शिशुको हातमा फरक-फरक ट्याग लगाउने नर्सलाई कारबाही गर्ने सहमति

नेपालगञ्जस्थित भेरी अस्पतालमा नवजात शिशुको हातमा फरक नाम पाइएकोबारे अनुसन्धान गर्न छानबिन समिति गठन भएको छ।

बिहीबार पीडित पक्ष, अस्पताल प्रशासन, प्रहरी र जिल्ला प्रशासन कार्यालयबीच भएको बैठकले छानबिन समिति गठन गर्ने र लापरबाही गर्ने नर्सलाई कारबाही गर्ने निर्णय गरेको हो ।

छानबिन समितिको प्रतिवेदन अनुसार लापरबाही गर्ने नर्सको पहिचान गरेर क(कसको लापरबाहीले गर्दा शिशुको हातमा फरक- फरक नाम लेखिएको हो, भन्ने कुराको आधारमा कारबाही गर्ने निर्णय भएको वार्तामा सहभागी जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक ईश्वर गिरीले सेतोपाटीलाई बताए ।

त्यस्तै, पीडित अभिभावकको चाहना अनुसार मृतक शिशुको पहिचानका लागि डिएनए परीक्षण गर्ने निर्णय भएको गिरीले जानकारी दिए ।‘अभिभावकको चाहना अनुसार मृतकको डिएनए परीक्षणका लागि काठमाडौंमा भिसेरा पठाउने निर्णय भएको छ,’ गिरीले भने ‘ डिएनए परीक्षणको रिपोर्ट आउन झन्डै महिना दिन जति लाग्ने हुँदा आजै अभिभावकले शव बुझेर दाह संस्कार गर्ने सहमति पनि भएको छ।’

भएको के थियो ?

बाँकेको खजुरास्थित सिमलघारीकी चन्द्रा विक सुत्केरी बेथाले च्यापेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भइन्। उनले बुधबार छोरालाई जन्म दिइन् । जन्मँदा उनको बच्चा ३ किलो ८ ग्रामका थियो ।

बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले विकको बच्चा अप्ठ्यारो अवस्थामा रहेकाले भ्याकुमले तानेर निकालिएको जानकारी अस्पताल प्रशासनले दिएको बताए । तर, उनको दिउँसो साढे दुई बजेतिर मृत्यु भयो।अस्पतालबाट छोराको शव बुझेर विक परिवारले अन्त्येष्टिका लागि खोला किनारमा पुर्‍याए ।

अन्तिम संस्कारका लागि छोराको शरीरका कपडा खोल्ने क्रममा नर्सले लेखेको नाम फरक थियो। उनीहरूको छोराको हातमा ‘गंगा चौधरी’ भन्ने नाम लेखिएको थियो ।

त्यसपछि उनीहरु तत्कालै यो बच्चा आफ्नो छोरा नभएको निष्कर्षमा पुगे र शवको अन्त्येष्टि नगरी अस्पताल पुगे  ।

अस्पतालमा यो शिशु आफ्नो छोरा नभएको र अस्पतालले बच्चा साटेको भन्दै आक्रोश व्यक्त गरे । स्थिति तनावग्रस्त बन्न पुग्यो । अस्पताल प्रशासनले खबर गरेपछि सुरक्षाको लागि एसपी अधिकारी आफैं त्यहाँ पुगे ।

मध्यरातमै पीडित पक्ष, अस्पताल प्रशासन र प्रहरी प्रशासनबीच मृतक बच्चाको डिएनए टेष्ट गराएरै भए पनि उत्पन्न समस्या समाधान गर्ने सहमति भयो  । त्यसका लागि बिहीबार बिहान फेरि छलफल गर्ने सम्झौता भयो । अहिले पनि छलफल जारी छ ।

बाँके प्रहरी प्रमुख अधिकारीका अनुसार बर्दियाकी गंगा चौधरीले भदौ ९ गते भन्दा १० दिन पहिले छुट्टै अर्को अस्पतालमा छोरालाई जन्म दिएकी थिइन् । उनको छोराको तौल ३ किलो ३ सय ग्राम छ। चौधरीका छोरा गम्भीर बिरामी भएपछि उनीहरूले पनि उपचारका लागि भेरी अस्पताल ल्याएका थिए । एनआइसियूमा राखेर उनको उपचार भइरहेको छ ।

त्यही क्रममा अस्पतालमा कार्यरत नर्सले ट्याग लगाउँदा लापरबाही गरिन् । नवजात शिशुको एउटा हातमा चन्द्रा विक र अर्को हातमा गंगा चौधरी लेखिदिए ।

‘संयोग कस्तो परेछ भने गंगा विक लेखेको हातको ट्याग भित्रपट्टि फर्किएछ,’ एसपी अधिकारीले भने, ‘त्यही भएर अभिभावकले आफ्नो मृतक छोराको एक हातमा चौधरीको ट्याग देखेपछि शव अन्त्येष्टि नगरी फर्काएर ल्याउनुभयो ।’

अस्पतालमा कार्यरत नर्सको लापरबाही र गल्तीले गर्दा अस्पतालमा समस्या उत्पन्न भए पनि दश दिन पहिले जन्मेको चौधरीको बच्चाको सालनाल तथा तौलका आधारमा पहिचान गर्न कुनै कठिन नभएको तर्क अस्पताल प्रशासनले गर्ने गरेको छ।

‘दश दिनको बच्चा र सोही दिन जन्मेको बच्चाको सालनालबाट पनि बच्चाको पहिचान गर्न सकिन्छ भन्नेछ,’ एसपी अधिकारीले भने, ‘राति एक बजे नै अस्पताल प्रशासनले बच्चाको तौल गरेर देखाएको थियो ।’

अस्पतालको रेकर्ड अनुसार दुबै बच्चाको तौल ठ्याक्कै भने जस्तै मिल्न गएको एसपी अधिकारीले सेतोपाटीलाई बताए ।

‘राति अस्पतालमा सबैका सामू यसो फर्काएर हेर्दा मृतक बच्चाको एउटा हातमा भित्र तिर चन्द्रा विक नामसमेत लेखेको भेटियो,’ एसपी अधिकारले भने, ‘त्यसैले बच्चा विककै रहेको र अस्पतालका नर्सले ट्याग लगाउँदा लापरबाही तथा गल्ती गरेको स्पष्ट हुन गयो ।’

हाल अस्पतालको एनआइसियूमा राखेर उपचाररत अर्का बच्चाको दुबै हातमा गंगा चौधरी नै रहेको अधिकारीले जानकारी दिए ।
‘विक परिवारले होइन, ज्युँदो बच्चा हाम्रो हो र मरेको बच्चा हाम्रो हैन भन्ने दाबी गर्दै आउनु भएको छ, तर, त्यो पुष्टि हुने कुनै आधार देखिँदैन,’ एसपी अधिकारीले भने, ‘उहाँहरूले हामीलाई हाम्रो ज्युँदो बच्चा चाहियो भन्ने गर्नुहुन्छ, त्यो त सम्भव नै छैन ।’

तै पनि पीडित परिवारको माग अनुसार मृतक विकको डिएनए परीक्षण गर्न काठमाडौं पठाउने कि, के गर्नेरु भन्ने बारेमा बिहीबार फेरि अस्पतालमै छलफल जारी रहेको एसपी अधिकारीले बताए । (सेतो पाटी)

 

Translate »