भारतमा २४ घण्टामा ३८ हजारभन्दा बढी संक्रमित थप

साउन २७, नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप ३८ हजार ३५३ जना संक्रमित भएको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार अहिले भारतमा संक्रमित अवस्थामै रहेकाको संख्या ३ लाख ८६ हजार ३५१ रहेको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार सक्रिय संक्रमितको यो संख्या १४० दिनयताकै सबभन्दा कम हो ।

थपिएका संक्रमितको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या बढी भएकाले सक्रिय संक्रमितको संख्या घटेको हो । पछिल्लो एक दिनमा संक्रमणमुक्त भएकाको संख्या ४० हजार १३ रहेको छ । योसँगै भारतमा अहिलेसम्म ३ करोड १२ लाख २० हजार ९८१ जना कोरोनाभाइरसबाट संंक्रमणमुक्त भएका छन् । कुल संक्रमितमध्ये अहिलेसम्म संक्रमणमुक्त भएकाको संख्या ९७ दशमलव ४५ प्रतिशत हो ।

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ३ करोड २० लाख ३६ हजार ५११ पुगेको सरकारी अधिकारीले बुधवार जानकारी दिएका छन् । भारतमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ४९७ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको संख्या ४ लाख २९ हजार १७९ पुगेको छ ।

भारतमा कोरोना शुरु भएबाट हालसम्म ४८ करोड ५० लाख ५६ हजार ५०७ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको छ । मंगलबार एकै दिनमा १७ लाख ७७ हजार ९६२ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको थियो ।

भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप शुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोना भाइरसविरुद्धको ५१ करोड ९० लाख डोज खोप लगाइएको छ । रासस/ एएनआई

Translate »