मुस्लिम समुदायले मोहर्रम पर्व मनाउँदै

बाँके । मुसलमान धर्मावलम्बीले मोहर्रम पर्व हर्षोल्लासपूर्वक आजदेखि मनाउँन सुरुवात गरेका छन् । इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुवातसँगै तामझामका साथ मनाइने सो पर्व दश दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइँने गरिन्छ । केन्द्रीय मोहर्रम तथा कर्बला व्यवस्थापन समिति नेपालगञ्जका अध्यक्ष फिरोज अहमद हल्वाईले घरमै बसेर आज मोहर्रम पर्व मनाइने जानकारी दिए ।

उनले कोरोनाको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गरी पर्व मनाउन सबैलाई आग्रह गरिएको बताए । यस वर्ष पर्वअन्तर्गत निकालिने सम्पूर्ण जुलुसको कार्यक्रम स्थगित गरिएको छ । ती समुदायले आ–आफ्नो घर अगाडि सजाएको ताजिया सेलाउन कर्बला जाँदा भीड जम्मा नहुने गरी आलोपालो मिलाउन आग्रह गरिएको छ ।

मुस्लिम अगुवा मोहम्मद हारुन हलवाईले यस वर्ष महामारीका कारण चाडपर्व घरभित्रै भीडभाड नहुने गरी मनाउन आग्रह गरिएको बताउनुभयो । यस महिना हजरत हसन र हजरत हुसैनले सत्यका लागि आफ्नो सम्पूर्ण परिवारसहित बलिदानी दिएकाले यसैका स्मरणमा सो पर्व मनाउने गरिएको उनले जानकारी दिए। पर्वलाई शान्तिपूर्ण र व्यवस्थित तरिकाले मनाउन आग्रह गरिएको प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले बताए ।

नरैनापुरमा सार्वजनिक विदा

मुसलमान समुदायका बाहुल्यता रहेको बाँकेको नरैनापुर गाउँपालिकाले मोहर्रम पर्वमा आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले मुसलमान धर्मावलम्बीको पर्व मोहर्रममा सार्वजनिक बिदा दिइएकोे जानकारी दिए । उनले महामारीका कारण सिर्जित असहज परिस्थितिका कारण सामाजिक दूरी कायम गरेर भीडभाड नगरी पर्व मनाउन आग्रह गरे । उच्च स्वास्थ्य सतर्कताका अपनाउँदै घरमै बसी आ–आफ्नो परिवारमा हर्षोल्लासका साथ पर्व मनाउन गाउँपालिकाले आग्रह गरेको छ । रासस

 

Translate »