शेयर बजारले बदल्दै समाज : ‘बैंक नदेखेकाहरू मौद्रिक नीतिमा चासो राख्छन्’

२९ साउन, काठमाडौं ।
शेयर बजारमा अहिले सर्वसाधारणको चासो कति छ भन्ने थाहा पाउन तपाईंले खोटाङ हलेसी तुवाचुङ नगरपालिकाकी रमिला भट्टराई खतिवडाको कथा थाहा पाउनुपर्छ । रमिला एक गृहिणी हुन् । दुई वर्षअघिसम्म उनलाई शेयर भनेको के हो, कसरी किन्छन्, कसरी बेच्छन्, यसको बजार कहाँ हुन्छ भन्ने छेउटुप्पो जानकारी थिएन ।

शेयर बजार सम्बन्धी सामान्य ज्ञान नभएकी रमिलालाई अहिले हरेक आइतबारदेखि बिहीबारसम्म इन्टरनेटको पहुँचमा बस्नैपर्छ । मोबाइल डिभाइसबाट उनी ११ देखि ३ बजेसम्म पटक–पटक नेपाल स्टक एक्सचेञ्जको वेबसाइट खोल्छिन् । उनको शेयर लगानी भएको कम्पनीको संख्या अहिले २२ छ ।‘निफ्राको ६० र चन्द्रागिरिको १० कित्ता आईपीओ परेको थियो, अहिले त आईपीओ होइन, दोस्रो बजारबाटै किनेको शेयर धेरै भइसक्यो’ रमिला भन्छिन्, ‘आईपीओ भर्‍यो पर्दैन, सेकेण्डरीबाट किनेर बेच्न थालेकी छु ।’शुरूमा उनले खसी बेचेको पैसा शेयरमा हालेर कारोबार शुरू गरिन् । हजार हुँदै लाखको कारोबार गर्न थालिन् । जोरजाम गरेर चार लाख रुपैयाँ बीउ पूँजी बनाइन् । त्यो चार लाख लगानी गरेर ३०र४० हजार रुपैयाँ कमाइन् । यसैबाट सानोतिनो घरखर्च पनि चलाइन् ।

चार लाख रुपैयाँ सावाँको उनको ‘पोर्टफोलियो’ ६ लाख पुग्यो । ‘जेठ अन्तिम सातातिर लगभग ६ लाख रुपैयाँ भएको थियो, त्यसपछि बढ्छ र बेच्छु भन्दाभन्दै १ असारदेखि उनको ‘पोर्टफोलियो’ घट्यो । बजार घट्दा अलिक आत्तिइन् पनि ।

तर, यही बीचमा एमाले नेतृत्वको सरकार ढल्यो, सरकारमा कांग्रेस आयो । नयाँ सरकार बनेपछि विस्तारै शेयर बजार पुरानै लयमा फर्कियो । पुरानो रेकर्ड पनि तोड्दै बजारमा थप उत्साह देखियो । नेप्से परिसूचक बढेर उच्च बिन्दुमा पुग्दा अहिले उनको पोर्टफोलियो पनि बढेको छ ।उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडियाकी इन्दिरा रेग्मी पराजुली पनि १ असारपछि आत्तिइन् । आधा दशकदेखि ललितपुर बालकुमारीमा होस्टल व्यवसाय गरिरहेकी उनको कोरोनासँगै व्यवसाय चौपट भयो ।

धनाढ्य र व्यावसायिक व्यक्तिको रुचिको क्षेत्र मानिने शेयर बजारमा अहिले मुलुकका ४० लाख नागरिक सहभागी छन् । झण्डै १६ लाख महिलाको सहभागिताले घर–घरमा सशक्तीकरण र अभूतपूर्व वित्तीय साक्षरता पुर्‍याइरहेको छ । तर, यसको जोखिम पनि उत्तिकै छ ।

होस्टलबाट आम्दानी शून्य भयो । खर्च घट्नु सट्टा बढ्यो । जम्मा गरेर राखेको पैसा उनले शेयर बजारमा लगानी गर्न शुरू गरिन् ।

‘कहिले घट्ने कहिले बढ्ने भयो, शुरुमा म निकै नराम्रोसँग डुबेकी थिएँ । अहिले घर खर्च कमाएकी छु’, उनी भन्छिन् ।

