थप २२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

भदौ १४, काठमाडौं । सोमवार पछिल्लो २४ घण्टामा थप २ हजार २९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार सोमवार १६ हजार २३३ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । जसमध्ये ११ हजार ८९२ जनाको पीसीआर र ४ हजार ३४१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै सोही अवधिमा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सोमवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १६ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ पुगेको छ । यसैगरी, सोमवार १ हजार ८०८ जना निको भएसँगै हालसम्म ७ लाख १४ हजार ५२० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Translate »