संक्रमणबाट जोगिनु नै कोरोनाको सहज उपचार हो

अहिले कोरोनाको तेस्रो लहर आउने प्रक्षेपण गरिएको छ । डेल्टा भाइरसको संक्रमणसँगै ह्वाइट र ब्ल्याक फङ्गसजस्ता निकै जटिल संक्रमण देखापरेका छन् । यसबारे अहिलेसम्म विज्ञहरूलाई पनि पूर्ण रूपमा जानकारी भएको छैन । खोप अभियान चलिरहे पनि सबैले पाइसकेको अवस्था छैन । अतः अहिले स्वास्थ्य सतर्कताका उपाय अपनाएर संक्रमणबाट जोगिनेतिर लाग्नुपर्दछ ।

गत वर्ष कोरोना महामारीको पहिलो लहरको तुलनामा दोस्रो लहरमा मानवीय क्षति बढी देखियो । कोरोनाको पहिलो लहरबाट स्वास्थ्यकर्मीले अनुभव प्राप्त गरेका थिए । यस कारण रोकथाममा बढी कठिनाइ नभए पनि जटिल संक्रमण, जटिल अवस्थामा कोभिड निमोनिया भएर हाइफ्लो अक्सिजन दिनुपर्ने अवस्था धेरै देखियो । भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि धेरै बिरामीको ज्यान गयो । यस्तो महामारीका बेला नियन्त्रणका प्रोमोटिभ, प्रिभेन्टिभ र क्युरेटिभ तरिका हुन्छन् । प्रोमोटिभ तरिकामा पत्रपत्रिका, रेडियो, टेलिभिजन माइकिङ, टेलिफोन, मोबाइललगायत सञ्चार माध्यमबाट संक्रमणबारे चेतना फैलाउने काम गरिए पनि सर्वसाधारणले यसलाई गम्भीर रूपमा लिएनन् ।

प्रिभेन्टिभ तरिकामा हात धुने, समाजिक दूरी कायम गर्ने, मास्क लगाएर हिँड्नेजस्ता कुरामा पनि खासै गम्भीरता देखिएन । प्रहरीले मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना गरे पनि यसमा पर्याप्त सतर्कता देखिएन । अहिले निषेधाज्ञा खुकुलो हुँदै जाँदा सतर्कतामा लापरवाही देखिएको छ । पछिल्ला दिनहरूमा संक्रमण बढिरहेको छ । सतर्कतामा लापरवाही गर्दा संक्रमण बढ्छ । यस्तोमा संक्रमणको जोखिम बढी हुन्छ । जो व्यक्ति पहिलेदेखि नै इम्युनोकम्प्रोमाइज रोग जस्तै, मधुमेह, मृगौला प्रत्यारोपण गरेकाहरू, हेमोडायलायसिसमा भएका बिरामी, क्षयरोग लागेका, एचआईभी संक्रमित, दम, आस्थमाका बिरामी र ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई कोरोना संक्रमणप्रति विशेष सतर्कता अपनाउनुपर्दछ ।  यिनीहरूको रोग प्रतिरोधी क्षमता कम हुन्छ र संक्रमणको जोखिम बढी हुन्छ । संक्रमण भए त्यसबाट पार पाउन कठिन हुन्छ ।

जोखिम समूहमा पर्नेहरूले बेलैमा चिकित्सकको सल्लाहअनुसार उपचार र सावधानीमा ध्यान दिनुपर्ने हुन्छ । जस्तो,   हेमोडायलायसिस गर्नुपर्ने बिरामी छन् भने सावधानी पनि उत्तिनै अपनाउनुपर्दछ । औषधोपचार र रगत, पिसाबको चेकजाँच गरेर सुरक्षित हुनुपर्दछ । घरमा बस्दा र जरुरी अवस्थामा बाहिर निस्किँदा अपनाउनुपर्ने सावधानीलाई पालना गर्नुपर्दछ । जोखिम समूहका व्यक्ति र बालबालिकालाई कसरी सुरक्षित राख्ने भन्नेमा पर्याप्त सतर्कताको खाँचो छ । अहिले कोरोना संक्रमणबाट जोगिनु नै यसको सहज उपचार हो ।

(प्राडा. सर्राफसित गरिएको कुराकानीमा आधारित) (आर्थिक अभियान )

Translate »