शेयर बजार जस्तै छ उनको कारोबारको उतारचढावपूर्ण कथा पनि । शुरूमा एचआईडीसीएल जलविद्युत् कम्पनीको दुई लाख रुपैयाँको शेयर किनिन् । भोलिपल्ट बढेर पोर्टफोलियोमा ७ हजार रुपैयाँ थपियो ।

एकदिनमै ७ हजार थपिएपछि उत्साहित भइन् । दोस्रो दिन थोरै घट्यो । तेस्रो र चौथो दिन लगातार बढ्यो । एक साता भित्रै उनको पोर्टफोलियोमा ५० हजार रुपैयाँ थपिएको थियो ।

‘एक सातामा यति धेरै कमाइन्छ भन्ने त सोचेकै थिइनँ, म पोर्टफोलियो हेर्दै दंग पर्थें’ इन्दिरा भन्छिन्, ‘त्यसपछि भने लगातार बजार ओरालो लाग्यो । अन्य कम्पनीको बढ्दा पनि मेरो कम्पनीको चाहिं घट्यो ।’

बढ्ने आशामा उनले शेयर बेचिनन् । अर्को साता उनले कमाएको मात्रै गुमेन, सावाँ समेत दुई लाखबाट १ लाख ६० हजार रुपैयाँमा झर्‍यो । व्यवहार चलाउन रकम अभाव भएपछि उनले १ लाख ६० हजारमै त्यो शेयर बिक्री गरिन् ।

इन्दिराले नाफा भएका बेला बिक्री नगर्दा सावाँको केही अंश समेत गुमाइन् । तर उनकै शब्दमा यसलाई उनले ‘शिक्षा’ को रूपमा लिएकी छिन् । ‘लोभले पाप, पापले खै के भने जस्तै भयो, बढेको बेला बेचेको भए हुन्थ्यो, अझै बढ्छ भनेर आश गर्दा घाटा बेहोर्नुपर्‍यो’ उनी भन्छिन्, ‘तर मलाई यो एउटा पाठ भयो । त्यसपछि चाहिं एकदमै विचार गरेर मात्रै लगानी गर्छु । नाफा यति भए पुग्छ भन्ने भएपछि बेचिहाल्छु ।’गुल्मीको मदाने गाउँपालिका, सिर्सेनीका पदम रेग्मीलाई ‘निफ्रा’ को आईपीओले शेयर बजारमा प्रवेश गरायो । वैदेशिक रोजगारीमा केही वर्ष विताएर अहिले कपिलवस्तुमा कृषि उद्यममा रमाइरहेका पदमले पनि आईपीओ भर्दा घाटा हुँदैन भन्ने सुनेका थिए ।

निफ्राको आईपीओ त भर्ने सबैलाई पर्छ भन्ने भएपछि त्यो अवसर उनले छाडेनन् । नभन्दै उनलाई आईपीओ पर्‍यो र नाफा पनि कमाए ।

प्राथमिक बजारमा राम्रै नाफा कमाए पनि उनी दोस्रो बजारमा भने प्रवेश गरिसकेका छैनन् । दोस्रो बजारमा जोखिम धेरै हुने भएकोले शेयर किनिनसकेको उनले बताए । तर पनि उनले दोस्रो बजारमा प्रवेश गर्न आवश्यक प्रक्रिया भने पूरा गरिसकेका छन् ।

‘टीएमएस (अनलाइन कारोबार गर्न चाहिने प्रणाली) खोलिसकेको छु, अब कसरी लगानी गरौं भन्ने सोचिरहेको छु’ उनले भने । तर उनी अरू लगानीकर्ताहरू जस्तो पूर्णकालीन रूपमै शेयर बजारमै लाग्ने सोचमा छैनन् ।

उदयपुर बेलका नगरपालिका–९ का विकास श्रेष्ठ ‘शेयर बजारमा रकम डुबाए पनि पाठ सिकें’ भन्ने एक जना व्यवसायी हुन् ।

यातायात क्षेत्रमा कार्यरत श्रेष्ठको कोरोना अघि आम्दानी राम्रो थियो । कोरोनाले यातायात क्षेत्रमा नराम्रो असर पारेपछि उनको आम्दानी गुम्यो ।

झापाका एक व्यापारी साथीको सुझाव अनुसार उनले शेयरमा हात हाले । उनलाई पनि शेयर बजारमा प्रवेश गराउन नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को साधारण शेयर (आईपीओ) को भूमिका छ ।

