सशस्त्र प्रहरी दम्पत्तीको कथा : जवानबाट सेवा प्रवेश, असई हुँदा संगठनमै सर्वोत्कृष्ट

जनक विष्ट /२५ साउन, धनगढी । श्रीमान् श्रीमती दुवै जना सशस्त्र प्रहरी । जवानबाट सेवा प्रवेश गरेको दुवैको पृष्ठभूमि । संगठनमा काम गर्ने दौरानमा प्रहरी सहायक निरीक्षक (असई)को तयारी पनि सँगसँगै अगाडि बढाए, अनि संघर्ष र लगनशीलताले संगठनभित्रै सर्वोत्कृष्ट बन्न सफल भए दुवै जना ।

यो कथा हो, कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का मनोज बोगटी र उनकी श्रीमती चन्द्रा ओलीको ।

बोगटीलाई सानै उमेरदेखि प्रहरी बनेर देशको सेवा गर्ने हुटहुटी थियो । स्कुल पढ्ने बेलादेखि नै उनी प्रहरी संगठनको बारेमा चासो राख्थे । प्रहरी बन्ने ठूलो धोको थियो । २०६६ साल फागुनतिरको कुरा थियो, अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्नातक तहको अध्ययन गर्दै गर्दा बोगटीले साथीहरु मार्फत सशस्त्र प्रहरीमा भर्ना खुलेको थाहा पाए । प्रहरी बन्ने इच्छा पूरा गर्ने त्यो अवसर गुमाउनु हुँदैन भन्ने उनलाई लाग्यो र आवेदन फारम भरे ।

बोगटी सशस्त्र प्रहरी जवानको लिखित र मौखिक परीक्षामा सफल हुँदै आधारभूत तालिम सकेर सेवामा प्रवेश गरे । बच्चैदेखिको प्रहरी बन्ने धोको पूरा गरेका बोगटीले सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) को तयारी पनि गरिरहे । लोकसेवाको तयारीसँगै डिउटी पनि गर्नुपर्ने कुरा सजिलो भने थिएन । तैपनि उनले कहिल्यै हार खाएनन् । निरन्तर आफ्नो कर्मलाई अघि बढाइरहे ।

२०७६ सालमा बोगटी प्रहरी सहायक निरीक्षक (असई) को परीक्षामा सफल भए । आधारभूत तालिममा बोगटीले ३४ जनालाई पछि पार्दै पहिलो स्थान हासिल गरे । सशस्त्र प्रहरी संगठनभित्र उनी सर्वोत्कृष्ट अधिकृतका रुपमा चिनिए भने त्यतिबेला सम्मान समेत पाएका थिए ।  बोगटीका लागि त्यो नै सबैभन्दा ठूलो खुशी थियो ।

२०७५ साल फागुन महिनातिर मनोज बोगटी तालिमको सिलसिलामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी काठमाडौंमा थिए । सोही बाहिनीमा सुर्खेतकी चन्द्रा ओलीसँग उनको भेट भयो । उनी त्यहाँ प्रहरी जवानको रुपमा कार्यरत थिइन् । सोही क्रममा उनीहरुबीच परिचय हुन पुग्यो । कुराकानी गर्दै जाँदा दुवै जना नजिक भए । सोही क्रममा एकअर्काबीच प्रेम बस्यो । त्यसपछि आपसी समझदारीमै दुवै जनाले विवाह गर्ने निधो गरे ।

प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेपछि चन्द्रा पनि मनोजकै बाटो पछ्याउन थालिन् । बुवा रामबहादुर ओली पेशाले शिक्षक थिए । बुवाको सपना छोरी प्रहरी अफिसर भएको हेर्ने थियो । २०६९ साल चैतमा उनी सशस्त्र प्रहरी जवानबाट सेवा प्रवेश गरेकी थिइन् । जवानभन्दा माथिल्लो तहको अधिकृत बन्ने रहर पनि नभएको होइन । जब बोगटीसँग प्रेमसम्बन्ध हुँदै विवाह नै भयो । त्यसपछि त्यो लक्ष्य भेटाउन ढाडस दिने व्यक्तिका रुपमा पनि उनी उभिए ।

श्रीमतीलाई सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)मा सफल कसरी भइयो भन्ने आफ्नो अनुभव शेयर गर्ने, नोटबुकहरु दिने लगायतका काममा मनोजले सघाउँदै गए । चन्द्राले पनि निरन्तरको संघर्षलाई जारी राखिन् । नभन्दै उनी पनि २०७७ भदौमा असईको परीक्षामा सफल भइन् । त्यति मात्र होइन आधारभूत तालिममा आफ्ना श्रीमानको जस्तै उनी उत्कृष्ट बनिन् । आफूसँगै तालिम गर्ने ६० जनालाई पछि पार्दै उनले पहिलो स्थान हासिल गरिन् ।

आधारभूत तालिममा उनीसँगै महिला मात्र नभएर पुरुष प्रहरी सहायक निरीक्षक पनि सहभागी थिए । तर उनको संघर्षका सामु लैङ्गिक कुराले खासै फरक पारेन । महिला भएर पनि आधारभूत तालिममा उत्कृष्ट बन्न पाउँदा चन्द्रा प्रफुल्लित भएकी छन् । भन्छिन्, ‘सशस्त्र प्रहरीको संगठनमा लेडिज अधिकृत सर्वोत्कृष्ट भएको उदाहरण बन्न पाउँदा खुशी लागेको छ ।’

चन्द्रालाई सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री बालकृष्ण खाँणले सर्वोत्कृष्ट अधिकृतका रुपमा सम्मान समेत गरेका छन् । उनले चन्द्रालाई सम्मानस्वरुप खुकुरी प्रदान गरे । अब श्रीमानले जस्तै चन्द्रा पनि संगठनले दिएको जिम्मेवारी पूरा गर्न काम फर्किने तयारीमा छिन् । उनीहरु दुवै जना अहिले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीमा कार्यरत छन् । (अनलाइन खबर)

Translate »