कर्णाली नदीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु, तीन बेपत्ता

कैलालीको मोहन्याल र सुर्खेतको चौकुने जोड्ने कर्णाली नदीमाथि पुल नहुँदा वर्षेनी ज्यान गुमाउनेको संख्या बढ्दै

स्काई न्यूज / साउन १७, सुर्खेत ।
कर्णाली नदीमा पुल नहुँदा बर्षेनी ज्यान गुमाउनेको संख्या बढ्दै गईरहेको छ । कैलालीको मोहन्याल गाउँपालिका र चौकुनेको विजौरा जोड्ने कर्णाली नदी माथि पुल नहुँदा जोखिम मोलेर वारपार गर्दा बर्षेनी नागरिकले अकालमै ज्यान गुमाउनु परेको हो । यी दुई जिल्लाका स्थानीय जनप्रतिनिधिले आपसी समन्वय र सहयोगमा आम नागरिकको आवश्यतालाई बुझन नसक्दा कर्णाली नदी तैरिने क्रममा धेरैले ज्यान गुमाउनु परिरहेको छ ।

आईतबार कैलालीबाट सुर्खेततर्फ तर्दै गरेको डुंगा कर्णाली नदीमा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका जाने क्रममा डुंगा पल्टिएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा कैलालीको मोहन्याल गाउँपालिका–३ राँगा मलेखाका १९ वर्षीया धनसरा सलामी मगर रहेका छन् । मगरलालाई नदीमा डुब्दै गरेको अवस्थामा उद्दार गरिएको थियो । नदीमा डुबेर घाइते भएकी सलामी मगरको केही समय पछि ज्यान गएको स्थानीय शिक्षक पदमबहादुर भुलले जानकारी दिए । उनका १ महिनाका छोरा कर्ण घाइते छन् । उनको सोल्टास्थित स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।

सोही घटनामा कैलालीको मोहन्याल गाउँपालिका–३, राँगा पलेखाकै २० वर्षकी उर्मिला सलामी मगर, उनको १० दिनको शिशु र २० वर्षकी पार्वती थापा बेपत्ता छन् । प्रहरीका अनुसार सोही डुंगामा रहेका अन्य पाँच जना भने पौडिएर जोगिएका छन् । पौडिएर जोगिनेमा दुई जना डुंगा चालक छन् । स्थानीयका अनुसार उनीहरु सुर्खेतको चौकुने गाउँपालिका–४, स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन र उपचार गर्न गइरहेका बेला मध्यान्ह १२ बजेतिर डुंगा दुर्घटना भएको थियो ।

 

बेपत्ता र ज्यान गुमाउनेको संख्या बढ्दो
कर्णाली नदीमा बेपत्ता हुने र ज्यान गुमाउनेको संख्या वर्षेनी बढ्दो छ । यस वर्ष मात्रै दुई दिनको अवधिमा पाँच जना बेपत्ता भए भने एक जनाले ज्यान गुमाए । बेपत्ता भएकाहरु समेत जीवितै भेटिने सम्भावना ज्यादै न्यून रहेको खोजी कार्यमा संलग्नहरु बताउँछन् । कोही डुंगा तर्ने क्रममा त कोही पौडी खेल्ने र माछा मार्ने क्रममा डुबेर बेपत्ता हुन्छन् । कर्णाली नदीमा डुबेर बेपत्ता भएका मध्ये प्रायः धेरैजसोको अवस्था अज्ञात नै रहन्छ । विगत केही वर्ष यता कर्णाली नदीमा डुबेर बेपत्ताहरुको अवस्था अझै अज्ञात नै छ ।

शुक्रबार मात्रै डोटीको आदर्श गाउँपालिका–३ काँडेका चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुबी जोशी समेत कर्णाली नदीमा बेपत्ता भएका छन्। उनीहरुको अवस्था समेत अझै अज्ञात छ । प्रहरीले दुवै घटनाका बेपत्ताको खोजी कार्य जारी रहेको बताएको छ । इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक पुष्कर पन्तले पानीको बहावले खोजी कार्यमा कठिनाई भैरहेको जानकारी दिए ।