नेपालको इतिहासमै सबैभन्दा ठूलो आईपीओ थियो, त्यो । आवेदन दिने सबैलाई पर्छ भन्ने जानकारी पाएपछि उनले पनि डिम्याट खाता खोले । सबै प्रक्रिया पुर्‍याएर आईपीओ भरे । ५० कित्ता शेयर हात पारे । प्राथमिक बजारबाट आईपीओ हात पारेपछि उनलाई दोस्रो बजारमा प्रवेश गर्न मन लाग्यो । साथीहरूले राम्रै कमाइरहेको थाहा पाएपछि उनले ब्रोकर कार्यालयमा गएर शेयर कारोबार खाता खोले ।

उनले दोस्रो बजारबाट पहिलो शेयर स्ट्याण्डर्ड चार्टर्ड बैंकको २०० कित्ता खरीद गरे । त्यसपछि ग्लोबल आईएमई बैंकको ५०० कित्ता, सिंगटी हाइड्रको एक हजार गर्दै अन्य कम्पनीहरूको शेयर खरीद गरे । यसपछि क्रमशः नेपाल लाइफ इन्स्योरेन्स, वोमी माइक्रोफाइनान्स, नबिल बैंक, ज्योति लाइफ लगायत कम्पनीहरूको शेयर किने ।

तर उनले शेयर किनेपछि बजार बढेन । कहिलेकाहीं बजार बढे पनि उनले नाफामा शेयर बिक्री गर्न सकेनन् । बजारबारे सूचनाहरू आदानप्रदान हुने सामाजिक सञ्जालका ग्रुपहरूमा पनि उनको उपस्थिति बाक्लियो ।

‘मुक्तिनाथ विकास बैंक १ हजार र गरिमा विकास बैंक ८०० रुपैयाँसम्म पुग्छ भनेर फेसबुकमा देखें, अनि मैले शेयर धितोमा ऋण लिएर ती कम्पनीहरूका शेयर उठाएँ’ श्रेष्ठ भन्छन्, ‘तर त्यो त फेसबुके हल्ला रहेछ, म घाटामा गएँ ।’

जीवनको यो ‘सिकाइ’ ले उनलाई सन्तुष्टि दिएको छ । ‘म अहिले पनि घाटामा छु, तर बजारले मलाई धेरै सिकायो, अरूले कमाएको देखेर हामफाल्नु हुँदैनरहेछ’ विकास भन्छन्, ‘अहिले मलाई डिग्री पास गरे जत्तिकै लागेको छ, कमाउने कुरा पछि कमाइएला ।’

मध्यपुर थिमि नगरपालिकाको नयाँथिमिकी विज्ञा पोखरेल शेयर बजारले आफूलाई पैसा चिन्न र धैर्य गर्न सिकाएको बताउँछिन् । एक वर्ष अघि साधारण शेयर ९आईपीओ० बाट बजार प्रवेश गरेकी उनी गत वर्ष दशैंअघि दोस्रो बजारमा प्रवेश गरेकी थिइन् । अहिले उनी आईपीओ भर्ने मात्रै होइन दोस्रो बजारबाट शेयर किनबेच समेत नियमित जसो गरिरहेकी हुन्छिन् । ‘यति नै कमाएँ भन्ने त हिसाब छैन तर नाफा राम्रै छ’, उनी भन्छिन् ।

शेयर बजार समाजको आधारभूत वर्गसम्म कसरी फैलिंदैछ भन्ने थाहा पाउन पर्साका साधु साह, गोरखाका गोपाल अमगार्इं र काभ्रेका शिवप्रसाद पराजुलीको कथा थाहा पाए पुग्छ ।

पर्सा विन्दवासिनी–३ झौवागुठीका साधु साह गाउँमा खेती–किसानी गर्छन् । मुश्किलले परिवारको गुजारा चलाउने उनी केही वर्ष पहिलेसम्म अटो चलाउने काम पनि गर्थे । अहिले उनको नयाँ काम थपिएको छ ।

उनी भन्छन्, ‘खेतीको काम सधैं हुँदैन, काम नहुँदा खानै पनि समस्या पर्थ्यो। तर अहिले शेयर बजारबाट थोरबहुत कमाउँछु, नूनतेलको लागि पुगेको छ ।’

पूँजी बजारमा कसरी छिरे उनी रु गाउँघरमा शिक्षकहरूले शेयरको गफ गरेको सुनेर उनले पनि चासो राखे । रुचि बढ्दै गएपछि वीरगञ्जमा रहेको ब्रोकर अफिस गएर जानकारी लिए । त्यसपछि आईपीओ भर्न थाले ।

