अफगानिस्तान–नेपाल व्यापार : के आउँछ, के जान्छ ?

६८ लाख रूपैयाँको आयात हुँदा १२ हजारको निर्यात

काठमाडौँ — सरकारी फौजविरुद्धको आक्रमण तीव्र पार्दै अफगानिस्तानमा विद्रोही समूह तालिवानले सत्ता कब्जा गरेपछि विश्वभर चर्चा चुलिएको छ । शासनदेखि लिएर अफगानिस्तानसँग अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो होला भन्नेबारे विभिन्न अड्कालबाजी भइरहेका छन् ।

विद्रोही समूह तालिवानले विभिन्न प्रान्तसँगै राजधानी घेरेपछि राष्ट्रपति असरफ घानीले देश छाडी गएको अन्तर्राष्ट्रिय समाचारहरूले जनाएका थिए । तालिवान शासन भएसँगै विभिन्न मुलुकले आफ्नो नागरिकलाई स्वदेश फिर्ता गरिरहेका छन् । नेपालले करिब २ हजारमध्ये २ सय ९६ जना नेपाली स्वदेश फिर्ता गरिसकेको छ । अझै सयौं नेपाली नागरिक उद्धारका क्रममा छन् । यति बेला अफगानिस्तानसँगको व्यापारिक सम्बन्ध तत्काललाई स्थगित जस्तै छ ।

अफगानिस्तानसँग नेपालको व्यापार अवस्था भने कस्तो छ त ? भन्सार विभागले नेपाल र अफगानिस्तानको व्यापार नगण्य रहेको जनाएको छ । ‘फाटफुट रूपमा केही वस्तु आयात–निर्यात भए होलान् । तर ठूलो परिमाणमा आयात–निर्यात आएको छैन,’ विभागका सूचना अधिकारी शिशिर घिमिरेले भने । आर्थिक वर्ष २०७७/७८ मा अफगानिस्तानबाट ६८ लाख रुपैयाँको सामान आएको थियो । तर निर्यात भने १२ हजार रुपैयाँको मात्रै भएको विभागको तथ्यांक छ । आयातित वस्तुमा २५ लाख रुपैयाँको अन्जिर, १० लाख रुपैयाँको अंगुर र ४ लाख रुपैयाँको ड्राई फ्रुटलगायत वस्तु छन् ।

आर्थिक वर्ष २०७६/७७ मा भने २ लाख रुपैयाँको मात्रै आयात भएको थियो । उक्त आर्थिक वर्षमा निर्यात भने १६ लाख रुपैयाँको भएको भन्सार विभागको विवरणमा उल्लेख छ । आयातित वस्तुमा सबैभन्दा बढी १ लाख रुपैयाँको कलर (रङ) र २०/२५ हजार रुपैयाँका कपडा रहेको विभागले जनाएको छ । निर्यात भएका वस्तुमा भने भेटेरिनरी भ्याक्सिन रहेको विभागले बताएको छ ।

‘ती सामान बेच्न आयात गरिएका होइनन् । घरायसी र साथीभाइहरूका लागि आयात गरेको हुन सक्छ,’ विभागका एक अधिकारीले भने, ‘दुई मुलुकबीच व्यापार छैन भन्दा पनि हुन्छ । अफगानिस्तानमा विकसित पछिल्ला घटनाक्रमले व्यापारमा नेपाललाई खासै असर पर्दैन ।’ पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले पनि अफगानिस्तानमा अलिअलि रोजगारीको अवसर भए पनि व्यापार नभएको बताए । मान्छेहरूले अफगानिस्तान आउँदा–जाँदा केही सामानको भन्सार तिरेका छन् । जसले गर्दा सामान्य आयात–निर्यात देखिएको उनको भनाइ छ ।

‘दक्षिण एसियामा अफगानिस्तानको व्यापार भनेको भारत र पाकिस्तानसँग मात्रै हो । यी दुईबाहेक अन्य मुलुकसँग व्यापार त्यति छैन । छिटपुट रूपमा भए पनि आयात/निर्यात उल्लेख गर्न लायक छैन,’ ओझाले भने, ‘अफगानिस्तानसँगको सम्बन्ध विकास भएको सन् २००१ पछि हो । तालिवानलाई हटाएर चुनावका लागि अमेरिकी फोर्स अफगानिस्तान गए । पूर्वाधार विकासका लागि इन्जिनियर र नेपालबाट रिटायर्ड सुरक्षाकर्मी सुरक्षाका काममा गए । सुरक्षा गार्डका लागि रोजगारीको अवसर अलिअलि भयो । तर व्यापारको अवस्था भने शून्यसरह नै हो ।’ तथ्यांकअनुसार मुलुकमा सबैभन्दा बढी भारतबाट आयात हुन्छ । १५ खर्ब ३९ अर्बको आयात व्यापारमा भारतबाट मात्रै ९ खर्ब ७१ अर्ब ६० करोड रुपैयाँको छ । १ खर्ब ४१ अर्बको निर्यात व्यापारमा भारतमा १ खर्ब ६ अर्ब ३७ करोडको निर्यात भएको उल्लेख छ । (कान्तिपुर)

Translate »