कलेज पढाउने कोपिलाको मास्क व्यवसाय, महिनामा ८० हजारसम्मको व्यापार


मिरा खतिवडा /  काठमाडौं । तपाईंहरूले जताततै फालिएका सर्जिकल मास्क देख्नुभएको छरु सुरक्षित हुन लगाइने मास्क बेवारिसे भएपछि झन् अर्को समस्या आउला भन्ने सोच्नुभएको छ ?

हामीले अलपत्र परेका मास्क व्यवस्थित गर्नु त कहाँ, आफैं मनलाग्दी ठाउँमा फालिदियौं होला।

तर बुढानिलकण्ठकी ३२ वर्षीया कोपिला भण्डारी यसै बस्न सकिनन्। एकपटक लगाएर फालिने यस्ता मास्कको विकल्प खोज्ने क्रममा उनले वातावरणमैत्री मास्क बनाउने सोचिन्।यस्तो मास्क उत्पादन कसरी हुन्छ, बेच्ने कसरी, कति फाइदा होला, यी केहीबारे कोपिलालाई कत्ति जानकारी थिएन। तर वातावरण प्रदूषणबारे सधैं चिन्ता लाग्थ्यो। त्यसैले आम्दानी गर्नेभन्दा प्रदूषण कम गर्न सघाउने विचारले उनले कपडा मास्क बनाउने निधो गरिन्।

कपडा मास्क दिगो र राम्रो हुने भन्ने बुझेर उनले यसको डिजाइन अध्ययनमै तीन महिना खर्चिन्। पुनः प्रयोग गर्न मिल्ने र हेर्दा पनि आकर्षक देखिने बुट्टेदार मास्क बनाउने सीप सिकिन्।

लामो समय लगाउन मिल्ने भएपछि डिजाइन पनि राम्रो बनाउनुपर्छ भन्ने लाग्यो, कोपिलाले भनिन्, कसरी राम्रो र सुरक्षित बनाउन सकिन्छ भन्ने खोजबिन गरेँ। उनले विश्व स्वास्थ्य संगठनले मास्कबारे जारी गरेका मापदण्ड र निर्देशिका निरन्तर अध्ययन गरिन्। विदेशतिर पुनः प्रयोग गर्न मिल्ने मास्क चल्तीमै थिए। तिनका विभिन्न प्रकार हेरेर पनि आइडिया लिइन्।

त्यस्तै उत्पादन र स्वास्थ्य विज्ञसँग सल्लाह गरेर यसको प्रभावकारिताबारे बुझिन्। आफूले बनाउने मास्कमा पूर्ण विश्वस्त भएपछि उनले यसलाई व्यवसायका रूपमा अगाडि बढाइन्।

पहिलो लकडाउनपछि उनले आफ्नै नामबाट कम्पनी दर्ता गरिन् कोपिला।

सबै तयारी भइसक्दा पनि उनलाई व्यवसाय चलाउन सक्दिनँ कि भन्ने लागेको थियो। तर किराना पसलमा चकेलटका बट्टामा सर्जिकल मास्क देखिन थालेपछि उनी यसै बस्न सकिनन्।

कोशिस भए पनि गरेरै छाड्छु भन्ने आँट आयो, उनले भनिन्, अहिले बजार सानो किन नहोस्, थोरै भए पनि वातावरणमैत्री मास्क पुर्‍याउन सकेकोमा खुसी छु।

अहिले उनी ३५ थरी मास्क बनाउँछिन्। यसबाहेक मेकअप ब्याग, ट्राभल ब्याग, वालेट, दसैं(तिहारमा दिन सकिने गिफ्ट बक्स पनि कोपिला ब्रान्डमार्फत् बिक्री हुन्छ।

पहिलो कोभिड लकडाउनमा उनले इन्स्टाग्रामबाट मास्क व्यापार थालेकी हुन्।

इन्स्टामा मैले सामान राखेँ, धेरैले मन पराउनुभयो। बिस्तारै व्यापार बढ्दै गयो, उनले भनिन्, सुरूमा महिलाका लागि मात्रै बनाएकी थिएँ। बिस्तारै पुरुषहरूले पनि माग गर्न थालेपछि सबैलाई हुने मास्क बनायौं।कक्षा १२ पछि कल–सेन्टरमा काम गरेकी उनलाई ग्राहकलाई कसरी सेवा दिने भन्नेबारे ज्ञान थियो। स्नातक सकेपछि मार्केटिङ अफिसरका रूपमा काम गर्दा सामाजिक सञ्जालको उपयोगिताबारे पनि थाहा भयो। अनलाइन बजारमा काम गरेको अनुभवले उनलाई आफ्नै व्यवसाय सञ्चालन गर्न मद्दत पुग्यो।

कोपिलामा बच्चाको मास्क एक सय नब्बे रूपैयाँबाट सुरू हुन्छ। ठूला मानिसको दुई सय पचासबाट। पछिल्लो समय मास्कले छालामा समस्या देखिन थालेपछि छालामैत्री मास्क पनि बनाएको उनको भनाइ छ। त्यसको मूल्य दुई सय पचासी रूपैयाँ पर्छ।