अहिले उनी दोस्रो बजारमा समेत शेयर खरीद गर्न सक्ने भएका छन् । एन्ड्रोइड मोबाइल जोडेका छन् । त्यही मोबाइलबाट शेयर सम्बन्धी जानकारीहरू लिन्छन् । आफू नाफामै रहेको बताए पनि साहले कति नाफा छ भन्ने चाहिं खुलाउन मानेनन् ।

गोरखा नगरपालिका–१० वीरेनचोकका गोपाल अमगाईंको दिनचर्या हिजोभन्दा फेरिएको छ । बिहान उठ्यो, गाईभैंसी दुहुयो, घाँस–खोले दियो । दूध बजारपुर्‍यायो गरेर दिन बित्थ्यो । ‘२०१९ सालमा बुवा गाउँबाट आएर गोरखा बजारमा दूध बिक्री गर्नुहुन्थ्यो, म पनि यहाँ पेशा गरिरहेको छु’ उनी भन्छन्, ‘चार माउ भैंसी र एक माउ गाई पालेको छु ।’एक दिन सहकारी समूहमा कुराकानी हुँदा गोपालकी श्रीमतीलाई कसैले शेयर किन्यो भने नाफा हुने रहेछ भनेर बतायो । यसपछि शेयर के रहेछ भनेर अमगाईं दम्पतीले चासो राखे । विस्तारै उनीहरू आईपीओ भर्न थाले । पहिलो पटक मनकामना स्मार्ट लघुवित्तको आईपीओ भरेका उनीहरूले शेयर चाहिं हात पार्न सकेनन् । त्यसपछि पनि लगातार चार कम्पनीको आईपीओ भरे तर परेन । अहिले उनीहरू दोस्रो बजारमा समेत कारोबार गर्न सक्ने भएका छन् ।

‘भैंसीलाई घाँस काट्नु कि त्यता लाग्नु समय छुट्याउन अलिक गाह्रो परेको छ’ गोपाल भन्छन्, ‘तर आईपीओ खुलेको समाचार थाहा पाउने वित्तिकै कम्पनीको नाम र मिति याद गरिहाल्छु ।’

काभ्रे ज्याम्दीका शिवप्रसाद पराजुली अहिले खेतीकिसानीसँगै शेयर बजारका विषयमा पनि चासो राख्न थालेका छन् । उनी नछुटाइकन आईपीओ भर्छन् । भन्छन्, ‘१० कित्ता परिहाल्यो भने एउटा खसी पाँच महीना पाल्दा हुने जत्तिकै फाइदा हुन्छ ।’पहिले उनको बैंक खाता थिएन । अहिले म, श्रीमती र छोराछोरी चारै जनाको खाता खोलेका छौं ।’ पराजुली परिवारले छिमेकीबाट शेयर भर्न सिकेका हुन् । उनीहरूसँग अहिले ६ वटा कम्पनीको ६० कित्ता शेयर छ ।

ताप्लेजुङदेखि दार्चुलासम्म

झण्डै ४५ वर्षदेखि शेयर बजारमा कारोबार गर्ने डम्मरुवल्लभ घिमिरे अहिले पूँजी बजारमा निकै ठूलो परिवर्तन आएको बताउँछन् । घिमिरेले २०३४ सालदेखि शेयर बजारमा लगानी गर्न थालेका हुन् ।

नेपालकै जेठो बैंक नेपाल बैंकले सर्वसाधारणका लागि शेयर जारी गर्दा घिमिरेले १० कित्ताका लागि आवेदन दिएका थिए । जति चाहे पनि आवेदन दिएर किन्न सकिन्थ्यो । ‘आईपीओ भर्ने मान्छे नै धेरै हुँदैनथे, जति भर्‍यो, त्यति नै पाइन्थ्यो’ उनी भन्छन्, ‘तर चाहेर पनि धेरै भर्न सकिंदैनथ्यो । १० कित्ताका लागि पैसा जुटाउन नै धौ–धौ पर्थ्यो ।’

तर अहिले कुनै कम्पनीले साधारण शेयर ९आईपीओ० निष्कासन शुरू गर्‍यो भने लाखौंले एकैपटक आवेदन दिन्छन् । आवेदन दिएका मध्ये धेरैले पाउँदैनन् । थोरैले १० कित्तामा चित्त बुझाउनुपर्छ ।

