हुम्लामा मापदण्ड पालना गरी विद्यालय सञ्चालन हुने

सिमकोट– कोरोना महामारीका कारण लामो समय बन्द रहेका हुम्लाका सामुदायिक विद्यालयमा सावधानी अपनाएर भौतिक रुपमा पठनपाठन गरिने भएको छ।

जिल्लास्थित कोभिड १९ संकट व्यवस्थापन केन्द्र ( डिसीसीएमसी )को सोमबार बसेको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको हो।

केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार सबैतिरबाट विद्यालय खुलाउनु पर्ने माग आइरहेको र कोरोना संक्रमणको दर पनि घटेको देखिएपछि केन्द्रको बैठकबाट विद्यालय खुलाउने निर्णय गरिएको हो।

उनले निक्कै सावधानी अपनाएर मात्र विद्यालय खोल्नुपर्ने बताए। कोरोनाका कारण लामो समय विद्यालय बन्द रहेका छन्।

अब जिल्ला प्रशासन कार्यालयले सात वटै गाउँपालिकामा विद्यालय खुलाउन पत्र लेख्ने र त्यसपछि अवस्था विश्लेषण गरी गाउँपालिकाले विद्यालय सुचारु गर्ने बाटो खुल्नेछ।

प्रजिअ आचार्यले स्मार्ट लकडाउन कार्य विधि २०७८ ले पनि सामाजिक तथा आर्थिक गतिविधि संञ्चालन गर्न सकिने कुरा उल्लेख गरेका कारण जिल्लामा विद्यालय खुलाउने निष्कर्षमा पुगेको बताए।

हुम्ला जिल्लाका सात वटा गाउँपालिकामा १३७ वटा सामुदायिक विद्यालय रहेका छन् भने केही निजी विद्यालय पनि छन्। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका दुई वटा गाउँमा भने कोरोनाको अवधिमा पनि विद्यालयहरु सञ्चालन भएका थिए।

बैठकमा समितिका सदस्य र संघीय सांसद रंगमित शाही तथा कर्णाली प्रदेश सभा (ख) का सांसद जीवन बहादुर शाहीको पनि उपस्थिति रहेको थियो । (देश सञ्चार)

Translate »