सुर्खेतमा आयुर्वेदिक उपचारतर्फ आकर्षण बढ्दै

औषधालय व्यवस्थापन समितिका अध्यक्ष ढकालको दुई वर्षे कार्यकाल पुरा

स्काई न्यूज /साउन २०, सुर्खेत ।
कोभिड–१९ महामारीकाबीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । कोरोनाको कुनै अमुक औषधि पत्ता नलागिसकेको परिप्रेक्षमा रोगप्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक औषधि प्रभावकारी पाईएकाले नागरिकको आकर्षण बढ्दै गएको हो ।

प्रदेश आयुर्वेद औषधालयमा आउने सेवाग्राहीको संख्या पछिल्लो समयमा बढ्दै गएको प्रदेश आयुर्वेद औषधालय सुर्खेतले बताएको छ । गएको आर्थिक वर्ष २०७७/०७८ मा ३७ हजार ३ सय ७६ जनाले प्रदेश आयुर्वेद औषधालयबाट सेवा लिएका छन् । ती मध्ये १९ हजार ४ सय १९ महिला रहेका छन् । सेवाग्राही बढेसँगै औषधालयको आम्दानी समेत बढेको प्रदेश औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले बताए ।

‘औषधालयले कोरोना महामारीका वीचपनि गएको आर्थिक वर्ष २०७७/०७८ मा २८ लाख ४४ हजार ३ सय १३ रुपैयाँ आन्तरिकतर्फ आम्दानी गरेको छ,’ उनले भने, ‘त्यस अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा १४ लाख ८१ हजार ५ सय ४० रुपैयाँ आम्दानी गरेको थियो ।’ उनले औषधालयसँग हाल १४ लाख ४१ हजार ३ सय २५ रुपैयाँ मौज्दात समेत रहेको जनाए । उनका अनुसार उपचार पद्धति सजिलो र प्रभावकारी भएकाले कोरोना महामारीकाबीच आयुर्वेदिक उपचार पद्धतिको महत्व झन् बढेको छ ।

‘औषधालय प्रदेश सरकारको मातहतमा आएसँगै आयुर्वेदिक उपचारमा नागरिकको थप आकर्षण बढ्दै गएको छ,’ उनले भने, ‘प्रदेश सरकारले स्थानीयस्तरमै पाइने जडीबुटीको उपयोगिता र लाभदायकता नागरिकलाई प्रत्यक्ष पु¥याउन बजेटसँगै करारमा केही जनशक्ति बृद्धि गरेपछि आयुर्वेद उपचार पद्धति सजिलो र प्रभावकारी भएको हो ।’

उनले यद्यपि ! नाम अनुसारको प्रदेश आयुर्वेद औषधालय सञ्चालनका लागि करिब पाँच दर्जन कर्मचारी आवश्यक रहेको जनाए । उनका अनुसार संघीय सरकारको लगानीमा औषधालय हाताभित्रै करिब १८ करोड लागतमा १५ शैयाको आयुर्वेद अस्पताल निर्माण कार्य शुरु भएको छ ।

औषधालयमा ल्याब र भिडियो एक्सरे सेवासँगै बाथरोग, पायल्स, क्षार सुत्र कर्म, अम्लपित्त, पेटका रोगी, जन्डिस (पँहेलो रोग), प्रेसर (रक्तचाप), सुगर (मधुमेह), सर्वाङ्ग तथा एकाङ्ग श्वेदन (स्टिम वाथ) लगायतका सेवाहरु उपलब्ध रहेका छन् ।

औषधालय व्यवस्थापन समिति अध्यक्षको विदाई

दुई वर्ष पहिले औषधालय व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त भएका विनोद ढकालको दुई वर्षे कार्यकाल पुरा भएको छ । उनले आफ्नो दुई वर्षे कार्यकालमा प्रदेश आयुर्वेद औषधालयलाई आमुल परिवर्तन गर्न सफल भएको मंगलबार आयोजिता पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘२०७६ बैशाखअघि प्रदेश आयुर्वेद औषधालयमा सेवाग्राहीको खासै भीड लाग्दैन्थ्यो,’ उनले भने, ‘अधिकांशको उपचार गर्ने पहिलो रोजाई प्रदेश अस्पताल नै भएपनि आफ्नो दुई वर्षे कार्यकालमा आयुर्वेदप्रति सेवाग्राहीको विश्वास र भरोसालाई उच्च पार्न हामी सफल भयौं ।’ उनले औषधालय व्यवस्थापन समितिसँगै डाक्टर, कर्मचारी, प्रदेश तथा संघीय सरकारको संयुक्त प्रयासबाट सेवाग्राहीको मन जित्दै भौतिक एवं जनशक्ति बृद्धि गर्न सफल भएको दावी गरे ।

औषधालयको कार्यकाल सकिएपछि अमेरिका जान लागेका ढकालले आफ्नो कार्यकालमा सन्तोषजनक रहेपनि थप विकासका लागि काम गर्न बाँकी रहेको औल्याए । ‘औधालयमा सेवाग्राहीको संख्या दोब्बरले वृद्धिसँगै आम्दानी समेत तुलनात्मकरुपले बढी भएपनि अझै पर्याप्त छैन्,’ उनले भने, ‘मेरो कार्यकालमा केही सुधारात्मक काम भएपनि आयुर्वेदप्रति नागरिकको विश्वास बनाईराख्न अब आउने अध्यक्ष ज्यूले थप आवश्यक स्रोतसाधन परिचालन गरि यसको गरिमालाई उच्च बनाई राख्नुपर्ने नैतिक दायित्व रहनेछ ।’

उनले औषधालयप्रति नागरिकको विश्वास बढाउन र आवश्यक स्रोत साधनको प्रबन्ध गर्नमा आफ्नो समितिले धेरै मेहनत गरेको गर्दै देशमै पहिलो पटक आयुर्वेदतर्फ कोरोना आइसोलेशन अस्पताल सञ्चालन, आईसोलेशनमा निःशुल्क भोजन, योग, ध्यान प्रणायाम जस्ता ऐतिहासिक क्रियाकलाप गरिएको जिकिर गरे । उनका अनुसार सरकारले तयार गरेका आइसोलेशनमा योग शिविरहरु, निःशुल्क रोगप्रतिरोधात्मक औषधि वितरण तथा कोरोना रोकथाम तथा नियन्त्रणमा सचेतना फलाउन औषधालय सफल रहेको थियो ।

पत्रकार सम्मेलनमा औषधालयका प्रमुख डाक्टर रिजालले औषधालय व्यवस्थापन समिति गठनसँगै आवश्यक जनशक्ति व्यवस्थापन एवं भौतिक संरचना विस्तार भएपछि सेवा प्रवाहमा सहजता आएको जनाए ।

उनले औषधालयप्रति नागरिकहरुको विश्वास कायम राख्न उपचार पद्धतिलाई समयानुकल बनाइँदै सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्न अध्यक्ष ढकालले ठूलो योगदान पु¥याएको बताए । उनका अनुसार औषधालय व्यवस्थापन समितिका अध्यक्ष ढकालकै पहलमा १८ करोड ३२ लाखमा १५ शैयाको अस्पताल र तीन करोड ३३ लाखमा औषधि निर्माण प्रयोगशाला भवनको काम जारी छ ।

Translate »