विश्वमा कोरोना संक्रमण : कतै तेस्रो, कतै चौथो लहरको त्रास

साउन २०, काठमाडौ । चीनको हुपेई प्रान्तको वुहान शहरबाट डेढ वर्षअघि शुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ ।

विश्वभर कुल सङ्क्रमितको संख्या पनि २० करोडको हाराहारीमा छ । विश्वभर १९ करोड ९५ लाख ६६ हजार ४९ जना कोरोना भाइरस सङ्क्रमित भइसकेका छन् । कोरोना भाइरसको सङ्क्रमितको यो संख्या विश्वको जनसंख्याको २ दशमलव ५ प्रतिशतभन्दा बढी हो ।

जति समय बित्यो त्यति नै यो भाइरसको प्रकोप कम हुँदै जाने आकलन शुरुमा गरिएको थियो । पहिलो वेभकै समयमा गत वर्ष नै विश्वका वैज्ञानिक तथा जनस्वास्थ्यविद्ले दोस्रो या तेस्रो वेभको कल्पना पनि गरेका थिएनन् ।

तर परिस्थिति त्यस्तो रहेन । अहिले दक्षिण कोरियामा चौथो वेभ आएको बताइएको छ भने बेलायतमा तेस्रो वेभको कष्ट पुनःशुरु भएको छ । अनि अमेरिका गएको महीनासम्म कोरोनाबाट लगभग मुक्त हुने हो कि भन्ने दिशातिर गएकोमा अहिले फेरि सङ्क्रमित बढ्न थालेका छन् । केही समयअघि अमेरिकीलाई मास्क नलगाए पनि हुने भनिएकामा अहिले फेरि विभिन्न राज्यमा मास्क अनिवार्य गर्ने काम भइरहेका छन् ।

यसरी पछिल्ला केही महीनामा फेरि बढ्दोरुपमा देखिन थालेको यो महामारीको कहरले विश्वको अर्थतन्त्रलगायत मानवीय जीवनशैलीलाई नै नराम्ररी परिवर्तन गरिदिएको छ । विश्वका देशले उडान प्रतिबन्ध लगाएका छन् । जसका कारण विश्व पर्यटन नराम्ररी प्रभावित छ । त्यस्तै होटल, एयरलाइन्स तथा अरु पर्यटकीय संरचनाको अवस्था कल्पनाभन्दा बाहिर पुगेको छ । विश्वका मानिस पर्यटकका रुपमा घर बाहिर या विदेशमा निस्किन नपाएपछि यसबाट असर त पर्ने नै भयो ।

अहिलेसम्मको अनुसन्धानले देखाएअनुसार यस भाइरसको एउटा मात्र विकल्प खोप हो । हाल विश्वको जनसंख्या ७ अर्ब ८७ करोडभन्दा बढी छ । ४ अर्ब १५ करोड ८ लाख १५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अरु बाँकी अर्थात् आधा विश्वले त अझै खोप लगाउनै बाँकी छ ।

खोपको समानुपातिक वितरण हुनसकेको छैन । यसले गर्दा विश्वमा खोपको कतै धेरै मात्रा थुप्रिएको सुनिन्छ भने कतैका नागरिकले पहिलो मात्रा लगाइसकेका तर दोस्रो मात्रा नपाएर पर्खिबसेका छन् । यतिमात्र होइन कि धेरैले त पहिलो मात्रा नै पाएका छैनन् ।

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४२ लाख ४६ हजार २०२ जनाको कोरोनाजन्य जटिलताबाट मात्र मृत्यु भएको छ । यसबाट मानिसको मृत्यु हुने क्रम रोकिएको छैन । महामारी नै अझै कहिले रोकिने भन्ने पत्तो छैन र एकपछि अर्कोगरी विभिन्न भेरिएन्ट दिनानुदिन थपिँदै गएका बताइन्छ । यस्तो अवस्थामा कुनै एक या दुई देशमात्र होइन कि विश्व नै यो महामारीबाट कसरी बाहिर निस्किने हो भन्ने विषय नै झन्भन्दा झन् अन्यौलमा पर्दैछ ।

