अछाम अस्पतालमा अक्सिजन प्लान्ट जडानमा ढिलाइ

अछाम । जिल्ला अस्पताल अछाममा अक्सिजन प्लान्ट जडानमा ढिलाइ भएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएपछि देशैभर अक्सिजनको अभाव भएपछि अस्पतालमै अक्सिजन उत्पादन गर्ने भन्दै सुदूरपश्चिम प्रदेश सरकार र सङ्घीय सरकारको संयुक्त लगानीमा जिल्ला अस्पताल मङ्गलसेनमा अक्सिजन प्लान्ट जडान गर्ने योजना अघि बढेको थियो ।

सङ्घीय सरकारको ७५ लाख र सुदूरपश्चिम प्रदेश सरकारको ८० लाख गरी एक करोड ५५ लाखको लागतमा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने काम सुरु गर्न बजेट विनियोजन गरिएको थियो । केही समय अघि अस्पतालका लागि बजेट विनियोजन भएको भए पनि जिल्ला अस्पताल अछामले गएको अषाढ पहिलो हप्ता प्लान्ट खरिदका लागि सार्वजनिक सूचना प्रकाशन गरेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनालले बताए । असारमै प्लान्ट खरिद गरी जिल्ला अस्पतालमा जडान गर्ने लक्ष्य भए पनि कोरोनाका कारण देशैभर लगाइएको निषेधाज्ञाका कारण समयमै जडान गर्ने कार्य नसकिएको खनालको भनाई छ ।

अषाढ पहिलो साता सूचना प्रकाशन गरी प्लान्ट खरिदका लागि टेन्डर आह्वान भएकोमा निषेधाज्ञाका कारण खरिद गर्ने कम्पनीले समयमै मेसिन नेपाल भित्र्याउन नसकेको बताए । यस्तै अध्यक्ष खनालले जारी निषेधाज्ञा केही खुकुलो भयसँगै खरिदकर्ता कम्पनीले मेसिन खरिद गरी काठमाडौँ ल्याइसकेको भन्दै भदौ मसान्त अघि नै अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य सम्पन्न भई अक्सिजन उत्पादन गर्ने कार्य सुरु गरी सक्ने प्रतिबद्धता जनाए ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले अषाढ भित्रै मेसिन जडान गरीसक्न निर्देशन दिए पनि कोरोनाका कारण समस्या भएको भन्दै मन्त्रालयले तोकेको समय सकिएको थियो । अस्पतालले मन्त्रालयसँग थप छलफल गरी समय थप गरिदिन आग्रह गरी म्याद थप गरी भदौ मसान्त अघि नै मेसिन जडान गर्न प्रदेश सरकारले फेरी निर्देशन दिएको अस्पताल विकास समितिका अध्यक्ष खनालले जानकारी दिए।

सङ्घीय र प्रदेश सरकारले अस्पतालहरूमा अक्सिजनको चरम अभाव भएको भन्दै तत्काल प्लान्ट जडान गरी अस्पतालमा भर्ना भएका बिरामीहरूलाई अक्सिजनको अभाव सिर्जना हुन नदिन निर्देशन गरेको थियो । कोरोनाको दोस्रो चरण सुरु भएपछि अधिकांश सङ्क्रमितहरूलाई अक्सिजनको सहायतामा उपचार गर्नुपर्ने भए पनि अस्पतालमा पर्याप्त मात्रामा अक्सिजन नहुँदा कतिपय सङ्क्रमितहरूले ज्यान समेत गुमाउनुपरेको थियो ।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल अछामलाई पठाएका २ वटा भेन्टिलेटरहरु लामो समय भइसक्दा पनि सञ्चालनमा आउन सकेका छैनन् । कोरोनाको संक्रमणदर बढिरहेका बेला भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीहरूका लागि प्रदेश सरकारले पठाएका भेन्टिलेटर अहिले सम्म सञ्चालनमा आउन नसकेको हो ।

जनशक्ति अभावमा उक्त उपकरण सञ्चालनमा ल्याउन नसकिएको अस्पताल प्रशासनले बताउँदै आएको छ । अस्पताल विकास समितिका अध्यक्ष खनालले भेन्टिलेटर भएको तर जनशक्ति नपठाइदिँदा उपकरण सञ्चालनमा ल्याउन नसकिएको बताउनुभयो ।

कोरोनाको पहिलो र दोस्रो चरणमा अस्पताल भर्ना हुने जिल्लामा अधिकांतस कोरोना सङ्क्रमितहरूले ज्यान गुमाएका थिए । जिल्लामा कोरोनाका सङ्क्रमितहरूलाई उपचार गर्न भरपर्दो सेवा उपलब्ध नहुँदा समस्या बढ्दै गएको छ । पछिल्लो समय जिल्लामा कोरोनाको परीक्षण दर न्यून हुँदा सङ्क्रमितको सङ्ख्या कम देखिएको छ । तर सङ्क्रमणको सम्भावित जोखिम भने कायमै रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

जिल्लामा कोरोनाको जोखिम बढिरहेका बेला जिल्लाका स्थानीयहरूले आवश्यक सावधानी नअपनाउँदा संक्रमण समुदाय स्तरमै फैलिएको छ । अहिले जिल्लाका ग्रामीण भेगमा कोरोनाको संक्रमण दरमा केही कमी आएको पाइएको छ । कोरोनाको तेस्रो लहर आउन सक्ने सम्भावित जोखिमलाई ध्यान नदिई लापरबाही गरे झन् संक्रमण दर बढ्ने चिकित्सकहरूले विश्लेषण गरेका छन् । (रेडियो नेपाल)

Translate »