अहिले बजारमा थरीथरीका लगानीकर्ता छन् । ठूला व्यावसायिक प्रतिष्ठानका सञ्चालक मात्रै होइन, गाउँमा खेतबारीमा काम गर्नेहरू पनि पूँजी बजारमा प्रवेश गरेका छन् । स्टक ब्रोकर एशोसिएसन नेपालका पूर्व अध्यक्ष भरत रानाभाट ताप्लेजुङदेखि दार्चुलासम्मका नागरिक पूँजी बजारमा आएको बताउँछन् ।

पछिल्लो समय अनलाइनबाटै कारोबार हुने भएकाले शेयर किनबेचका लागि ब्रोकर कार्यालयसम्म पनि धाउनुपर्दैन । यसले पाँचथरको खालेलुङ गाउँपालिकाका बासिन्दा हुन् वा दार्चुलाको दुहु गाउँपालिकाका बासिन्दास अहिले मोबाइल फोन चल्ने ठाउँमा शेयर बजारको पहुँच पुगेको रानाभाटले बताए ।

प्रविधिको कारणले अहिले काठमाडौंमा बस्ने लगानीकर्ता र दुर्गम गाउँका लगानीकर्तामा खासै भिन्नता नरहेको उनले बताए । शेयर बजार सम्बन्धी ज्ञान दिने भिडियो, अडियो या पढ्ने सामग्री अहिले इन्टरनेटमै आउँछन् । यसले पनि बजार र कम्पनीबारे बुझेर लगानी गर्न सहज बनेको रानाभाटको भनाइ छ ।

अहिले शेयर कारोबार गर्ने ब्रोकर कम्पनीहरू ५० वटा छन् भने देशका मुख्य शहरहरूमा तिनका शाखा कार्यालय छन् । यसअघि अनलाइन सुविधा थिएन । ब्रोकर कम्पनीका कार्यालय र शाखा कार्यालयसम्म लगानीकर्ता पुग्नुपर्ने बाध्यता थियो ।‘अहिले बुलिस ट्रेण्ड देखिएको छ । बजारमा बुलिस आउँदा लगानीकर्ता आकर्षित हुन्छन्’ रानाभाट भन्छन्, ‘जहाँ बसेर पनि कारोबार गर्न सकिने भएपछि त विकट वा सुगमको कुरै आउँदैन नि १’

रानाभाटका भनाइमा, तर शेयर कारोबार गर्नका लागि टीएमएस लिंदा भर्नुपर्ने फारम भने ध्यानपूर्वक भर्नुपर्छ । बैंक खाता, डिम्याट खाता र कारोबार गर्नका लागि खोलिने खाता सबैमा सही सूचना भर्नुपर्ने हुन्छ । नत्र दुःख पाइन्छ । अहिले कत्तिले दुःख पनि पाएका छन् ।

शेयर बजारको सम्पूर्ण लेखाजोखा राख्ने सरकारी निकाय ‘सीडीएस एण्ड क्लियरिङ लिमिटेड’ का अनुसार सबैभन्दा धेरै लगानीकर्ता वागमती प्रदेशमा छन् । वागमती प्रदेशमा मात्रै करीब १६ लाख डिम्याट खाता सञ्चालनमा छन् । दोस्रोमा धेरै प्रदेश–१ मा करीब ७ लाख र तेस्रोमा गण्डकीमा ५ लाखभन्दा धेरै डिम्याट खाता खुलेका छन् ।

प्रदेश–२ मा यो संख्या ३ लाख ३५ हजार, लुम्बिनीमा करीब ४ लाख र सुदूरपश्चिममा १ लाख ८८ हजार छ । सबैभन्दा कम डिम्याट खाता कर्णालीमा छन् । यहाँ यो संख्या करीब ७० हजार छ ।

गृहिणीको चासो उत्तिकै छ

अहिले पूँजी बजारमा गृहिणीहरूको आकर्षण छ । पछिल्लो समय यो संख्या बढ्दो क्रममा छ । अहिले बजारमा २१ लाख ६७ हजार २६५ जना पुरुष र १५ लाख ६२ हजार १९९ महिला डिम्याट प्रयोगकर्ता छन् । अन्य ९कर्पोरेट० डिम्याट प्रयोगकर्ता ५ हजार ३५९ छन् ।

