नर्भिक अस्पतालले भन्यो–‘निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार भएन’

नर्भिक अस्पताल, थापाथलीमा उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा अपेक्षित सुधार नभएको अस्पतालले जानकारी दिएको छ । आज अस्पताल परिसरमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै निशाको स्वास्थ्य अवस्थामा उद्धार गरिएको ३ महिनासम्म पनि अपेक्षित सुधार हुन नसकेको जानकारी दिइएको हो ।

अस्पतालका प्रमुख कर्पोरेट कम्यूनिकेशन एण्ड पीआर सोमनाथ बास्तोलाले जारी गरेको विज्ञप्तीमा निशाको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख गरिएको छ ।

उद्धार गरिएको केही दिनसम्म निशाको स्वास्थ्यमा सुधार हुने केही लक्षण देखिएपनि अहिले भने अवस्था स्थिर नै रहेको अस्पतालले जनाएको छ । विज्ञप्तीमा भनिएको छ–‘निशाको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबै खालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ । तर, पनि स्वास्थ्य अवस्थामा खासै सुधार देखिएको छैन । अहिले कलाकार घिमिरेको स्वास्थ्य अवस्था स्थिर छ ।’नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरीले केही समाजसेवीहरुको सहयोग लिएर जेठ २७ गते निशाको उद्धार गरि नर्भिक अस्पतालमा उपचार सुरु गराएकी थिइन् । हालसम्म निशाको उपचारका लागि ५० लाख बढी खर्च भएको समेत जानकारी दिएको छ ।

नर्भिकले निशाको उपचारका लागि बाहिरी सहयोगको आवश्यकता नपर्ने बताउँदै सहयोग रकम संकलन नगर्न पनि अनुरोध गरेको छ ।

निशाको स्वास्थ्य अवस्थाको सबै खालको विकल्पको बिषयमा समेत सोच्नुपर्ने अवस्था आएको अस्पतालले जानकारी दिएको छ । निशाको स्वास्थ्य अवस्था स्थिर नै रहने हो भने एक राम्रो रिहाब सेन्टरको आवश्यकता पर्ने समेत नर्भिक अस्पतालले जनाएको छ ।

दुर्घटनाका कारण निशाको ब्रेन इन्जुरी भएको र अवस्था निक्कै नै जटिल रहेको समेत उपचारमा संलग्न डाक्टर पंकज जलानले जानकारी दिएका छन् । निशाको स्वास्थ्य अवस्था पूर्ण रुपमा सामान्य नहुने समेत अस्पतालले जानकारी दिएको छ ।

दुर्घटनापछि निशाको ब्रेन निक्कै ड्यामेज भएको र लामो समयसम्म उपचारविहिन अवस्थामा राखिएकाले पनि अहिले सबै कोशिशका बाबजुत अवस्थामा अपेक्षित सुधार नआएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस्तै, पत्रकार सम्मेलनमा नीशाका पिता प्रेम घिमिरेले भने–‘बाहिर बजारमा छोरीको बिषयमा अनावश्यक कुराहरु सार्वजनिक भैरहेका छन् । यसले, हामीलाई पनि तनाव दिएको छ । देश तथा विदेशबाट फोन आइरहेको हुन्छ । यसैले भ्रमपूर्ण हल्ला नफैलाइदिन म अनुरोध गर्दछु ।

३ बर्ष अगाडि अध्ययनका लागि भारत पुगेकी मोडल घिमिरे कार दुर्घटनामा परेकी थिइन् । उनको दुर्घटना लगतै केही समय भारतमा उपचार भएपनि आर्थिक अभावका कारण उनको परिवारले नेपाल ल्याएर उपचार गराएको थियो । तर, विगत केही समयदेखि निशा अचेत अवस्थामा घरमै थिइन् । निशाको तस्वीर सार्वजनिक भएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले उनको उपचार निःशुल्क रुपमा सुरु गरेकी थिइन् । (अनलाइन खबर)

Translate »