उनले यो व्यवसाय पचास हजार रूपैयाँबाट सुरू गरेकी हुन्। यति कमाउँछु भन्दा पनि यतिवटा मास्क बजारमा गयो भने त्यति नै सर्जिकल मास्क प्रयोग कम हुन्छ भन्ने हिसाबले काम थालेको उनी बताउँछिन्।

ग्राहकबाट राम्रो प्रतिक्रिया पाएकी छु। बिग्रेको भए साटिदिन्छु, उनले भनिन्, कोपिलालाई ब्रान्डका रूपमा विकास गर्न सकेसम्म राम्रो र सहज सेवा दिइरहेकी छु। कोपिलाका अनुसार उनले सूतिबाट मास्क बनाउँछिन्। त्यसैले वासिङ मेसिनमा धुनु हुँदैन। हातले बिस्तारै मिचेर धुनुपर्छ। नभए भित्र बनाइएको फिल्टर तह बिग्रिन्छ। यस्ता कुरा प्रयोगकर्तालाई पहिल्यै थाहा होस् भनेर उनले हरेक मास्क बेच्दा धुँदा ध्यान दिनुपर्ने सुझाव समावेश गरेर पठाउँछिन्। अनि सुरक्षित पुगोस् भनेर मास्क खोलसहित डेलिभरी गर्ने उनले बताइन्।

सुरूआती समयमा कोपिलामा तीनजना कर्मचारी भए पनि कोरोना बढेसँगै उनीहरूले काम छाडे। बिहान सेन्ट जेभिर्यस कलेजमा पढाउने कोपिला एक्लै व्यवसाय धानिरहेकी छन्।
कोपिलाका सामान हाल काठमाडौं उपत्यका लक्षित छन्। बुटवल, भैरहवा, पोखराबाट माग आइरहे पनि कोभिडकै कारण पठाउन सकेकी छैनन्। अवस्था सहज भएपछि पठाउने योजना छ।

विभिन्न संस्थाले पनि कोपिला मास्क मनपराएर धेरै संख्यामा अर्डर दिइरहेका छन्। एकपटकमा तीन सयदेखि छ हजारसम्म मास्क बिक्री गर्दा आम्दानी पनि राम्रो भएको कोपिलाले बताइन्।

ुऔसतमा व्यक्तिबाट दिनमा चारदेखि २५ वटासम्म अर्डर आउँछ, उनले भनिन्, कोभिडका कारण उत्पादन सुस्त भएको छ। कसरी बढाउने भन्नेतिर लागिरहेकी छु।

उनका अनुसार केही समय त मासिक तीनदेखि चार लाखसम्मको कारोबार भएको थियो। दोस्रो लकडाउनपछि भने महिनाको ६५ देखि ८० हजारसम्म भइरहेको छ। यसमध्ये अधिकांश रकम उनले व्यवसायमै लगाइरहेकी छन्।

हालसम्म कोपिलाले यसको पसल खोलेकी छैनन्। सामान भण्डार गर्न साना दुइटा कोठा भाडा लिएकी छन्। अवस्था सामान्य भएपछि एउटा कार्यालय र कर्मचारी राख्नुका साथै उत्पादन पनि थप्ने योजना उनको छ।

कर्मचारीका निम्ति उनी आफैंले पढाउने विद्यार्थीलाई लक्षित गर्दै भ्याकेन्सी पनि खोलिसकिन्।

भन्छिन्, आफ्नै विद्यार्थीलाई अवसर दिऊँ भन्ने लाग्यो। व्यवस्थापन पढिरहेका विद्यार्थीलाई यतातिर चाहना पनि हुन्छ। धेरैले आवेदन भरेका छन्।

व्यवसाय प्रवर्द्धन गर्न सरकारले उद्यमीलाई दिने सहुलियत ऋण सहज तरिकाले पाए हुन्थ्यो भन्ने उनलाई लागेको छ। व्यवसाय विस्तार गर्न सके कोपिलाका उत्पादन विदेशी बजारमा पुर्‍याउने योजना उनको हो। तर सामान पठाउने व्यवस्था झन्झटिलो भएको उनी बताउँछिन्।

वातावरणमैत्री उत्पादन विश्वभरि आवश्यक छ। त्यसैले गुणस्तरमा अझै ध्यान दिएर मास्क, ब्यागसहित अन्य सामान बाहिर पठाउने सोच हो। यसनिम्ति निर्यात व्यवस्था सहज हुन जरुरी छ, उनले भनिन्।

गत लकडाउनदेखि पढाउन सुरू गरेकी उनले शिक्षण पेसासँगै व्यवसाय अगाडि बढाउने सोचेकी छन्। उपभोक्ताको प्रतिक्रियामा ध्यान दिएर उत्पादन सुधार्दै लगेको पनि उनको भनाइ छ।

कोपिला भन्छिन्, बरू नबेच्ने, बेचेपछि गुणस्तरीय सामग्री बेच्ने। (सेतो पाटी)

 

Translate »