दार्मा गाउँपालिकाले सञ्चालनमा ल्यायो १५ शय्याको कोभिड अस्पताल

दीपक शर्मा / सल्यान । जिल्लाका दार्मा गाउँपालिकाले १५ शय्याको कोभिड अस्पताल निमार्ण गरेको छ ।

कोरोना भाइरसकोतेस्रो लहरबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न गाउँपालिकाको वडा न ३ थुम्के सल्लीमा ६० दिनमै अस्पताल निमार्ण गरिएको हो ।

भवन निमार्ण गरेपछि कोरोना महामारी नियन्त्रण, बहिरङ्ग तथा आकस्मिक सेवा प्रवाहमा सहज हुने गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए।

कोरियन प्रविधिबाट निमार्ण भएको अस्पताल तथा आइसोलेसन भवन निमार्णका लागि कर्णाली प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको उनले बताए ।

यसअघि जनज्योति माध्यमिक विद्यालयमा आइसोलेसन बनाएको गाउँपालिकाले अब छिट्टै अस्पतालमा आइसोलेसन सञ्चालनमा ल्याउने जनाएको छ ।

कोरोना सङ्क्रमितलाई उपचारका लागि सल्यान जिल्ला अस्पताल वा चौरजहारी मिसन अस्पतालमा पठाउनुपर्ने बाध्यताको अन्त्य भएको अध्यक्ष केसीको भनाई छ ।

कोरोनाको तेस्रो लहर आउने सम्भावनासँगै पूर्व तयारी स्वरूप कोभिड अस्पताल निमार्ण गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए ।

कोभिड अस्पताल तथा आइसोलेसन सञ्चालनका लागि गत आर्थिक वर्षमै अक्सिजन कन्सन्टे्रडर लगायतका स्वास्थ्य सामाग्री खरिद गरिएको उनले बताए । (रेडियो नेपाल)

 

Translate »