वामदेव गौतम एमालेमै

काठमाडौँ — नेता वामदेव गौतम एमालेमै रहेको उनको सचिवालयले प्रस्ट्याएको छ ।  एमाले उपाध्यक्ष गौतम नेकपा एकीकृत समाजवादीमा गइसकेको प्रचार गरेर चरित्र हत्या गर्न खोजिएको भन्दै सचिवालयले आइतबार बिहान सामाजिक सञ्जालमार्फत आपत्ति जनाएको छ ।

‘पत्रपत्रिका तथा सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितको ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन,’ स्वकीय सचिव दीपक टमाटाले लेखेका छन्, ‘क. वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको र नेकपा एमाले नेतृत्वको कार्यशैली प्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो ।’

बजारमा भइरहेको प्रचारप्रसारमा कुनै सत्यता नरहेको पनि उनले प्रस्ट्याएका छन् । गत साता मात्रै गौतमले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठन गर्न लागेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो समर्थन रहने जनाएका थिए । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएपछि गौतमले स्थायी कमिटी बैठक बहिष्कार गरेका थिए ।

Translate »