विश्वमा यस्ता महामारीजन्य रोग यसअघि पनि नआएको भने होइन । सन् १९१८ मा शुरु भएको इन्फ्लुएन्जा माहामारीलाई इतिहासकै गम्भीर माहामारीको रुपमा लिइएको छ । यो माहामारी ‘एच १ एन १’ भाइरस् नाम दिइएको इन्फ्लुएन्जा फ्लुबाट ५० करोड व्यक्ति सङ्क्रमित भएका थिए भने यस रोगको सङ्क्रमणको कारण ५ करोड व्यक्तिको मृत्यु भएको थियो । सो सङ्क्रमित संख्या उक्त समयको विश्वको जनसंख्याको एक तिहाइ थियो ।

यस फ्लुले अमेरिकामा मात्र ६ लाख ७५ हजार भन्दाबढी व्यक्तिको मृत्यु भएको थियो । सन् १९१८ मा शुरु भएको यो प्रकोप सन् १९२० मा मात्र अन्त्य भएको थियो । यो भाइरसको उत्पत्ति कहाँ भएको हो भने प्रष्ट हुन सकेन । सन् १९१८ को बसन्त ऋतुमा पहिलो पटक एक अमेरिकी सैनिकमा उक्त भाइरस फेला परेको थियो ।

यस्तै सन् २००९ मा स्वाइन फ्लु नामक माहामारी शुरु भएको थियो । स्वाइन फ्लु सन् २००९ जनवरीबाट शुरु भई सन् २०१० को अगस्तमा अन्त्य भएको थियो । यस फ्लुको शुरुवात उत्तरी अमेरिकी देश मेक्सिको र भेराक्रुज भएको थियो । यस फ्लुबाट ४ लाख ९१ हजार सङ्क्रमण पुष्टि भएको थियो भने २ लाख ८४ हजारको मृत्यु भएको थियो ।

सन् १६६५ मा द ग्रेट प्लेग माहामारी शुरु भएको यो सन् १६६५ बाट १६६६ सम्म माहामारीको रुपमा रहेको थियो यसको शुरुवात संयुक्त अधिराज्य लण्डनबाट शुरु भएको थियो । यस प्रकोपबाट ७५ हजार व्यक्तिको मृत्यु भएको थियो ।

त्यसैगरी पश्चिम अफ्रिकी देशमा भने अर्को एक खतरनाक भाइरस इबोलाको महामारी शुरु भएको थियो । यस भाइरसको शुरुवात सन् २०१३ को डिसेम्बर २६ बाट भएको थियो । यो माहामारी सन् २०१६ को जनवरी ९ सम्म रहयो । यस प्रकोपबाट ११ हजार ३२३ व्यक्तिको मृत्यु भएको थियो ।

जोन्स हप्किन्स विश्वविद्यालयले अगस्त ३ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित २० ओटा देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकको संख्या यहाँ ग्राफिक्समा प्रस्तुत गरिएको छ । यो तथ्याङ्क नेपाली समयानुसार मंगलवार बिहान १०ः३० बजेको हो ।

बिभिन्न अध्ययनले हाल विश्वमा कोभिड–१९ विरुद्ध खोप लगाएका व्यक्तिको मृत्यु दर कम भएको देखाएको छ । एक डोज मात्र खोप लगाएका व्यक्ति पनि खोप नलगाएका व्यक्तिको तुलनामा मृत्युको मुखबाट बचेका छन् । हाल विश्वका ४ अर्ब १५ करोड आठ लाख १५ हजार ७१६ डोज खोप लगाइएको छ । विश्वमा कोरोना प्रभावित दश देशले कतिकति डोप खोप लगाएका दश देशको तथ्याङ् हेर्दा सबैभन्दा माथि चीन नै देखिन्छ । चीनले अहिलेसम्म १ अर्व ६८ करोड ८६ लाख ८३ हजार डोज खोप लगाएको देखिएको छ ।

त्यसैगरी भारतले ४८ करोड ५२ लाख ८६ हजार ८६ डोज, अमेरिकाले ३४ करोड ६१ लाख ९१ हजार ११७ डोज लगाएको छ । रासस

Translate »