मप विश्वविद्यालय र बास्क कन्ट्री विवि स्पेन बीच सम्झौता

साउन १७, सुर्खेत ।  मध्यपश्चिम विश्वविद्यालय सुर्खेत र स्पेनको बास्क कन्ट्री विश्वविद्यालय बीच शैक्षिक सहकार्यका लागि दुई पक्षीय सम्झौता भएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र बास्क कन्ट्री विश्वविद्यालय तर्फबाट समकक्षी रेक्टर मारिया इभा फेरेरिया गार्सियाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

दुई विश्वविद्यालय बीच अनुभव तथा वैज्ञानिक ज्ञान आदानप्रदान गर्दै प्राध्यापक, कर्मचारी तथा विद्यार्थीको वृत्तिविकासका साथै समाज सेवामा योगदान पुर्‍याउने सम्झौताको उद्देश्य रहेको बताइएको छ ।

सम्झौतापत्रमा उल्लेख गरिए अनुसार दुई राष्ट्र बीच आपसमा सांस्कृतिक, वैज्ञानिक र शैक्षिक सम्बन्ध बलियो बनाउने दुबै विश्वविद्यालयको चाहना रहेको छ भने दुवै विश्वविद्यालयका बिद्यार्थी तथा प्राध्यापकहरु आदान प्रदान गरी शैक्षिक सम्बन्ध स्थापित गरिने छ ।

पाँच खण्डसहितको उक्त सम्झौता पत्रमा आम प्रावधान, स्नातक विद्यार्थीहरु बारे व्यवस्था, स्नातकोत्तर विद्यार्थी र संकाय, सम्झौता कार्यान्वयन तथा अवधि, सम्झौता हस्ताक्षर तथा विभिन्न अनुसूची रहेका छन् ।

सम्झौताको शुरुको अवधि चार वर्षको रहनेछ भने त्यसपछि पुन : नवीकरण हुने कुरा सम्झौता पत्रमा उल्लेख गरिएको छ। सम्झौता पत्रमा उल्लेख भए अनुसार शैक्षिक सत्र २०२२ र २०२३ देखि प्राध्यापक तथा विद्यार्थीहरु आदान प्रदान हुनेछन् ।

Translate »