विद्युत् सर्ट हुँदा घर जलेर लाखौँको क्षति

कालीकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युत्को तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ। मङ्गलबार अपराह्न ४ बजे विद्युत् सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको हो ।

विद्युत् सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेका बालबालिका तत्कालै बाहिर निस्केर ज्यान जोगिएको स्थानीयवासी अमराज सिम्खाडाले जानकारी दिए । घरमा बालबालिका खेलिरहेको बेला आगलागी भएको हो, उनले भने, घरले छाएको घर जलेर पूरै नष्ट भएको छ ।

आगलागीबाट मानवीय क्षति नभए पनि लाखौं रुपैयाँ बराबरको धनमालको क्षति भएको वडाध्यक्ष दयाराम सिम्खाडाले बताए । उनले भने, घरभित्रका अन्नपानी, लुगाफाटा, भाँडाकुडा, गहनासहित केही नगद रुपैयाँ जलेर नष्ट भएका छन् । घर जलेर नष्ट भएपछि सहदेवको छ जनाको परिवार त्रिपालमा बस्दै आएको वडाध्यक्षले जानकारी दिए । रासस

Translate »