कारोबारमा मात्रै होइन, समग्र पूँजी बजारको विकास अभियानमा पनि महिलाहरू कस्सिएका छन् । शेयर लगानीकर्ताहरूका दुई संघको नेतृत्वमा महिला नै छन् । नेपाल पूँजी बजार लगानीकर्ता संघको अध्यक्ष राधा पोखरेल छिन् भने पूँजी बजार संघको अध्यक्षमा संरक्षणा चौधरी छिन् । पछिल्लो समय महिला, त्यसमा पनि गृहिणीको पूँजी बजारमा निकै आकर्षण बढेको लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् ।

‘हामी संगठन विस्तारका क्रममा उपत्यका बाहिर धेरै ठाउँ गएका छौं । गृहिणी महिलाको चासो निकै छ’ उनले भनिन्, ‘अस्ति सामाखुसीकी एक जना दिदीले फोन गरेर हामी छरछिमेकी २०–२५ जना महिला जम्मा हुन्छौं, कसरी लगानी गर्ने सिकाइदिनुपर्‍यो भनेर फोन गर्नुभएको थियो ।’

स्नातक अध्ययन गर्दै गरेकी वाग्लुङकी पुष्पा विश्वकर्मा एउटा उदाहरण हुन् । पुष्पाले पहिलो पटक निफ्राको साधारण शेयर (आईपीओ) का लागि आवेदन दिएकी थिइन् । साथी र आफन्तले समेत निफ्राको आईपीओ भर्दा सबैलाई पर्छ र फाइदा हुन्छ भने । यसरी निफ्राको ५० कित्ता शेयरसँगै उनी पूँजी बजारमा आइन् ।
बजार प्रवेश उनका लागि सुखद शुरुआत पनि भयो । किनकि ५ हजार रुपैयाँमा ५० कित्ता परेको आईपीओ तुरुन्तै बढेर ३० हजार रुपैयाँ हाराहारी पुग्यो । त्यसपछि उनले आधा दर्जन बढी कम्पनीको आईपीओ भरिसकेकी छिन् ।

आवेदन दिनेहरूको संख्या धेरै भएकाले अहिले सबैलाई आईपीओ पर्दैन । अहिलेसम्म निफ्रा, ग्रीन लाइफ इन्स्योरेन्स र अर्को एक लघुवित्त वित्तीय संस्थाको समेत गरेर उनले तीन कम्पनीको शेयर हात पारेकी छिन् ।

‘अहिले म आईपीओ खुलेका सबै कम्पनीमा आवेदन दिन्छु, तर सबैको नपर्ने रहेछ’ पुष्पाले भनिन्, ‘अब सेकेण्डरीमा पनि थोरै थोरै लगानी गर्ने सोचमा छु ।’ उनले दोस्रो बजारमा अनलाइनबाटै कारोबार गर्न अनलाइन कारोबार प्रणाली (टीएमएस) समेत लिइसकेकी छिन् ।

सर्वसाधारणमा वित्तीय चेतना बढाउन केन्द्रीय बैंकले ‘एक व्यक्ति एक बैंक खाता’ भन्ने अभियान पनि चलाएकै छ । तर, यस्ता अभियानले भन्दा बैंकसम्म नागरिकलाई जोड्न शेयर बजार धेरै प्रभावकारी देखिएको छ ।

शेयर बजारमा १५ वर्षदेखि सक्रिय झापाकी पूजा भट्टराई बुझेर लगानी गर्ने हो भने महिलाले श्रीमान् वा घरका अन्य सदस्यको मुख ताक्नुपर्ने बाध्यता हट्ने बताउँछिन् ।

बजारमा बुझेर लगानी गर्ने हो भने दैनिक गुजारा मात्रै नभएर राम्रै कमाइ गर्न सकिने उनी बताउँछिन् । ‘राम्रो नाफा कमाउने कम्पनीहरूले आकर्षक लाभांश दिन्छन् । त्यस्ता कम्पनीहरू रोजेर किन्नुपर्छ । किन्ने र बेच्ने समय भने आफैंले थाहा पाउनुपर्छ । अनि कसैले कमायो भनेर हौसिएर बजारमा प्रवेश गर्नै हुँदैन’, पूजाले भनिन् ।

‘बैंक नदेखेकाहरू मौद्रिक नीतिमा चासो राख्छन्’

तीन वर्षअघिसम्म नेपालको ४० प्रतिशत जनसंख्या मात्रै वित्तीय पहुँचमा थियो । अहिले यो संख्या बढेर ६५ प्रतिशत नाघेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

