विवाहपछि कोरियाली समाजमा प्रभाव छाड्दै नेपाली चेली

काठमाडौं । दक्षिण कोरियामा विवाह गर्नुलाई सामाजिक दायित्वको रुपमा लिइन्छ । सन् १९९० को दशकयता दक्षिण कोरियाको सरकारले ग्रामीण क्षेत्रमा रहेका र जोडी नभेटेका पुरुषलाई विदेशीसँग विवाहको लागि प्रेरित गर्न थालेको थियो ।

यद्यपि दक्षिण कोरियामा ‘वैवाहिक आप्रवासी’ महिलाको जीवन भने त्यति सहज छैन । दक्षिण कोरियामा हुने गरेका घरेलु हिंसा र दुर्व्यवहारको समाचारले धेरै महिला डराउने पनि गरेका छन् ।

अझ केही महिला त दक्षिण कोरियाको भाषा नै नसिकी आएका हुन्छन् । यसले समस्या झन् बढाउँछ । तर, यी सबै समस्याका बाबजुद उनीहरुले दक्षिण कोरियाको समाजमा राम्रो प्रभाव पारिरहेका छन् । यहाँ उनीहरुमध्ये केहीको कथा उल्लेख छ–

प्रहरी अधिकारी

किम हानाले नेपालमा आफ्ना पतिलाई पहिलोपटक भेटेकी थिइन् । उनीहरुको भेट हानाकी काकीले मिलाएकी थिइन् । दक्षिण कोरियाबाट उडेको तीन दिनमा नै उनीहरुको बीचमा विवाहको विषयमा कुराकानी शुरु भएको थियो । सोही वर्ष उनीहरु दक्षिण कोरिया फर्किए ।

‘धेरै मानिसहरुले मेरो तुलना स्वदेशी कोरियाली मानिसहरुसँग हुन सक्दैन भन्ने सोच्ने तर मलाई यस विषयमा सोच्ने फुर्सद थिएन,’ ३१ वर्षीया हाना भन्छिन् । उनको वास्तविक नाम सम्झना राई हो, तर उनले विवाहपछि दक्षिण कोरियाली नाम राखेकी हुन् ।

हानाका अनुसार नेपालमा निकै सीमित अवसर पाइने हुनाले नेपाली युवतीले कामका लागि वा विवाह गरेर विदेश जाने सपना देख्नु नौलो कुरा होइन । उनीहरुले विवाह गरेको ११ वर्ष पूरा भइसकेको छ र उनी अहिले प्रहरी अधिकारी छिन् । दक्षिण कोरियाभन्दा बाहिरी मूलका केही प्रहरी अफिसरमध्येकी उनी एक हुन् ।

‘धेरै मानिसहरुले मेरो तुलना स्वदेशी कोरियाली मानिसहरुसँग हुन सक्दैन भन्ने सोच्ने तर मलाई यस विषयमा सोच्ने फुर्सद थिएन,’ ३१ वर्षीया हाना भन्छिन् । उनको वास्तविक नाम सम्झना राई हो, तर उनले विवाहपछि दक्षिण कोरियाली नाम राखेकी हुन् ।

‘मैले प्रहरीको युनिफर्म लगाएर र पेस्तोल भिर्दै गर्दा म कोरियाली नदेखिँदा कसैलाई समस्या हुन्छ कि जस्तो लाग्दैन,’ उनले भनिन् । उनी विदेश मामिला अधिकृतको रुपमा कार्यरत छिन् । उनले नेपाली र कोरियाली समुदायको सेतुको रुपमा काम गरिरहेकी छन् ।

पछिल्लो केही वर्षमा कोरिया आएर बिहे गर्ने महिलाको संख्या दोब्बरभन्दा बढी पुगेको छ । सन् २००७ मा यो संख्या ११० देखि १२० को हाराहारीमा रहेकोमा सन् २०१९ मा यो संख्या करिब ३ सयको हाराहारीमा पुगेको सरकारी तथ्यांक छ ।

यद्यपि दक्षिण कोरियामा पूर्वी तथा दक्षिण एसियाली पत्नी इमेलमार्फत अर्डर गरेर वा किनिने गरेको भेदभावपूर्ण अन्धविश्वास छ ।

‘मलाई याद छ, मेरो छोरा सानो हुँदा म बसमा चढ्न गइरहेको थिएँ र एउटा मानिसले मलाई हेरेर कराएको थियो– भियतनाम ! छिटो यहाँ आएर बस,’ किम हाना भन्छिन् । दक्षिण कोरियामा विवाह गरेर आउने विदेशी महिलामा भियतनामका महिलाको संख्या सबैभन्दा धेरै अर्थात् करीब एक तिहाइ छ ।

यद्यपि किम हानाले यसलाई त्यति गम्भीर रुपमा लिइनन् । दक्षिण कोरियामा पछिल्लो समय फरक–फरक संस्कृतिको पृष्ठभूमि भएका मानिसहरु बढ्दै गएकाले दक्षिण कोरियाली समाज पनि प्रगतितर्फ अघि बढिरहेको उनको भनाइ छ ।

सन् २००८ यता दक्षिण कोरियाली सरकारले बहुसांस्कृतिक सहायता केन्द्रहरु खोलेको छ । ‘अहिले दक्षिण कोरियामा ठूलो विदेशी समुदाय छ र मैले आफ्नो काम गरिरहँदा पनि धेरै फरक–फरक मानिसहरु भेट्ने गरेकी छु ।’

