कर्मचारीमा कोरोना देखिएपछि बन्द सुर्खेत मालपोत कार्यालय आइतवारदेखि सञ्चालनमा

भदौ १२, सुर्खेत । कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि दुई सातादेखि बन्द भएको मालपोत कार्यालय सुर्खेतले आइतवारदेखि सेवा सञ्चालन गर्ने भएको छ ।

यसअघि भदौ १५ गतेसम्म सेवा स्थगन गर्ने भनिए पनि कार्यालयले पुनः अर्को सूचना जारी गर्दै आइतवारदेखि सबै सेवा सञ्चालन गर्ने जानकारी दिएको हो । निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद देवकोटाले संक्रमित कर्मचारी निको भएकाले आइतवारदेखि सेवा सञ्चालन गर्ने बताए ।

कार्यालयले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क हुने कार्यबाहेक मालपोत विभाग, अदालत, प्रशासन, अन्तर सम्बन्धित निकाय र प्रहरी कार्यालयसँग सम्बन्धित अत्यावश्यक सेवा भने यसबीचमा पनि सञ्चालन गरेको थियो ।

मालपोत कार्यालयले आइतबार–सोमबार वीरेन्द्रनगरका केही वडा, चौकुने गाउँपालिका, लेकबेँसी नगरपालिका,मंगलवार–बुधवार वीरेन्द्रनगर, पञ्चपुरी र बराहताल गाउँपालिका, बिहीवार शुक्रवार वीरेन्द्रनगरका केही वडा, चिङ्गाड र सिम्ता गाउँपालिकाको मालपोतसम्बन्धी काम गर्दै आएको छ ।

गुर्भाकोट र भेरीगङ्गा नगरपालिकाको काम भने मेहेलकुनास्थित मालपोत कार्यालयबाट हुँदै आएको छ ।

Translate »