जोशी दम्पत्ती चढेको बा ११ च ९३८ नम्बरको जीप कर्णाली नदीमा खसेको थियो । उनीहरु सवार जीप नदीभित्र क्षतविक्षत अवस्थामा भेटिएको छ । जीपको अगाडीको भाग अझै नदी बाहिर निकाल्न नसकिएको प्रहरी निरीक्षक पन्तले बताए ।

उनीहरु कर्णाली चिसापानीबाट करिव साढे तीन किलोमिटर उत्तर मोहन्याल गाउँपालिका–७ बतासे डाँडाबाट नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुसँगै जीपमा रहेका तीन बालबालिका भने घाइते अवस्थामा नदी किनारमा भेटिएका थिए । घाइते अवस्थामा भेटिनेमा १२ वर्षकी लक्ष्मी जोशी, ४ वर्षकी सावित्री जोशी र २ वर्षका भुवन जोशी रहेका छन् । उनीहरु सबै जोशी दम्पत्तीका छोराछोरीहरु हुन् । उनीहरुको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भैरहेको छ । सो जीप जोशी आफैले चलाएको बताइएको छ । जीप ब्याक गर्ने क्रममा नदीमा खसेको हुनसक्ने प्रहरीको आशंका छ । जोशीको परिवार नेपालगञ्जमा उपचार गरेर घर फर्किने क्रममा चिसापानी–सोल्टा सडक खण्ड घुम्न गएको बुझिएको छ ।

केही दिन अघि टीकापुर नगरपालिका–१ शक्तिनगरका २३ वर्षका सागर चौधरी समेत कर्णाली नदीमा डुबेर बेपत्ता भए । उनी असार १३ गते माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका हुन् । उनीसँगै माछा मार्न गएकाहरुले चौधरी अचानक नदीमा डुबेको बताएका छन् । बेपत्ता चौधरीको प्रहरी र स्थानीय युवाहरुले खोजी गरेपनि अवस्था पत्ता लगाउन सकेन। उनी समेत जीवितै भेटिने सम्भावना नभएपछि खोजी कार्य बन्द गरिएको थियो ।

आफु र बच्चा बचाउन सफल महिला
बालबालिकालाई नियमित खोप लगाउन कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका आउन लागेका महिलाहरु सवार डुंगा आइतबार कर्णाली नदिमा पल्टियो । डुंगा पल्टिदा त्यसमा सवार सबै जना नदीमा डुबें । डुँगा पल्टिएपछि नदिमा पौडिएर मोहन्याल गाउँपालिकाकी हसना आलेले आफु र आफ्नो ४ महिनाको छोरालाई बचाउन सफल भईन् ।

दुर्घटनाबाट बचेकी उनले आाफ्नो नानीको खोप नछुटोस् भन्नका लागि चौकुने गाउँपालिका सुर्खेतको बिजौरा स्वास्थ्य चौकीमा आएर आफ्नो बच्चालाई नियमित खोप लगाएको चौकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेले जानकारी दिए । उपचारका लागि सोल्टा स्वास्थ्य चौकी लिने भनेता पनि आफ्नो बच्चाको खोप नछुटोस भन्नका लागि बिजौरा स्वास्थ्य चौकी ल्याएको प्रमुख पाण्डेले बताए ।

सामान्य उपचार पछि आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको उनले बताए । भौगोलिक रुपमा सुर्खेतको चौकुने गाउँपालिकासंग नजिक पर्ने भएकाले मोहन्याल गाउँपालिकाका माथिल्लो भेगका मानिसहरु विभिन्न सेवा सुविधा लिन चौकुने आउने गरेका छन् ।

Translate »