असोजसम्म २ करोड डोज कोरोना खोप आइपुग्छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

'पहिलो चरणमा कोभिसिल्ड लगाएकालाई जापानबाट एस्ट्राजेनेका खोप आउनासाथ लगाइनेछ'

काठमाडौँ — स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्म २ करोड डोज खोप आइपुग्ने बताएका छन् । सोमबार मन्त्रालयले आयोजना गरेको भर्चुअल प्रेस मिटमा नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले कुल ५ करोड डोजभन्दा बढी खोप आपूर्तिका लागि सरकारले तयारी गरेको बताएका हुन् ।

राज्यमन्त्री श्रेष्ठले खोप वितरण तथा व्यवस्थपनमा प्राथमिकता दिएको बताउँदै असोज महिनाको अन्त्यसम्म २ करोड डोज खोप आपूर्ति सुनिश्चित भइसकेको बताउँदै जम्मा ५ करोड २३ लाख खोप प्राप्त हुने बताएका छन् । कोभ्याक्स सुविधाअन्तर्गत १ करोड १३ लाख, कोभ्याक्सको लागत सहभागितामा १ करोड ५० लाख (जसमध्ये ४० लाखको भुक्तानी भइसकेको र १ करोड १० लाखको भुक्तानी प्रक्रियामा रहेको) र बालबालिका लक्षित फाइजर कम्पनीबाट ६० लाख खोप गरी ३ करोड २३ लाख डोज खोप खरिद प्रक्रियामा रहेको उनले जानकारी गराएका छन् ।

साथै पहिलो चरणमा कोभिसिल्ड खोप लगाएका १३ लाख ४८ हजार नागरिकलाई जापान सरकारको अनुदानमा प्राप्त हुन लागेको एस्ट्राजेनेका खोप प्राप्त हुनासाथ ३ दिनभित्र वितरण गरिने बताए । राज्यमन्त्री श्रेष्ठले वयस्क तथा किशोर–किशोरीसमेतलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोन्सन एण्ड जोन्सन खोप ५० लाख, फाइजर ४० लाख र एस्ट्राजेनेका २० लाख गरी कुल १ करोड ५० लाखमात्रा खरिद प्रक्रिया सुरू भइसकेको बताएका छन् ।

श्रेष्ठले भने–‘खोप खरिदका लागि नेपाल सरकार र एसियाली विकास बैंकका बीचमा १६५ मिलियन अमेरिकी डलरको ऋण सहायताको स्वीकृतिको चरणमा छ । फाइजरको ६० लाख खोप खरिदका प्रारम्भिक काम सम्पन्न भई उत्पादक कम्पनीसँग खरिद प्रक्रियाको थालनी भएको छ ।’

१०० दिने कार्ययोजना सार्वजनिक गर्दे उनले आइसीयू, एचडीयू, भेन्टिलेटरको उचित प्रबन्ध गरिनुका साथै कोभिड–१९ बिरामीका लागि प्राणवायु अक्सिजनमा शून्य नाफा (जिरो मार्जिन) कायम गरी अविलम्व कार्यान्वयनमा ल्याइने दाबी गरे ।(कान्तिपुर)

Translate »