१ अर्ब ५२ करोड ३७ लाखको गेडागुडी आयात

भदौ ११, बाँके । नेपालगञ्ज नाकाबाट एक वर्षमा १ अर्ब ५२ करोड ३७ लाख रुपैयाँ बराबरको गेडागुडी आयात भएको छ ।

आर्थिक वर्ष ०७६/ ७७ मा १ अर्ब १० करोड ८८ लाख रुपैयाँको मात्र आयात भएको थियो । यसैगरी सोही नाकाबाट हरेक वर्ष चामल तथा चामलजन्य वस्तु आयातमा पनि वृद्धि हुँदै गएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा ८९ करोड रुपैयाँको चामल आयात भएको छ । आव ०७६/ ७७ भन्दा यो झण्डै २९ करोड रुपैयाँभन्दा बढी हो ।

आव ०७७/ ७८ मा ८८ करोड ९८ लाख ४२ हजार ९६ रुपैयाँको ती खाद्यान्न आयात भएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार आव ०७६/ ७७ मा ६० करोड १० लाख १५ हजार १४४ रुपैयाँ बराबरको आयात भएको थियो । आव ०७५/ ७६ मा  ४९ करोड ७१ लाख १५ हजार ८१३ रुपैयाँको चामल आयत भएको देखिन्छ ।

नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ आयातमा पनि वृद्धि भएको छ । गत आव २ अर्ब ४६ करोड ७० लाख रुपैयाँको पेट्रोल आयात भएको उनले बताए । आव ०७६/ ७७ मा १ अर्ब ९५ करोड ३९ लाख रुपैयाँको आयात भएको थियो ।

कार्यालयका अनुसार गत आवमा ४ अर्ब ८८ करोड ३९ लाख ८८ हजार रुपैयाँ बराबरको चिनी तथा चिनीजन्य वस्तु आयात भएको छ । यो पनि आव ०७६/ ७७ को तुलनामा धेरै हो । उक्त आवमा १ अर्ब ४४ करोड ६२ लाख रुपैयाँको ती वस्तु आयात भएको थियो ।

सिमेन्टको क्लिङ्कर आयातमा भने गिरावट आएको छ । गत आवमा ३९ करोड १२ लाख रुपैयाँको क्लिङ्कर आयात हुँदा आव ०७६/ ७७ मा  ४१ करोड ९३ लाख रुपैयाँको क्लिङकर आयात भएको थियो । रासस

Translate »