मध्यपश्चिम विश्वविद्यालय : उपकुलपतिको गाडी तोडफोडपछि विद्यार्थीमाथि कुटपिट

स्काई न्यूज /साउन २६, सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह माथि आक्रमण भएपछि आन्दोलनरत विद्यार्थीलाई कुटपिट गरिएको छ । उपकुलपति चढेको गाडी तोडफोड गर्न थालेपछि नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्दा केही आन्दोलनरत विद्यार्थीमाथि कुटपिट भएको हो । विश्वविद्यालयका समस्या समाधानका लागि छलफल भइरहँदा केही व्यक्तिहरुले आफूमाथि भौतिक आक्रमण गरेको उपकुलपति सिंहले जनाए । उनले मुसुमको कार्यालयमा विश्वविद्यालयको समस्या समाधान गर्न बोलाइएको सर्वपक्षीय बैठकमा सहभागी हुन गईरहेका बेला आफुमाथि आक्रमण भएको बताए । यसअघि विभिन्न माग राख्दै रिले अनसन बसिरहेका विद्यार्थीहरुले मंगलबारदेखि विश्वविद्यालयका गाडीहरु चल्न नदिने घोषणा गरेका थिए । केन्द्रीय भवनबाट उपकुलपति सिंह विश्वविद्यालयको गाडी चढेर मुसुम पुगेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको हो । झडपमा रोशन बस्नेत, राज पौडेल, भूपेन्द्र बम, सन्देश थापा, गोविन्द सिंजापति, रोशन मिश्र, तेजबहादुर बम, झक्कु शाहीलगायत घाइते भएका छन् । उपकुलपतिमाथि आक्रमण भएपछि प्रहरीले लाठीचार्ज गरेको थियो । प्रहरीले आठ जना विद्यार्थीलाई समेत पक्राउ गरेको छ । प्रहरीसँगको झडपमा घाइते भएका मध्ये चार जना विद्यार्थीलाई कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको छ । मुसुममा झडप भएपछि विद्यार्थीहरुले उपकुलपतिको निवास घेराउ गरेका थिए । लगत्तै उपकुलपति  सिंहको संरक्षणमा आफूहरुमाथि कुटपिट भएको आरोप विद्यार्थीहरुले लगाएका छन् । उपकुलपति सिंहको निवासमा रहेका केही व्यक्तिहरुले आन्दोलनकारी विद्यार्थीमाथि आक्रमण गरेको उनीहरुको भनाइ छ । विश्वविद्यालयको घटनाबारे प्रहरीसँग थप बुझ्न खोज्दा मोवाईल सेल फोन उठेन । विश्वविद्यालयमा सत्तारुढ गठबन्धनका विद्यार्थी संघ संगठनसँगै प्राध्यापक संगठनहरु समेत अनलाइन परीक्षा हुनुपर्ने लगायतका माग राख्दै आन्दोलनरत छन् ।

Translate »