ढुंगा, गिट्टी जथाभावी उत्खननमा सर्वोच्चको रोक

काठमाडौँ — सर्वोच्च अदालतले देशका विभिन्न स्थानमा खानीसम्बन्धी सम्पूर्ण विवरण समेटिएको सूचना बोर्ड नराखी सञ्चालन भइरहेका खानीबाट नदीजन्य पदार्थको संकलन, उत्खनन र ढुवानीमा रोक लगाएको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले आइतबार ‘ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७’ मा उल्लेख भएअनुसार सूचना पार्टी राखेर मात्र खानी सञ्चालन गर्न आदेश दिएको हो । ‘संघीय सरकारले जारी गरेको मापदण्डको दफा १७ विपरीतको कार्य कोहीकसैबाट हुन नदिनू,’ आदेशमा भनिएको छ । मापदण्डको दफा १७ मा ‘नदीजन्य पदार्थको संकलन, उत्खनन वा ढुवानीकर्ताले संकलन वा उत्खनन गरिने स्थानको लम्बाइ, चौडाइ तथा गहिराइसहितको चारकिल्ला, उत्खनन गर्ने अवधि र समय, प्रयोग गरिने साधन र गुनासो सुन्ने अधिकारीको नाम, पद र सम्पर्क नम्बरलगायत विवरण उत्खनन वा संकलनस्थलमा राखेको सूचनापाटीमा अनिवार्य हुनुपर्ने उल्लेख छ । आदेशमा गिट्टी, ढुंगा उत्खननसम्बन्धी नीति, त्यसबारे गरिएका अध्ययन र गुरुयोजना वा योजनासमेत लिएर साउन २८ मा अदालतमा विपक्षीलाई उपस्थित हुन भनिएको छ ।

‘यो आदेशअनुसार सूचनापाटी नराखेका खानी सबै अवैध ठहरिन्छन्,’ रिट दायर गर्ने वातावरण कानुन समाज नेपालका अध्यक्ष अधिवक्ता पदमबहादुर श्रेष्ठले भने, ‘अब ढुंगा, गिट्टी भएको खाली जमिन सबै मेरो हो भनेर उत्खनन र संकलन गर्न पाइनेछैन ।’

श्रेष्ठसहित हरिकला कटेल, रामेश्वर सेढाइँ, विश्वजित तिवारी, राम शर्मा, पदमबहादुर शाही र राम उपाध्यायले साउन १३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार, पर्यटन, संघीय मामिला र खानेपानी मन्त्रालयसहित ७ वटै प्रदेशविरुद्ध रिट दायर गरेका थिए । पर्याप्त कानुनबिना नै सबैजसो प्रदेशले बजेटमा आर्थिक पक्षलाई मात्र ध्यान दिएर नदीजन्य पदार्थको उत्खननमा जोड दिएपछि रिटमार्फत त्यसको कार्यान्वयनमा रोक लगाउन माग गरिएको थियो ।

निवेदकहरूले ७ वटै प्रदेशका विभिन्न स्थानमा हाल भइरहेको नदीजन्य पदार्थको उत्खनन तथा दोहनका कारण नदी प्रणाली, जनजीवन र वातावरणमा प्रतिकूल असर परिरहेकाले त्यसलाई तत्काल रोक्न माग गरेका थिए । यसअघि सर्वोच्च अदालतले ढुंगा, गिट्टी, बालुवा विदेश निकासी गर्ने गरी संघीय सरकारले बजेटमार्फत ल्याएको बुँदा नम्बर १९९ कार्यान्वयन नगर्न असार ३ मा अन्तरिम आदेश दिएको थियो ।(कान्तिपुर)

 

Translate »