जुम्लामा बाढीपहिरोले बगाएर एकै घरका तीनजनाको मृत्यु

धनबहादुर बुढा / जुम्ला ।
जुम्लामा बाढीपहिरोले बगाएर एकै घरका तीन जनाको मृत्यु भएको छ । जुम्ला तातोपानी गाउँपालिका ७ ताम्ती गाउँका तीन जनालाई बाढीपहिरोले बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापाका अनुसार मृत्यु हुनेमा ६० वर्षीय बिर्खे रावत, ३५ वर्षीया जैसरी रावत र १० वर्षका सन्देश रावत छन् । बिर्खे रावत जैसरीको जेठाजु हुन् भने सन्देश रावत जैसरीका छोरा हुन् ।

सेतक चिनी कोरेर पाटनबाट फर्किएको समयमा घर नजिकैको घट्टे खोला तर्ने क्रममा उनीहरुलाई एक्कासी माथिबाट आएको बाढीले बगाएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए ।

उनले भने, ‘बाढी आएर पानी थुनिएको रहेछ । उनीहरु खोला तर्ने बेला थुनिएको बाढी फुट्ने बेला संगसंगै भएपछि उनीहरुलाई बगाएको रहेछ। सेतक चिनी कोरेर उनीहरु २८ गते साँझ नै घर फर्किएका थिए।

राति अबेरसम्म पनि घर नपुगेपछि घरपरिवारले खोजी कार्य थालेका थिए । तर भेटाएनन् । शुक्रबार वडाध्यक्ष र टोप्ला प्रहरी चौकीबाट खटेको टोलीले बगाएको अवस्थामा भेटाएको थियो । यसअघि पहिरोमा परेको भनिएको भएपनि बाढीपहिरो एकैसाथ आएर बगाएको स्थानीय बताउँछन् ।

डिएसपी थापाले खोलाबाट मृतक तीनै जनाको शव निकालि सकिएको बताए। उनका अनुसार घटनास्थलमा प्रहरी गइसकेको छ ।

 

Translate »