शेयर बजारमा प्रवेश गर्न पहिले बैंक खाता, त्यसपछि डिम्याट खाता अनिवार्य छ । यसर्थ शेयर बजारका कारण वित्तीय साक्षरता अभिवृद्धिमा सहयोग पुगेको राष्ट्र बैंकका अधिकारीहरू स्वीकार गर्छन् ।

राष्ट्र बैंकको प्रवक्ता समेत रहेका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल शेयर बजारका कारण वित्तीय चेतनामा उल्लेख्य वृद्धि भएको बताउँछन् । सरकारले सामाजिक सुरक्षा भत्ता पनि बैंक खाताबाटै भुक्तानी हुने व्यवस्था गरेको छ ।

सर्वसाधारणमा वित्तीय चेतना बढाउन केन्द्रीय बैंकले ‘एक व्यक्ति एक बैंक खाता’ भन्ने अभियान पनि चलाएकै छ । तर, यस्ता अभियानले भन्दा बैंकसम्म नागरिकलाई जोड्न शेयर बजार धेरै प्रभावकारी देखिएको छ । प्रवक्ता ढकालका अनुसार, अहिले राष्ट्र बैंकले वित्तीय पहुँचको विषयमा अध्ययन गरिरहेको छ र चाँडै रिपोर्ट सार्वजनिक गर्नेछ ।

स्टक ब्रोकर एशोसिएसनका निवर्तमान अध्यक्ष रानाभाट शेयर बजारले सर्वसाधारणलाई पैसाको महत्व बुझाएको बताउँछन् । शेयर बजारकै कारण अहिले बैंकिङ क्षेत्रलाई पनि सपोर्ट मिलेको उनको भनाइ छ ।

‘शेयर बजारमा प्रवेश गर्नैपर्छ, यो राम्रो क्षेत्र हो भन्ने चेतना गाउँगाउँमा पुगेको छ’ उनले भने, ‘पहिले जग्गा जोड्नुपर्छ भन्नेहरू अहिले शेयर किन्नुपर्छ भन्न थालेका छन् ।’ शेयर बजार बैंकिङ प्रणालीबाट मात्रै कारोबार हुने भएकाले पनि यसले वित्तीय चेतनाका लागि निकै ठूलो योगदान दिएको रानाभाटको भनाइ छ ।पछिल्लो समय धेरै जलविद्युत् आयोजनाहरू सञ्चालनमा छन् । ती आयोजनाहरूले आयोजना प्रभावित स्थानीय क्षेत्रमा शेयर जारी गर्नैपर्ने हुन्छ । शेयर कारोबारका लागि बैंक खाता अनिवार्य भएका कारण गाउँ–गाउँमा वित्तीय साक्षरता बढाउन यसको भूमिका अहम् भएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पूर्णप्रसाद आचार्य बताउँछन् ।

मुलुकले निर्माण गर्ने नीतिले पूँजी बजारमा ठूलो असर गर्छ । त्यसैले अहिले अर्थतन्त्र सम्बन्धी नीतिहरूका विषयमा लगानीकर्ता निकै चासो दिन्छन् । सीईओ आचार्य भन्छन्, ‘बजारले यति धेरै साक्षर बनाएको छ कि अहिले सामान्य लेखपढ गर्न जानेर शेयर बजारमा लागेको मान्छेले पनि अर्थतन्त्रका विषयमा चासो राख्छन् ।’

अहिले सरकारले ल्याउने बजेट, केन्द्रीय बैंकले ल्याउने मौद्रिक नीतिका विषयमा लगानीकर्ताले चासो दिइराखेका हुन्छन् । शेयर लगानीकर्ता विकास श्रेष्ठ भन्छन्, ‘अब कस्तो मौद्रिक नीति आउला भन्ने मलाई पनि चासो छ, जबकि शेयर बजारमा लाग्नुअघि मौद्रिक नीति भनेको कुन चराको नाम हो मलाई थाहै थिएन ।’

अहिले मुलुकको कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० जत्तिकै शेयर बजारको पूँजीकरण हुन पुगेको छ । अहिले मुलुकको जीडीपी ४३ खर्ब हाराहारीमा रहेको छ भने शेयर बजारमा विकास श्रेष्ठ जस्ता व्यक्ति र संस्थागत लगानीकर्ताको गरेर कुल पूँजी ४३ खर्ब हाराहारीमै छ ।