आप्रवासी अधिकारकर्मी

वोन ओके कुमले पनि आफ्ना दक्षिण कोरियाली पतिलाई भियतनाममा भेटेकी थिइन् । किसानकी छोरी कुमले अहिले कानून प्रशासनमा मास्टर्स डिग्री हासिल गरेकी छन् । यसअघि नै उनले अनररी मेयर अफ सोलको प्रतिष्ठित पुरस्कार पनि पाइसकेकी छिन् ।

गत वर्ष उनले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको तर्फबाट सांसद पदको लागि उम्मेदवारी दिएकी थिइन् । सांसद पदमा उठ्ने कोरियाली मूलभन्दा बाहिरका केही मानिसमध्येकी उनी एक हुन् । यद्यपि उनले उक्त निर्वाचन जित्न भने सकिनन् ।

निर्वाचन जित्न नसके पनि उनले आफ्नो काम भने छाडेकी छैनन् । उनले आप्रवासी कामदारमाथिको विभेदविरुद्ध खबरदारी बढाउने अभियानलाई निरन्तरता दिइरहेकी छन् ।

काम गर्नको लागि राम्रो अवस्था नभएको भन्दै आन्दोलन गर्दा पक्राउ परेका भियतनामी कामदारको सहयोग गर्नु उनको लागि टर्निङ प्वाइन्ट बन्न पुग्यो । ‘भियतनाममा रहँदा मलाई कहिले पनि यो शक्ति हासिल गर्न सक्छु जस्तो लाग्दैनथ्यो तर ती कामदारहरुले मुद्दा जितेसँगै मलाई दक्षिण कोरियामा हामीले केही वास्तविक परिवर्तन ल्याउन सक्छौं भन्ने महसुस भयो,’ उनले भनिन् ।

यद्यपि उनले धेरै नराम्रो अवस्थाको पनि सामना गर्नुपरेको छ । हालै मात्र उनी आप्रवासी कामदारको भिसा थप्न सहयोग गर्न गएकी थिइन् । तर, त्यहाँका अधिकारीले उनलाई जातिगत सम्मानका शर्तहरु प्रयोग गरेर अस्वीकार गरिदिएका थिए ।

‘मलाई त्यस्तो व्यवहार गरिन्छ भने कल्पना गर्नुहोस् कि आप्रवासीहरुलाई कस्तो व्यवहार भइरहेको होला,’ उनी भन्छिन् ।

दोभाषे

किला (नाम परिवर्तन) सन् १९९९ मा २४ वर्षको उमेरमा फिलिपिन्सबाट दक्षिण कोरिया आएकी थिइन् । उनी राम्रोसँग आफ्ना पतिसँग कुराकानी गर्न सक्दैनथिन् । उनी कहिले पनि विदेश गएकी थिइनन् र उनको त्यो पहिलो रिलेसन थियो ।

उनीहरु पहिलोपटक फिलिपिन्समा एकीकृत चर्चमा भेटेका थिए । तर, विवाह भएको केही वर्षमा उनीहरुको सम्बन्धमा खटपट आयो । उनका पति मदिरा सेवन गर्न थाले र अन्ततः आफ्नो परिवारकै घर गए ।  किला र उनका तीन सन्तानको वित्तीय सहयोग पनि अब रोकियो ।

‘उसले मसँग सम्बन्धविच्छेद गर्न चाहेको थियो तर फिलिपिन्समा बिहे गरेपछि सम्बन्धविच्छेद गरिँदैन, त्यसैले मैले शुरुमा अस्वीकार गरिदिएँ,’ उनी भन्छिन् । पतिले छाडेपछि एक्लै परेकी किलाले शिक्षकको रुपमा काम गर्ने निधो गरिन् । ‘म धेरै समयसम्म काम गर्थें । तर पनि घरखर्च जुटाउन भने सक्दिनथें,’ उनले सुनाइन् ।

अहिले किला धेरै अघि बढिसकेकी छन् र आप्रवासी महिलाको लागि परामर्शदाताको रुपमा काम गर्छिन् । साथै उनी प्रहरी र आप्रवासन सेवाको लागि दोभाषेको काम पनि गर्छिन् ।

उनी आफूसँग परामर्श लिन आउने महिलाहरुलाई परिवारसँग मात्र नभई दक्षिण कोरियाली संस्कृतिसँग पनि विवाह गरेको स्मरण गराउँछिन् । किलाका अनुसार अहिले बहुसांस्कृतिक केन्द्रले पनि सहयोग गरिरहेको छ ।

‘कोरियाली पुरुषहरु अहिले बहुसांस्कृतिक परिवारको शुरु गर्नुको अर्थ के हो भन्ने बुझ्न थालेका छन् । पहिला यस्तो हुँदैनथ्यो,’ उनी भन्छिन् ।

किला आफ्ना सन्तानले अन्य कोरियाली बालबालिकाले जस्तै अवसर पाउन् भन्ने चाहन्छिन् । अहिले उनकी छोरी के–पप स्टारको तालिम लिइरहेकी छन्, उनका छोरा एक आईटी कम्पनीमा काम गर्छन् र उनका अर्का छोरा जलसेनामा अनिवार्य सैन्य तालिम लिइरहेका छन् ।

‘मैले आफ्ना सन्तानलाई गर्न सक्ने जति सबै सहयोग गरेको छु,’ उनी भन्छिन् ।(अनलाइनखबर/बीबीसी )

Translate »