‘उज्यालो वीरेन्द्रनगर’ अभियान : १२ वटा हाईमास टावर लाईट जडान

स्काई न्यूज /साउन २७, सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिकामा ‘उज्यालो वीरेन्द्रनगर’ अभियान अन्तर्गत १२ वटा आधुनिक हाईमास टावर लाइट जडान गरिएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नगरपालिकका र प्रदेश सरकारको संयुक्त लगानीमा हाईमास टावर लाईट जडान गरिएको हो । एक करोड २० लाख रुपैयाँको लागतमा ती १२ वटा हाईमास टावर लाईट पहिलो चरणमा जडान गरिएको वीरेन्द्रनगर नगरपालिकाले बताएको छ । नगरपालिका उपप्रमुख मोहनमाया ढकालले अबको एक साताभित्रै विद्युत लाईन जोडेर रात्रीकालिन बत्ती सञ्चालनमा ल्याउने तयारी भईरहेको बताईन् । उनले नगरको शहरी तथा ग्रामिण भेगलाई समेत उज्यालो बनाउने उद्देश्यका साथ चालु आर्थिक वर्षदेखि ‘उज्यालो वीरेन्द्रनगर’ अभियानलाई तीव्रता दिईएको जानकारी दिईन् । उनका अनुसार पहिलो चरणमा धुलियाविट चोक, देउती बज्यै पिपिरा चोक, महिला प्रशिक्षण केन्द्र नजिक दैलेख–सुर्खेत रोडको जीरोप्वाईन्ट चोक, बसपार्क, मंगलगढी चोक, ऐरीचोक, गणेश चोक, वीरेन्द्रचोक, बाङ्गेसीमल, कटकुवा हस्पिटलचोक, कालुङ्गचोक र कपासे नजिक दैलेख–सुर्खेत रोडको इत्राममा हाईमास टावर लाइट जडान गरिएका छन् । ‘वीरेन्द्रनगर उज्यालो अभियान अन्तर्गत पहिलो चरणमा बजार क्षेत्रबाट रात्रीकालिन बत्ती बाल्न शुरु गर्न लागेका छौं,’ उनले भनिन्, ‘शहरलाई उज्यालो बनाउँदै गाउँसम्म झिलिमिलि बनाउने प्रयास निरन्तर जारी रहन्छ ।’ उनले अबको दुई वर्षभित्र वीरेन्द्रनगरभित्र समय अनुसार स्वचालित टावर तथा रोड लाईट जडान गरि उज्यालो वीरेन्द्रनगर बनाउने लक्ष्य रहेको बताईन् । उनका अनुसार बजार क्षेत्रमै यसअघि १० लाख लगानीका चार वटा सोलार लाइट समेत जडान गरिएका छन् । ‘नगरपालिकाले एक करोड बजेटबाट वीरेन्द्रनगरमा १ सय १२ वटा सीसीटीभी क्यामेरा समेत जडान गरिसकेको छ,’ उनले भनिन्, ‘रात्रीकालिन बत्ती जडानसँगै सीसीटीभी क्यामेराको सहयोगबाट शान्ति सुरक्षा नियन्त्रण एवं ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिएका छौं ।’ उनले जिल्ला प्रहरी कार्यालय मार्फत सीसीटीभी क्यामेराबाट बजार क्षेत्रमा निगरानी राख्ने गरिएको जनाईन् । उनका अनुसार नगरपालिकाले संघ, प्रदेश र आन्तरिक आम्दानीबाट नगरभित्र स्वास्थ्य, शिक्षासँगै सडकलगायत भौतिक पूर्वाधार विकासका कामलाई तीव्रता दिईरहेको छ । तर संघीयता आउनु पूर्व नै जडान गरिएका पुराना सडक बत्ती (भेपर लाइट) को नियमित मर्मत संभार समेत गर्न नसकेको नगरपालिकाले खर्चिलो ‘टावर लाइट’ लगाएको भन्दै कतिपयले यसको आलोचना समेत गरिरहेका छन् ।

के हो त हाईमास लाइट अर्थात टावर लाइट ?
अंग्रेजी नामलाई नेपालीमा अथ्र्याउँदा अग्लो र धेरै क्षेत्र समेटने लाइट नै टावर लाइट भनेर सहजै बुझ्न सकिन्छ । वीरेन्द्रनगरमा टावर लाइटका लागि १६ मिटर उँचाईका अण्डर ग्राउण्ड विद्युत लाईन प्रयोग गरिएको छ । १६ मिटरको पोलमा ८ वटा ४ सय वाटका एलईडी लाइट जडान गरिएका छन् । एक करोड २० लाखको टेण्डरमा घटेर काठमाडौंको डाईभ ईलेक्टोनिक्सले ९ वटा हाईमास टावर लाइट जडान गरेको छ । थप पुनः बचेको रकमले टेण्डरबाटै आईड्रिम सोलुशनले ३ वटा हाईमास टावर लाईट जडान गरेको हो । दश वर्षे ग्यारेन्टी वाला एलईडी बल्ब टावर लाइटमा जडान गरिएको नगरपालिकाका इन्जिनियर विशााल अधिकारीले बताए । ‘हाइट अनुसार लाइट जडान गर्ने हो । खुल्ला ठाउँमा १ किलोमिटर र अन्य ठाउँमा कम्तीमा ३/४ सय मिटरसम्म उज्यालो दिन्छ । इन्जिनियर अधिकारीले भने, ‘बत्ती अटोमेटिक बल्ने र निभ्ने गर्छ ।’ उनले भेपर लाइटबाट निस्कने पहेंलो किरणबाट मानिसको छालामा कुनै प्रकार असर नपर्ने दाबी गरे ।

Translate »