निषेधाज्ञाले सल्यानका ६० हजार विद्यार्थी प्रभावित

साउन १८,सल्यान ।
कोरोना भाइरसका कारण गरिएको निषेधाज्ञाले सल्यानका ६० हजार विद्यार्थी प्रभावित भएका छन् । अहिले निषेधाज्ञा खुकुलो भए पनि बन्द भएका विद्यालय सञ्चालनमा नआउँदा सल्यानका ६० हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न भन्दै विद्यालय बन्द हुँदा सल्यानका ६० हजार विद्यार्थी प्रभावित भएका छन् । नयाँ शैक्षिक सत्र सञ्चालन भएको तीन महिना पुगे पनि सल्यान जिल्लाका विद्यालय सञ्चालन हुन सकिरहेका छैनन् ।

सदरमुकामसमेत रहेको शारदा नगरपालिकाका केही विद्यालयले वैकल्पिक विधिबाट पठनपाठन गराएको भए पनि जिल्लाका अन्य स्थानीय तहका अधिकांश विद्यालय बन्द रहेका छन् । विद्यालय सञ्चालन अन्योलमा हुँदा विद्यार्थीको भविष्यसमेत अन्योलमा परेको छ ।

जनज्योति माध्यमिक विद्यालय, दार्मा गाउँपालिका–३, फारुलाका प्रधानाध्यापक मिनराज वलीले वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्ने योजना भए पनि सबै ठाउँमा फोन नलाग्ने हुँदा अनलाइन कक्षा रोकिएको बताए । उनका अनुसार गतवर्ष टोलटोलमा गएर पढाउने व्यवस्था गरिएको भए पनि यो वर्ष भने अहिलेसम्म कुनै तयारी भएको छैन ।

जनता माध्यमिक विद्यालय, कुमाख गाउँपालिका–३, रोगेचौरका प्रधानाध्यापक गोरख बुढाथोकीले सामुदायिक विद्यालयमा अधिकांश विपन्न बालबालिकाले अध्ययन गर्ने र सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा अनलाइन कक्षा सञ्चालन गर्न नसकिएको बताए ।

इन्टरनेट सुविधा नहुँदा अनलाइन कक्षा सञ्चालन गर्न समस्या भएको र कोरोना सङ्क्रमणको जोखिम पनि उत्तिकै रहेकाले विद्यालय खोल्न समस्या भएको उनले उल्लेख गरे । विद्यालयमा सात सयभन्दा बढी विद्यार्थी भए पनि अहिलेसम्म पठनपाठन नहुँदा समस्या उत्पन्न भएको छ । (सत्यपाटी)

Translate »