सल्यानमा झण्डै २ करोड लिटर भन्दा बढी दूध उत्पादन

दीपक शर्मा  / सल्यान । गत आर्थिक वर्ष सल्यानमा झण्डै दुई करोड लिटर दूध उत्पादन भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार १ करोड ९१ लाख ६२ हजार लिटर दुध उत्पादन भएको छ ।

कार्यालयका अनुसार जिल्लामा १९ हजार १ सय ६२ मेट्रिक टन दूध उत्पादन भएकोमा १७ लाख ३ हजार लिटर जिल्ला बाहिर निकासी भएको छ । १७ लाख ३ हजार दूध निकासीबाट ९५ लाख १५ हजार रुपैयाँ भित्रिएको कार्यालय प्रमुख कपिल प्रसाद उपाध्यायले जानकारी दिए ।

सल्यान जिल्ला पछिल्लो समय दूधमा आत्मनिर्भर भएको उनको भनाई छ । जिल्लामा वार्षिक १८ हजार ९ सय ९८ मेट्रिक टन दूध जिल्लामै खपत हुने गरेको उनको भनाई छ । हिउँदको समयमा केही दूधको उत्पादन घटे पनि अन्य समयमा भने दूध पर्याप्त हुने गरेको उपाध्यायले बताए ।

दूध उत्पादन वृद्धि गर्न कार्यालयले शारदा नगरपालिका, त्रिवेणी गाउँपालिका, बागचौर नगरपालिका र दार्मा गाउँपालिकालाई दूध पकेट क्षेत्र घोषणा गरेको छ । स्थानीय तहहरूले अनुदानको कार्यक्रम सञ्चालन गरेका कारण पनि दूध उत्पादन बढेको उनको भनाई छ ।

 

Translate »