नेपाल स्टक एक्सचेञ्जले दिएको जानकारी अनुसार १८ साउनसम्म नेपाली पूँजी बजारमा लगानीकर्ताको पूँजीकरण ४२ खर्ब ९८ अर्ब ११ करोड ७१ लाख ८० हजार रुपैयाँ छ । पछिल्लो एक वर्षमा नै लगानीकर्ताको पूँजी २१ खर्ब रुपैयाँले वृद्धि भएको छ ।

‘समाजमा देख्न सकिने परिवर्तन’

समाजशास्त्री दीपेश घिमिरे समाजलाई नयाँ चरणमा प्रवेश गराउन शेयर बजारको समेत भूमिका देखिएको बताउँछन् । पूँजी बजारको विकाससँगै यो क्षेत्रमा गृहिणी महिलाको पनि प्रवेश बढेको छ । यसले एउटा परिवर्तन नै ल्याएको उनले बताए ।

त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक समेत रहेका घिमिरेका अनुसार, शेयर बजारले यसमा लागेका महिलाको वित्तीय चेतना बढाउनेदेखि श्रीमान्सँग सधैं आश्रित हुनुपर्ने बाध्यता समेत हटाएको छ । यसले नेपाली समाजमा लैंगिक समानता र महिलाको आत्मविश्वास बढाउन समेत योगदान गरेको छ ।

‘शुरू–शुरूमा शेयर बजारमा लगानी गर्ने भनेको एलिट वर्गले मात्रै हो, माथिल्लो क्लासकोले मात्रै शेयर कारोबार गर्ने हो भन्ने एक किसिमको बुझाइ थियो’ उनी भन्छन्, ‘यो धनीहरूको चासोको विषय हो भन्ने थियो । तर २०६३र६४ पछि जब काठमाडौंबाट शेयर बाहिर निस्कियो, धेरै नागरिकको पहुँचमा पुग्यो ।’

घिमिरेका भनाइमा, जब अनलाइन कारोबार शुरू भयो त्यसपछि महिलाहरूको सहभागिता बढ्यो । भर्खरै ‘करिअर’ शुरू गरेका मात्रै होइन गृहिणीहरूको पनि प्रवेश त्यसपछि भयो । फुर्सदको समयमा शेयर बजारमा चासो राख्दा गृहिणी महिलाको आम्दानी मात्रै सुधार नभएर उनीहरूले शिक्षा समेत प्राप्त गरे ।

‘हाम्रा धेरै दिदीबहिनी, आमा–भाउजूहरू जो घरैमा काम गर्नुहुन्थ्यो, बस्नुहुन्थ्योस उहाँहरूलाई बच्चा स्कूल पुर्‍याउने अनि शेयर बजारमा ध्यान दिने र साँझ पुनः बच्चा लिन स्कूल जान सजिलो भयो’ उनी भन्छन्, ‘डिम्याट खाताको तथ्यांक र कारोबारको अवस्थाले पनि पुष्टि हुन्छ कि शेयर बजारमा प्रवेशसँगै महिलामा आफैंले निर्णय गर्न सक्ने ‘सेल्फ कन्फिडेन्स’ बढेको छ ।’ यसले नेपाली समाजलाई एउटा नयाँ चरणमा रूपान्तरण गरेको घिमिरेको भनाइ छ ।

‘जोखिम पनि उत्तिकै’

शेयर बजारका चर्चित लगानीकर्ता तथा नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमका सभापति अम्बिका पौडेल पनि कुनै बेला सरकारी अधिकृतको जागिर छाडेर शेयर बजारमा लागेका थिए । महालेखा नियन्त्रकको कार्यालयमा लेखा अधिकृतमा पहिलो पोष्टिङ पाएका पौडेल पेन्सन नहुँदै २०६५ सालमा सरकारी सेवाबाट बाहिरिए । अहिले उनी पूर्णकालीन शेयर लगानीकर्ता हुन् ।

पौडेलका भनाइमा, ‘बजारको विकाससँगै धेरै लगानीकर्ता प्रवेश गरेका छन् । अहिले बजारमा लगानी गर्न सहज छ । तर यो सहजतासँगै जोखिम पनि उत्तिकै छ ।’ उनी भन्छन्, पूँजी बजारमा ठूलो आकर्षण छ यो राम्रो पक्ष हो तर यहाँ जोखिमबारे राम्ररी थाहा पाउनुपर्छ, अनि मात्रै लगानी गर्नुपर्छ ।’(अनलाइन खबर)

 

Translate »