बुद्ध एयरको नेपालगञ्ज–पोखरा उडान शुरु

स्काई न्यूज / साउन १७, नेपालगञ्ज ।
बुद्ध एयरले आइतबारदेखि नेपालगञ्ज–पोखरा सिधा हवाई उडान शुरु गरेको छ । नेपालगञ्ज र पोखराबीच उडान गर्दा आन्तरिक सहित भारतीय पर्यटकलाई नेपालगञ्ज–पोखरा ल्याउन र लैजान सहज हुने एयरलाईन्सको भनाई छ ।

आइतबारको पहिलो उडानमा १८ जना यात्रु पोखराबाट नेपालगञ्ज आएका थिए भने नेपालगञ्जबाट १७ जना यात्रु पोखरा गएका थिए । विमानस्थलमा पर्यटन व्यवसायी र एयरलाइन्स पदाधिकारीले पोखराबाट आएका यात्रुलाई स्वागत र नेपालगञ्जबाट पोखरा गएका यात्रुलाई विदाई गरेका थिए ।

यसअघि बुद्धले गत बैशाख १८ गतेदेखि नै नेपालगञ्ज–पोखरा उडान गर्ने योजना बनाएको भएपनि कोरोना भाइरस संक्रमण बढेपछि रोकिएको थियो । बुद्ध एअरका नेपालगन्ज स्टेशन प्रमुख विनित शाहका अनुसार बुद्धले पहिलो चरणमा सातामा तीनदिन (आइतबार, बुधबार र शुक्रबार) पोखरा–नेपालगञ्ज–पोखरा रुटमा उडान गर्दैछ ।

उनले पहिलो चरणमा सातामा तीनदिन मात्र उडान गर्ने तालिका बनाएपनि यात्रुको चाप बढ्दै गएमा सातैदिन वा दिनमै एकभन्दा बढी उडान पनि गर्ने योजना बनाएको बताए । ‘नेपालगञ्ज–पोखरा सम्भावनावयुक्त हवाई रुट हो । कोरोनाका कारण अहिले भारतीय बोर्डर नखुल्दा आउजाउ रोकिएको भएपनि अवस्था सहज हुँदा यात्रु अभाव हुँदैन,’ उनले भने, ‘भारतीय सहरसँग नजिक भएको र भारतीय पाहुना आउजाउ गर्ने हुँदा पनि हवाई उडानलाई यात्रु अभाव नहुने हाम्रो अनुमान हो ।’

उनका अनुसार पोखराबाट बिहान ९ बजेर १० मिनेटमा जहाज नेपालगञ्जका लागि उडनेछ । नेपालगञ्जबाट १० बजे पोखराका लागि उडान हुनेछ । १८ सिट क्षमताका बीचक्राफ्ट १९००डी सिरिजका जहाजबाट पहिलो चरणमा यो रुटमा उडान थालेको बुद्धले बताएको छ । ‘यात्रुको चाप बढेमा ठुलाआकारका जहाज वा दैनिक उडानसंख्या पनि थप्न सकिन्छ,’ उनले भने, ‘पोखरा–नेपालगञ्ज स्थलमार्गको यात्रा लामो अवधिको हुने भएकोले पनि यात्रुले हवाई यात्रा रोज्ने अनुमान छ ।’

नेपालगञ्जबाट केही घण्टाको दूरिमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली चिसापानीसँगै रारा, कैलास मानसरोवर जान सजिलो हुने भएकोले पनि पर्यटकीय गतिविधि बढाउन यो उडानले सघाउने उनले बताए । पोखरा–नेपालगञ्ज ३५ मिनेटको उडान हो । बुद्धले यो रुटमा तीनप्रकारको भाडादर तोकेको छ । सबैभन्दा महंगो भाडा ७६ सय ३५ रुपैयाँ पर्नेछ । मध्यमस्तरको भाडादर ५५ सय ३५ र सबैभन्दा सस्तो ४९ सय ३५ रुपैयाँ हो । यात्रुको चाप अनुसार भाडादर पनि तलमाथि भइरहने उनले बताए । बुद्धसँग अहिले ७० सिट क्षमताका एटिआर ७२–५०० सिरिजका ११ वटा जहाज छन् । त्यस्तै ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर ४२–३२०’ र १८ सिट क्षमताका बिचक्राफ्ट १९०० डी दुईवटा जहाज छन् ।

Translate »