतिपय त कहाली लाग्दा पनि हुन्छन् । पछिल्लो समय हाम्रो देशमा पनि सम्बन्ध बिच्छेदको घटना निकै नै बढ्दै गएको तथ्यांक सार्वजनिक भैरहन्छ । झन सामाजिक संजालमा त यो घटनाले निकै ठूलो रुप लिने गरेको छ । संजालमा सम्बन्ध बिच्छेद सम्बन्धी आफ्नै कसिमको तर्क र बहस पनि हुने गरेको छ ।

कति महिलाहरु अब खुलेर बाँच्नु पर्छ भनेर आफ्नो अधिकारको लागि लड्न तयार भैसकेका छन् त कतिपय महिलाहरु ईज्जत र समाजको डरले पनि बोल्न सकिरहेका छैनन् भने कोही आत्महत्या गर्न बाध्य छन् । कतिलाई आफ्नै परिवार भित्रका सदस्यले शोषण गरेर आवाज दवाएर बस्न चेतावनी दिएका छन् त कतिलाई आफ्नै परिवारका सदस्यहरुले नै हत्या गरीरहेका छन् ।

महिलाका लागि भनेर यो देशमा कति धेरै कानून बनेको छ महिला साक्षरताको अभियान नै चलेको छ महिला नै देशको सर्बश्रेष्ठ पदमा छन् र पनि हाम्रा चेलीहरु किन सुरक्षित छैनन् ? छोरी जन्मेपछि उसलाई सबै कुरा सहनुपर्छ धर्ती भएर बस्नुपर्छ सबै समस्याहरुलाई चुपचाप सामना गर्नपर्छ भनेर हरेक छोरीहरुलाई बाल्यकालदेखि नै सिकाइन्छ । तर आईलाग्ने माथि जाई लाग्नुपर्छ भनेर किन सिकाईन्न ?

थाहा छैन बिहे गरी जन्मघर छोडेर पराईघर जाने नियम कसले बनायो तर जसले बनायो उस्लाई आफ्नो छोरी बोझ नै भएको हुनुपर्छ जस्तो लाग्छ । अचेल लाग्न थालेको छ कि मान्छेहरु अरुको वास्तविकता बुझ्न चाहाँदैनन् उनीहरु अरुको मनको किताव खोलेर पढ्न नै चाहँदैनन् अनुहार लाई नै अखबार सम्झन्छन् । घर परिवार र समाजको अनुहार खुसी देख्नको खातिर उसले आफ्नो अनुहार कस्तो भयो भनेर अनुहार ऐनामा हेर्न सम्म बिर्सन्छे शरीरका निलाडामहरुलाई पनि सजिलै सहिदिन्छे केवल आफ्ना आमा बाबाको ईज्जतको खातिर । यति गर्दा पनि कसैको चित्त बुझाउन सक्दिन के उसको जीवन सधै अरुकै लागी समर्पित हुन मात्रै हो त ? आफ्नो लागि कैले सोच्ने आफ्नो लागि कहिले बाँच्ने त ?

साँझ अफिसबाट घर फर्कँदै गर्दा बाटोमा देखेको एउटा दृश्यले मनमा निकै नै ठेस लाग्यो । ती पुरुषको हुन् थाहा छैन तर उनी नजिक जाँदा जो कोही पनि पहिल्याउन सक्थ्यो कि उसले पिएको छ भनेर । एउटी भर्खरै कि महिला करिब २०/२२ को हाराहारीमा होलीन् उनले आफ्ने पिठ्युँमा सानी छोरी बोकेकी थिई उसलाई ती पुरुषले नराम्रो शब्दले गाली गर्दै पछाडिबाट कपाल यसरी लुछ्यो कि मानौँ उसको कपाल  कपाल नभएर कुनै डोरीको मुठो हो झैँ गरेर । त्यसरी कपाल तान्दा पनि उनी भन्दै थिईन म तँ सँग बस्न सक्दिन् बरु गिटी कुटेर यो छोरी हुर्काउँछु तेरो छायाँ पनि पर्न दिने छैन मेरो यो सन्तान माथि । बच्चालाई जन्म दिँदैमा बाउ बने भनेर घमण्ड नगर महोदय बाउ बनिसकेपछि आफ्नो  कर्तव्य  पनि पूरा गर्न सक्नुपर्छ ।

