वीनपाद्वारा सामुदायिक विद्यालयलाई ल्यापटप

स्काई न्यूज / भदौं २, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयमा आधुनिक सूचना प्रविधिको पहुँच वृिद्ध गरी प्रशासनिक र शिक्षण विधिमा सुधार गर्न सहयोग पु¥याउने उद्देश्यले ल्यापटप वितरण गरेको हो । वीनपाका उपमेयर मोहनमाया ढकालले नगरक्षेत्रभित्रका ६२ वटा सामुदायिक विद्यालयलाई प्रविधियुक्त शिक्षा विकासमा सहयोग पु¥याउने उद्देश्यले ल्यापटप वितरण गरिएको बताईन् । उनले कोरोनाले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई न्यूनिकरण गर्दै वैकल्पिक माध्यमबाट भएपनि तत्काल पठनपाठनलाई निरन्तरता दिन शिक्षकलाई ल्यापटप वितरण गरिएको जनाईन् ।

‘पहिलो चरणमा नगरपालिका भित्र रहेका ६२ वटा सामुदायिक विद्यालयलाई प्रति विद्यालय १ वटाको दरले ल्यापटप वितरण गरेका छौं,’ उनले भनिन्, ‘शिक्षालाई प्रविधिमैत्री बनाउँदै गुणस्तरीयता कायम राख्न आगामी दिनमा थप ल्यापटप विद्यालयलाई वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएका छौं ।’ उनले सामुदायिक विद्यालयको पठन–पाठनलाई अहिलेको प्रविधिसँग जोड्दै कागजविहीन शिक्षा पद्धतिको विकासलाई टेवा पु¥याउनु नगरपालिकाको अर्को उद्देश्य समेत रहेको बताईन् । उनका अनुसार नगरपालिका क्षेत्रका सबै सामुदायिक विद्यालयहरुमा ‘एक शिक्षक एक ल्यापटप’ को नीति अघि बढाउँदै ‘पेपर लेस शिक्षा’ को अवधारणालाई अघि सारिएको छ ।

यता वीनपाका शिक्षा शाखा प्रमुख ललितविक्रम सिंहले पहिलो चरणमा ३२ लाख ९० हजार रुपैयाँमा ६२ वटा ल्यापटप ६२ जना शिक्षकलाई वितरण गरिएको बताए । उनले वीरेन्द्रनगर नगरपालिका क्षेत्र भित्र रहेका ६२ वटा सामुदायिक विद्यालयमा ७ सय शिक्षक कार्यरत रहेको जनाए । ‘नगरपालिकाले यसअघि नगरक्षेत्रका सबै सामुदायिक विद्यालयमा वाईफाई जोडि सकेको छ,’ उनले भने, ‘नगरपालिकाको ‘एक शिक्षक एक ल्यापटप’ को नीति अन्तर्गत नगरक्षेत्रका ७ सय शिक्षकलाई ७ दिन देखि १ महिने कम्प्युटरसम्बन्धी ज्ञान सूचना प्रविधि तालिम (आईसीटी) दिईसकेका छौं ।’ उनले चालु आर्थिक वर्षमै आफ्नै स्रोतबाट थप ६० जना शिक्षकलाई ल्यापटप उपलब्ध गराएर सबै विद्यालयलाई आधुनिक सूचना प्रविधिमैत्री बनाउने योजनालाई तीव्रता दिईएको बताए । उनका अनुसार शिक्षक नै सूचना प्रविधिमैत्री बनेमा अहिलेको आधुनिक शिक्षा प्रणालीमा विद्यार्थीहरुको पठनपाठनलाई सहयोग पुग्ने नगरपालिकाको विश्वास रहेको छ ।

Translate »