हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरीको मृत्यु

टेकराज भण्डारी / अछाम । हेलिकप्टरबाट उद्धार गरी कोहलपुर लगिएकी अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्राका एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुग्राका २६ वर्षीया जनक विकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको उहाँका भतिजा पूर्ण विश्वकर्माले जानकारी दिए ।

विकलाई भाद्र ६ गते राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर लगिएको थियो । बयालपाटा अस्पतालमा विकको शल्यक्रियाबाट सुत्केरी गराइएको थियो ।

शल्यक्रिया मार्फत सुत्केरी गराइए पनि स्वास्थ्यमा थप जटिलता आएपछि उनलाई पुनः शल्यक्रियाको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत कोहलपुर लगिएको थियो ।

शल्यक्रियामार्फत जन्मिएको शिशुको भाद्र ६ गते नै बयालपाटा अस्पतालमा मृत्यु भइसकेको थियो । मृतक विकका एक छोरा र एक छोरी रहेका छन् ।

भाद्र ६ गते नै हेलिकप्टरबाट कोहलपुर लगिएकी जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ कि २७ वर्षीया नेमिका कुँवरको कोहलपुरमा अप्रेशन मार्फत बच्चा जन्मेर अस्पतालमै स्वास्थ्यलाभ गरिरहनु भएको छ । अप्रेशनमार्फत छोरी जन्मिएकी र तौल कम भएका कारण अस्पतालमै राखिएको आफन्तले जनाएका छन् ।

Translate »