यसो भनिरहँदा उसको आँखाको डिलमा रोकेर राखेको आँसुमा निकै क्रोध थियो अनि एक खालको साहास पनि मिसिएको थियो। मलाई मेरै परर्वाह छैन परर्वाह छ त यही एउटा काखको सन्तानको बाँकी त सँग नत मेरो गुनासो रह्यो न कुनै नाता । एउटा ट्राफिक आयो अनि ती पुरुषलाई गाली गर्दै तपाइँको घरको समस्या घरमै सुल्झाउनुस बाटोमा रमिता नबनाउनुस । तपाईँकि श्रीमतीनै भएपनि यसरी सार्वजनिक स्थलमा महिलामाथि हातपात गर्नै अधिकार छैन तपाईँलाई भन्दै करायो। ती महिलाले थोरै साहस पाईन र बाटो लागिन् त्यो श्रीमान चाहिँ रिसले चुर हुँदै पख्लिस भन्ने भावनाले उसलाई हेर्दै लज्जित भएर त्यो भिडबाट बाहिरियो ।

उसले एउटी नारीमाथि गरेको चरित्रहत्या सारै नै निन्दनीय थियो। यो त एउटा दृष्य मात्रै हो । व्यस्त सहर यहाँको भीड वरपरका मान्छेहरु आफ्नै गन्तव्यमा पुग्न तल्लिन थिए यो शहर हो यहाँ अनेकौँ रहर हरु भएका मानिस छन्  । यी सानातिना हजारौँ  झै-झगडाहरु फुटपाथमा भैरहन्छन् त्यसैपनि यहाँ अरुको चासो लिएर बस्ने फुर्सद नै पो कसलाई छ र ? मनमा खिन्नता लिएर घर गएँ बाटोभरी लागिरह्यो मान्छेलाई अब सम्बन्धको कदर नै छैन । मजाकमै जोडिछन् सम्बन्धहरु अरुको भावनासँग खेलिदिन्छन् अनि पागल बनाएर छोडिदिन्छन कि त मर्नको लागि बाध्य बनाईदिन्छन् । मानौँ, पुग्यो भनेर चार मुठी चामल फ्याँक्न लगाएर अरुको जिम्मा लगाउने आमाबाबाहरु कोट लगाएको ज्वाईँ देख्दैमा मेरी छोरीले सुख पाएकी छे भनेर घमण्ड गर्दै छाती फुलाएर बस्छन् त्यो उनीहरुको मुर्खता हो झैँ लाग्छ ।

आफ्ना पीडाहरु सहेर पनि थोरे मान्छेहरु होलान् जो आफ्नो हक को लागि लड्नुपर्छ हिंसा सहेर बस्नु हुन्न भन्ने कतिपय नारीहरु आफ्नो आर्थिक स्थिति राम्रो नहुनाले आफैँमा सक्षम नहुनाले काखमा भएको सन्तानको भविष्यको चिन्ताले पनि यातना सहेर बस्न बाध्य छन् । अझै भन्ने हो भने यो समाज ले के सोच्ला परिवारको ईज्जतमाथि समाजले औँला ठड्याउला बरु सहन्छु भनेर सहन्छन् अन्त्यमा केही नलागेपछि आत्महत्यालाई नै विकल्प बनाएर जीवनलाई समाप्त पारेका घटनाहरु पनि प्रशस्तै छन्। जिउँदो छँदासम्म वास्ता नगर्ने दाजुभाई अनि माईती छोरीको मृत्यु पश्चात आँसु बगाउँदै बस्छन् ।

उनीहरुलाई जीवनभर पछुतो हुन्छ खासमा भन्ने हो भने म पनि मेरो दिदी बहिनीको दलाली हुँ धनी हुँदैमा खुसी हुन्छ भनेर मैले उस्को भावनालाई धनसँग साटेर पराईलाई जिम्मा दिएको थिए भनेर दाजुभाईले पनि पश्चाताप गर्ने बाहेक बिकल्प नै हुन्न । संसारमा नारीहरु पीडित त छन् नै आमा बाबाको घरदेखि लिएर श्रीमान्को घर यो समाज अनि एकल महिला बने पश्चात् त्यही मध्ये जति पनि सफल  र नाम कमाएका नारीहरु छन् उनीहरुको सफतापछि पनि ठूलो कहानी लुकेको हुन्छ तर त्यो बुझ्न कसैले पनि चाहँदैन अचेल मान्छेहरु अरुको वास्तविकता बुझ्न चाहँदैनन् उनीहरु अरुको मनको किताव खोलेर पढ्न नै चाहँदैनन् अनुहारलाई नै अखबार सम्झन्छन् र बाहिरी देखावटीलाई नै सबैथोक। यही बिचमा आफ्नो समाजबाट पनि केही कुरा नयाँ थाहा पाएकी  थिएँ।

