एकैदिन करीब ५ हजार जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

साउन २६, काठमाडौं । मंगलवार पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २१७ नमूना पिसिआर परीक्षण गर्दा ३ हजार १९४ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ५ हजार ९०६ मा परीक्षण गर्दा १ हजार ७१० जना गरी कुल ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कुल १९ हजार १२३ जनाको नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ पुगेको छ ।

त्यस्तै सोही अवधिमा देशभर ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार मंगलवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ३५ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ ।

यसैगरी, मंगलवार २ हजार ११५ जना निको भएसँगै हालसम्म ६ लाख ७३ हजार १९८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Translate »