छाडा चौपाया नेपालगञ्जका लागि चुनौती बन्दै

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका कार्यालयका लागि छाडा पशु चौपाया ठूलो चुनौतीको विषय बन्ने गरेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा, भुस्याहा कुकुर नेपालगन्जको मुख्य मुख्य चोकमा मात्र होइन, गल्ली गल्लीमा सयौँको सङ्ख्यामा भेट्न सकिन्छ ।

झन्डै दुई वर्षअघि नेपालगञ्जका छाडा चौपाया दैलेखमा छाड्न लगिदा गाई, गोरु बाटोमै मरेपछि नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी अदालती मुद्दाको तारेख बोक्ने अवस्थासम्म पुगेका थिए । यो घटनाले त्यस बखत देशैभरि उपमहानगरपालिकाको आलोचनासमेत भएको थियो । यो घटनाअघि पनि बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा छाडा चौपाया छाड्ने नेपालगन्ज उपमहानगरपालिकाको निर्णय आलोचित बनेको थियो । अहिले उपमहानगरपालिकाले नेपालगन्जको पुरैनीको खुल्ला स्थानमा तार वार गरी चौपाया थुन्ने गरेको छ । तथापि, बजारमा छाडिने छाडा चौपाया व्यवस्थापनको चुनौतीको अन्त्य भने हुन सकेको छैन ।

नेपालगन्जको फुलटेक्रामा सानो आकारको कान्जी हाउसमा सबै छाडा चौपाया नअट्ने भएपछि पुरैनको खाली जग्गामा खुलारुपमा छाडा चौपाया थुन्ने गरिएको नगर प्रमुख डा धवलशम्शेर राणाको भनाइ छ तर, यति गर्दा पनि आफ्नो चौपाया छाडा छाड्ने नगरका पशुधनीको प्रवृत्ति भने जस्ताको त्यस्तै छ । “हामीले त व्यवस्थापन मात्र गर्ने हो, छाडा चौपाया सबैको सामूहिक समस्या पो बन्नुपर्छ । नेपालगन्ज उपमहानगरपालिकाको मात्र जिम्मेवारी हो भनेर मात्र यो समस्या कसरी समाधान हुनसक्छ ?”, नगर प्रमुख राणाको प्रश्न छ ।

नेपालगन्जको छाडा चौपाया नेपालगञ्जवासीद्वारा सिर्जित समस्या मात्र होइन । सीमापारि भारतको रुपैडिहा र त्यस आसपासका क्षेत्रबाट सयौँको सङ्ख्यामा पशु यता धपाउने गरिएको छ । बर्षात् सुरु हुने समयमा खच्चर कारोबारीका रोगी, थाकेका, मर्न लागेका खच्चर बजारमा यत्रतत्र छाड्ने गरेकाले पनि छाडा चौपायाको समस्या झन् बल्झिएको छ ।

छाडा चौपायाकै कारण नेपालगन्जमा धेरै सवारी दुर्घटना पनि बढिरहेको छ । गत आर्थिक वर्षमा मानवीय क्षति नभए पनि १० वटा पशु चौपायाको ज्यान सडक दुर्घटनामा गएको प्रहरीले जनाएको छ । सडक दुर्घटनाबाट जोगिने उपाय अहिले ट्राफिक प्रहरीले खोजेको छ । ट्राफिक प्रहरीले छाडा पशु चौपायामा रिफ्लेक्टिभ स्टिकर टाँस्ने कार्यको सुरुआत आजबाट थालनी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रमुख राजु भण्डारीले बताए। रासस

Translate »