अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किए

भदौ ७, काठमाडौं । अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार आइतवार साँझसम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् ।

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धार गर्न मन्त्रालयको मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

कार्यदलको सातौँ बैठक बसेको जानकारी दिँदै परराष्ट्र मन्त्रालयले उद्धार गर्न बाँकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रसँगको समन्वय, उद्धारपछिको स्वदेश फिर्ती आदिको अद्यावधिक विवरण एवं पछिल्लो अवस्थाका बारेमा छलफल भएको हो ।

उद्धारका लागि सूचीकृत भएकामध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्धार भई सुरक्षित स्थानमा पुगेकाको विवरण रुजु गरी उद्धार हुन बाँकीको विवरण अद्यावधिक गरिएको छ । उद्धार हुन बाँकी व्यक्तिको विवरण स्थानगत रूपमा अद्यावधिक गरी उद्धारका लागि उद्धार उडान गरिरहेका मित्र राष्ट्रसँग सहकार्य र समन्वय भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

काबुलमा नागरिक उड्डयन सेवाको हवाई जहाज आगमन अवतरण खुली नसकेकोसमेत मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले उपलब्ध गराइएको अनलाइन पोर्टल भाइबर, ह्वाट्सएपमा आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ । रासस

Translate »