श्रीमानको मृत्यु पश्चात रातो लगाउन हुन्न रे, घरमा पूजा गरेर हरेक दिन पहेँलो टीका आफू लगाएर हामीलाई रातो अबिरको टीका लगाईदिनुहुन्थ्यो । कतै नजानिदोँ रातो अविरका छिटाहरु उहाँको शरीरमा लागिहाल्यो भनेपनि गाली गर्दै किन लाइदियौ भनेर रिसाउनुहुन्थ्यो । दशैँमा टीका लगाउँदा पहिले बुढो आमाको लागि भनेर पहेँलो अक्षता मुछेर छुटै राखिसकेपछि मात्रै हाम्रो लागि भनेर रातो अक्षता मुछ्ने गरेका गरिएको थियो । उमेर बढ्दै गएपछि थाहा भयो श्रीमानको मृत्युपछि सिन्दुर लगाउन हुँदैन रहेछ ।

यदि श्रीमान् बितिसकेपछि पनि रातो लगायो भने पाप लाग्छ रे मरेर गएको मान्छेले स्वर्गमा पनि शान्तिले बस्न पाउँदैन रे के के हो के के यो त समाजको नियम कानुन हाम्रो धर्म र संस्कार भन्दा बाहिरको कुरा रे। कठै मेरो समाज र यहाँको संस्कार । यदि कुनै नारी आफ्नो श्रीमान्को मृत्यु पश्चात पनि रातो लगाउन चाहान्छे भने पनि उसले त्यो अधिकारबाट बञ्चित हुनुपर्नै रैछ त्यो पनि समाजको  नितिनियमको कठघराको अगाडि ।

रातो श्रृङ्गारमा सजिएकी नारीका हातका चुरा नाडीमै फुटाईन्छ। उसको सिन्दुर सिउँदोबाटै जबरजस्ती पखालिन्छ उसको त्यो कोमल फूल जस्तो शरीरमा सेतो लुगाले बेरेर एउटा राति हिँड्ने भूतको जस्तो स्वरुपमा परिर्वतन गराईन्छ । श्रीमान् छउन्जेल सौभाग्य लगाएन् भनेर गाली गर्ने मान्छेहरुनै श्रीमान्को मृत्यु पछाडि रातो लगायो भनेर कुरा काट्छन्। रातो रंग त उसले जन्मजात पाएको सौभाग्य हो उसको अधिकार हो तै पनि उसलाई अधिकार बाट किन बञ्चित गर्न खोजिन्छ ?

उसको सौभाग्यलाई उसको नैतिककासँग तुलना गरिन्छ । गर्नै चाहिँ के गर्ने रु एउटी नारीको अस्तित्व पुरुषसँग मात्रै जोडिएको छ र पुरुष बिना नारीको के आफ्नो अस्तित्व नै छैन ररु सम्बन्ध विच्छेद पश्चात त एउटी नारीलाई खुलेआम बाँच्ने अधिकार छैन नाना थरीका उपनामहरुहरु को महँगो बिल्ला जो भिराईदिन्छन् भने विधुवा भएपछि त झनै बाँचेर अगाडि बढ्ने हौसला हिम्मत दिने त परको कुरा सजिलोसँग सास फेर्न सम्म पनि डराउनुपर्ने वातावरण बनाईदिन्छन् र जिउँदो छउञ्जेल जसले एकथोपा पानीसम्म खान दिँदैन मृत्युपछि उनीहरुनै शंखमा पानी थपेर बजाएर आर्यघाट सम्म पुग्छन् ।

त्यहि विधवा शरीरमाथि अबिर फूल माला ले पुजा गर्न हतारिन्छन् जिउँदो छउञ्जेल  रातो लगाउँदा  आपत्ति जनाउनेले मरिसकेको लासमाथि सिन्दुरका प्याकेट खन्याउँदा एकपटक किन सोच्दैनन्, यो सबै सोचको परिणाम त होनी राम्रो सोच्यो भने सबै राम्रो नै त हुन्छ । त्यसैले जीवनमा आफ्नो बाटो आफैँ रोज तिमीलाई तिमीले भन्दा अरु कसैले राम्रो सँग चिनेकै हुँदैन ।

हामी हरेक कुरालाई आफ्नो साघुरो सोचको फ्रेममा राखेर हेरिदिन्छौँ र धारणा बनाईहाल्छौँ, तर कतिपय यथार्थहरु हाम्रो सोचको फ्रेम भन्दा ज्यादै फराकिला हुन्छन् त कुनै ज्यादै साँघुरा पनि । यो बनिबनाउ सोचको फ्रेमलाई भत्काईदिउँ ताकि हाम्रो सोच फराकिलो भएर परपर पुगोस् र धेरै कुरा अटाओस् । (नागरिक)

Translate »