बेपत्ता श्रीमान् खोज्दै श्रीमती मिडियामा

सागर परियार / जुम्ला ।
चन्दननाथ नगरपालिका–९ बयालकाटिया निवासी २५ वर्षीय चालक धन गिरी एक वर्षदेखि सम्पर्क विहीन रहेका छन् । गत वर्ष २०७७ असोज १५ गतेदेखि बेपत्ता गिरी अहिले सम्म पनि घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । एक वर्ष पुग्न लागिसक्दा पनि श्रीमानको न सास न लास केही नपाएपछि न्याय माग्दै उनकी श्रीमती मिना गिरी मिडियामा आएकी छन् ।

उनले भने ,“साहु रेणु शाहीको ट्याक्टर चलाएका हुन् । गत वर्ष असोज १५ गते सिमेन्ट सरिया लोड गरी गुठिचौर गाउँपालिकाको मणिसाँघु गएका थिए । तर आजसम्म फर्किएका छैनन् । कि सास पाउनु पर्‍यो, कि लास, कित न्याय पाउनु पर्‍यो । निमुखालाई कानुन पनि निर्दयी हुँदो रहेछ ।”

सम्पर्क विहीन भएको एक वर्ष पुग्न लागिसक्दा राज्य मौन र कानुन बोल्दैन प्रहरी सधैँ टार्छ भन्दै दुखेसो पोख्ए । मिडियाले न्याय दिलाउन सहयोग गर्ने उनको आशा छ ।

मणिसाँघुबाट फर्किने क्रममा गुठिचौर गाउँपालिका ५ देपालगाउँको पूर्वी छेउमा पुग्दा देपालगाउँ बस्ने भोटे नामले चिनिने (विमल महत, दन्द बहादुर भण्डारी, सागर गिरी र विनोद गिरी) गरी ४ जनाले ट्याक्टर रोकेर हातपात तथा ढुंगामुडा गरेको आफन्तले बताएका छन् ।

त्यसपश्चात् ०७८ जेठ ७ गते तातोपानी गाउँपालिका ५ श्रीनगर स्थित चौर भन्ने ठाउँमा तिला नदीको छालमा एक सडेको अवस्थामा शव भेटियो । प्रहरीले त्यो शवलाई निकाले । त्यो शवमा मासु सबै नष्ट भइसकेको थियो । हड्डी मात्र बाँकी थियो । शव नचिनिने अवस्थामा थियो । शवको लम्बाइ, चौडाइ, उचाइ र छातीको भाग हेर्दा चन्दननाथ नगरपालिका ९ का २५ वर्षीय धन गिरीको शारीरिक बनावट सँग मिल्थ्यो । परिवारले आफ्नै भाइ छोराको शव हो भनेर जिल्ला प्रहरी कार्यालय जुम्लामा पोष्टमार्टमको लागि समेत आग्रह गरेका थिए । शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइयो । केही दिनपछि पोष्टमार्टम भयो ।

प्रहरी कार्यालयले उमेरले तपाइको मान्छे सँग मेल खाँदैन भनेपछि परिवार सशङ्कित भए । पोष्टमार्टमा उमेरले समस्या सिर्जना गरेपछि प्रहरीले डिएनए परीक्षण गर्न सुझाव दियो । डिएनए गर्दा कुनै फरक पर्दैन, पोष्टमार्टमको रिर्पोटले उमेरको तलमाथि देखाए पनि डिएनए को रिपोट सही हुन्छ, प्रहरी प्रमुखको भनाई उद्धृत गर्दै तुलराजले भने,“त्यसपछि विधि विधान प्रयोगशाला मार्फत डिएनए परीक्षण गरी पाउँ भनेर पत्नी मिना गिरी र छोरा तिलक गिरी को रगतका साथ जेठ १० गते जिल्ला प्रहरी कार्यालय जुम्लामा निवेदन दियौँ । विडम्बना दुई महिना बित्यो ।

डिएनए रिपोट आएन । परिवार रिपोट कुरेर बसेका छौँ । प्रहरीले कुनै चासो दिएको छैन । उल्टै गैर जिम्मेवार तर्क गरेर फर्काउने गरिरहेको छ ।”सोमबार पत्रकार सम्मेलन गर्दै न्याय माग्न आएका आफन्तले धेरै पटक डिएनए रिपोट बारे बुझ्न खोज्दा प्रहरीले रिपोर्ट नआएको भन्दै फर्काउने गरेको बताएका छन् ।

आफन्तजनले घटनाको वास्तविक प्राविधिक कुरा सँग जोडिएर अनुसन्धान गर्ने विषयमा अनुसन्धानकर्ताको चासो नदेखिएको बताएका छन् । हड्डी मात्रै भएको अवस्थामा भेटिएको त्यो शव बोरामा बाँधेको अवस्था बगेर आइरहेको स्थानीय बताउँछन् । त्यो शवको हकदावी कसैको पनि परेको छैन ।

यो शवलाई बेवारिसे शवका रुपमा प्रमाणित गर्न खोजिँदै छ । यो मान्य हुने छैन । छिटो भन्दा छिटो डिएनए परीक्षणको रिपोट ल्याएर दोषीलाई कारबाही र परिवारको पीडामा मलहम लगाउनु पर्ने आफन्त भैरे गिरीले बताए ।

उनका अनुसार एक हप्ता भित्र घटनाको सत्य तथ्य प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । प्रहरीबाट एक हप्ता भित्र चित्त बुझ्दो जवाफ आउन नसकेको खण्डमा उत्पन्न हुने जोखिमपूर्ण स्थितिको जबाफदेही स्वयं प्रहरी नै हुनु पर्ने चेतावनी दिएका छन् । दाजु भैर गिरीले तत्काल शवको विषयमा टुङ्गो लगाउन र घटनाको सत्य तथ्य विवरण सार्वजनिक गरी पीडितलाई न्यायको अनुभूति गराउन आग्रह गरेका छन् ।

श्रीमान् मिना गिरीले भनिन,“कुटपिट गर्ने चारै जना विरुद्ध मुद्दा दायर गरेका छौ । अहिले सम्म कुनै सुनुवाइ छैन । पोष्टमार्टमको रिपोर्ट मिलेन भन्छ । डिएनए रिपोर्ट आउने टुङ्गो छैन । घटनालाई किनारा लगाउन खोजिँदै छ । अब मिडियाले न्याय दिलाउने आशामा छु ।”

१० वर्षको एक छोरा बाहेक कोही सहारा छैन । कसरी जीवन कटाउने । न सास पाइने न लास पाइने नत न्याय पाउने कसरी ढुक्कले बस्न सक्ने भन्दै श्रीमती मिना गिरीले प्रक्रिया अघि बढाई दिन अपिल गरे ।

Translate »