नेपाली भूमिबाटै मानसरोवर कैलाशको दर्शन

हुम्ला । पूर्वकार्यतालिकाभन्दा एक दिन ढिलो गरी चर्चित सद्गुरु जगदीश बासुदेव बुधबार हुम्लामा आइपुगेका छन् । नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न उनी हुम्ला आइपुगेका हुन् । पर्यटन व्यवसायी विजय लामाका अनुसार खराब मौसमका कारण हेलिकप्टरले उडान भर्न नसक्दा सद्गुरु एक दिन ढिलो हुम्ला आएको बताए ।

उनी बुधबार काठमाडौँबाट नेपालगन्ज र नेपालगन्जबाट सिमकोट हवाइजहाजमा आइपुगेका हुन् । उनीसँग अरू दुई जना सहयोगी पनि आएका छन् । सिमकोट विमानस्थलमा ओर्लिएपछि सद्गुरुले सिमकोटलाई निकै सुन्दर ठाउँ भएको बताए । सद्गुरुलाई विमानस्थलबाट आवाससम्म लैजान मोटरसाइकलको व्यवस्था गरिएको भए पनि उनी सिमसार क्षेत्रको खेल मैदानसम्म हिँडेर पुगेका थिए ।

उनीलगायत ४६ जना पर्यटक र ५५ जना पर्यटक व्यवसायी एक दिन सिमकोटमै बस्नेछन् । बिहीबार बिहानबाट उनको टोली लाप्चातर्फको पैदल यात्राका लागि निस्कनेछ । पैदल मार्गबाट लाप्चा क्षेत्र पुग्न टोलीले ११ दिन लगाउने कार्यक्रम छ । सद्गुरुले प्रत्येक बास बस्ने स्थानमा दुई रात बिताउनेछ । टोली नाम्खा गाउँपालिका–१ को लेकधिङ्गामा बास बस्नेछ भने अर्को बास चार हजार आठ सय मिटर अग्लो स्थान सेलिबाङ तालमा बस्नेछ ।

यस्तै अर्को बास भने लिमीको ताक्चीमा बस्ने व्यवस्था गरिएको छ । दैनिक चार घण्टा मात्र पैदल यात्रा गर्ने पर्यटकको टोलीले यी बास बस्ने स्थानमा दुई रात बिताउनेछ । ११औँ दिनमा लाप्चा क्षेत्रमा पुगेर मानसरोवर कैलाशको दर्शन गर्ने कार्यतालिका रहेको छ । नेपाली भूमिबाट दर्शन गर्ने र मौसममा खराबी आए दुई दिन ढिलो पनि हुनसक्ने जनाइएको छ । मानसरोवर कैलाशको दर्शनपछि लाप्चा क्षेत्रबाट हेलिकप्टरमा टोली सिमकोट फिर्ता हुनेछ ।

यात्राका क्रममा पैदल, गाडी, मोटरसाइकल र घोडामा यात्रा गर्ने तयारी गरिएको छ । यसका लागि २५ जना स्थानीय भरिया पनि तयार गरिएको छ । ११औँ दिनमा लाप्चा पुगेर टोलीले कैलाश मानसरोवरको दर्शन गर्ने कार्यक्रम रहेको छ । अब सद्गुरुको मानसरोवर कैलाशको यात्रा एक दिनपछि धकेलिएको छ । यसअघि ५५ जना कुक, गाइड र ४६ जना विभिन्न देशका गुरुसँग जाने पर्यटक सिमकोट आइसकेका छन् ।

उनीहरू सबै खेल मैदानमा त्रिपालको व्यवस्था गरी बसेका छन् । सद्गुरुसँग मानसरोवर कैलाशको दर्शन जाने टोलीमा भारत, अमेरिका, फ्रान्स, रुस, कोरिया, मलेसिया, जर्मन, अस्ट्रेलिया लगायतका रहेका छन् । सिमकोट उत्रेका पर्यटकलाई होटेल व्यवसायी विजय लामाले खादा लगाएर विमानस्थलमा स्वागत गरेका थिए । कोरोना सङ्क्रमणका कारण पर्यटकलाई सिमसार क्षेत्र र खेल मैदानमा बस्नका लागि त्रिपालको व्यवस्था गरिएको छ । (सत्यपाटी)

Translate »