टिकटक बन्यो २०२० मा सर्वाधिक डाउनलोड हुने एप

साउन २६, पेचिङ (चीन) । गतवर्ष विश्वभर सर्वाधिक डाउनलोड हुने मोबाइल एपमा चिनियाँ शर्ट भिडियो शेयरिङ एप टिकटक रहेको छ । एप विश्लेषक कम्पनी एप एनीले सार्वजनिक गरेको मोबाइल एप ट्रेन्ड २०२० शीर्षकको प्रतिवेदनले यस्तो देखाएको हो ।

गत वर्ष पहिलो पटक टिकटकले फेसबुकलाई उछिनेर सूचीको शीर्ष स्थानमा उक्लिएको छ । सन् २०१९ मा सर्वाधिक डाउनलोड हुने एपहरूको सूचीमा टिकटक चौथो स्थानमा थियो ।

सूचीको शीर्ष पाँच स्थानमध्ये बाँकी रहेको चार स्थानमा फेसबुकको स्वामित्वमा रहेका एपहरु छन् । अर्थात् शीर्ष पाँचमा टिकटक मात्रै फेसबुकको स्वामित्वमा नरहेको एप हो । सन् २०१८ मा यो सर्वेक्षण शुरु भएयता शीर्ष स्थानमा फेसबुकको स्वामित्वका एपहरुको वचश्र्व रहँदै आएको छ । सूचीमा अझै पनि फेसबुककै एपहरुको प्रभुत्व छ ।

फेसबुक, ह्वाट्स एप, इन्ष्टाग्राम र फेसबुक म्यासेञ्जर शीर्ष पाँचमा छन् । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले यसमाथि अमेरिकामा प्रतिबन्ध लगाउन खोजेको भएपनि विश्वभर यसको लोकप्रियता निरन्तर चुलिरहेको छ ।

ट्रम्पले गत वर्ष अमेरिकामा टिकटक एपको नयाँ डाउनलोडमा प्रतिबन्ध लगाउन कार्यकारी आदेश जारी गरेका थिए । एपले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने दाबी ट्रम्प प्रशासनको थियो । कम्पनीले भने बारम्बार यो आरोपको खण्डन गर्दै आएको थियो । (एजेन्सी)

Translate »