भालु र बाघको आक्रमणबाट दुई जना घाइते

साउन २६,अछाम । अछाममा भालु र बाघको आक्रमणबाट २ जना घाइते भएका छन् । जिल्लाको मङ्गलसेन र कमलबजारमा भएका छुट्टाछुट्टै घटनामा २ जना घाइते भएका हुन् ।

जिल्लाको मङ्गलसेन नगरपालिका वडानं १ भट्टेमा भालुको आक्रमण बाट ५६ वर्षीय रतने राना घाइते भएका हुन् । घर नजिकै बारीमा घाँस काट्ने क्रममा ५६ वर्षीय रानालाई सोमबार भालुले आक्रमण गरेको वडा सदस्य पूर्ण बहादुर रानाले जानकारी दिए।

घाइते रानाको हात , खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ, भने उहाँको जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भैरहेको छ । यस्तै जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ७ सेराको झालतडीमा बाघको आक्रमणबाट करिब ४५ वर्षीय लवराज अधिकारी घाइते भएका छन् ।

आक्रमणबाट अधिकारीको पाखुरामा गहिरो चोट लागेको स्थानीयले बताएका छन् । हिजो मकैबारीमा आएको बँदेल धपाउन जाने क्रममा बाघले आक्रमण गरेको थियो ।

उनको कमलबजार स्वास्थ्य चौकीमा सामान्य उपचार गरेपछि अहिले जिल्ला अस्पताल मङ्गलसेनमा उपचार भैरहेको उनका दाजु पदमराज अधिकारीले बताए ।

अछामका अधिकांश लेकाली भेगहरूमा बँदेल, भालु दुम्सी, स्याल लगायत जङ्गली जनावरहरूले बर्षेबाली नष्ट गर्दै आएको हुँदा किसानहरू सास्ती खेप्दै आएका छन् । (रेडियो नपाल)

Translate »